यस्ता पो शिष्य: पहिलो जित नै स्वर्गीय प्रशिक्षकको नाममा समर्पित !

२०७८ जेठ ३० आइतबार १०:३६:०० मा प्रकाशित

काठमाडौं । चेक रिपब्लिकी बारबोरा क्रेचिकोभाले करियरको पहिलो ग्रान्डस्लाम उपाधी जितेकी छिन् । विना वरियताकी क्रेचिकोभा फ्रेन्च ओपनको महिला तर्फकी च्याम्पियन बनेकी हुन् । उनले फाइनलमा रुसकी एनाटेसिया पाभ्ल्युचेनकोभालाई तीन सेटमा पराजित गरेकी थिइन् ।

पहिलो सेट क्रेचिकोभाले ६–१ ले जितिन् । तर दोस्रो सेट पाभ्ल्युचेनकोभाले ६–२ ले जितेपछि खेल एक एकको बराबरीमा पुगेको थियो । तर तेस्रो सेट २५ वर्षिया क्रेचिकोभाल ६–४ ले जितेपछि करियरको  अहिलेसम्मको सवैभन्दा ठूलो सफलता हात पारिन् । उनी नौ महिना अघिसम्म एक सय वरियता भन्दा बाहिर थिइन् । यो जीतपछि क्रेचिकोभा वरियताको १५ औं स्थानमा उक्लनेछिन् । डवल्स तर्फ पूर्व नम्बर एक क्रेचिकोभाले उपाधी आफ्नो स्वर्गिय प्रशिक्षक याना नोभोत्नाप्रति समर्पित गरिन् ।

पूर्व विम्बल्डन च्याम्पियन नोभोत्नाको क्यान्सरका कारण तीन वर्ष अघि निधन भएको थियो । उनलाई क्रेचिकोभाले १८ वर्षको उमेरमा भेटेकि थिइन् । उनले आफ्नो करियरमा नोभोत्नाको ठूलो प्रभाव रहेको बताइन् । क्रेचिकोभा ४० वर्षपछि चेकका लागि एकल तर्फ ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी पनि हुन् । जुनियर तर्फ दुइ ग्रान्डस्लाम जितेकी पाभ्ल्युचेनकोभाको पनि यो पहिलो ग्रान्डस्लाम फाइनल थियो । 

फ्रेन्च ओपनले लगातार छैटौं वर्ष महिला एकल तर्फ नया च्याम्पियन पाएको हो । 

 

ताजा खबर