कोरोनाको खोप लाउन लाईनमा बसेका बेला ओलम्पिकमा छानिएको खबर आउँदा

२०७८ जेठ २९ शनिबार १०:२८:०० मा प्रकाशित

कल्पना परियारको पहिलो रोजाइमा थिएन खेल । उनलाई भाग्यले सुटिङको खेलाडी बनायो भन्दा फरक नपर्ला । तर उनको पहिलो प्रेम भने राइफलसँग बसेको हो । सुटिङको पहिलो प्रतियोगिता खेल्दासम्म पनि कल्पनाले कस्तो खेल हो भनेर राम्रोसँग बुझेकी थिइनन् ।  

राइफल समाएको सात वर्षको अवधिमा २६ वर्षिया कल्पनाले ओलम्पिकसम्मको यात्रा तय गरेकी छिन् । ओलम्पिक प्रत्येक खेलाडीको सपना हो । ओलम्पिक भन्दा अर्को ठूलो गन्तब्य पनि छैन । ओलम्पिक  खेल्ने अवसर एकदमै कम खेलाडीले मात्र पाउँछन् । नेपालबाट अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागिता जनाउने चार खेलाडीको टुंगो लागेको छ । पौडीका गौरीका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सका गोपीचन्द्र पार्कीको सहभागिता यसअघि नै पक्का भएको थियो । कल्पनाले अघिल्लो साता मात्र टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी हुन् । टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड पाउने उनी पहिलो नेपाली खेलाडी हुन् । उनले ओलम्पिकमा दश मिटर एयर राइफमा प्रतिस्पर्धा गर्नेछिन् । 

ओलम्पिकमा छनोट भएको खबर पाउँदा कल्पना कोरोना भाइरस विरुद्धको खोप लगाउने लाइनमा थिइन् । ओलम्पिक जाने लक्ष्य सहित नै उनी नेपाल ओलम्पिक कमिटीको छात्रवृतिमा अभ्यासरत थिइन् । तर पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड पाएको खबर साँचो भनेर विश्वास गर्न उनलाई धेरै समय लाग्यो ।

‘कल्पना भन्छिन्– ‘सपना हो म एकैछिनमा निन्द्राबाट उठ्छु भन्ने लाग्यो । आमा  लगायत घरका सवैजना एकदमै खुशी हुनुभयो । मलाई अझै पनि थाहा छैन यो खुशी कसरी मनाउने, मसँग शब्द नै छैन ।’

सवैतिर समाचार आएपछि आफ्नो आँखा अगाडी सपना पुरा भएको देख्दा कसरी ब्यक्त गर्ने उनलाइ आएन । सवैभन्दा पहिला सिरहामा रहेकी आमालाइ फोन गरिन् । शब्दको अभाव भएर के भयो त कल्पनाले मिठो मुस्कानले उनका खुशीहरुको वयान गरिरहेको थियो । उनको हँसिलो अनुहारले सातदोबाटोस्थित सुटिङ रेञ्जलाई नै उज्यालो  पारिरहेको थियो । भारी पोशाक, हातमा राइफल अनि टार्गेटमा एकोहोरो ध्यान सुटरहरुको शारीरिक आवरण हो यो । हेर्दा आक्रमक लाग्छन् उनीहरु । तर कल्पनालाई देखेपछि यी सवै झुटा हुन जस्तो लाग्छ । कल्पना राइफलसँगै नछोड्ने अर्को बस्तु केही हो भने त्यो उनको हाँसो नै हो । उनी पहिलो पटक ओलम्पिक खेल्न जाँदैछिन् । यसअघि उनले एशियाली खेलकुद दक्षिण एशियाली खेलकुद, एशियन च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् ।

कल्पना आफुले रोजेर खेलाडी भएकी होइनन् । त्यो भए ओलम्पिकसम्म कसरी पुगिन् त । उनी नेपाली सेनामा भर्ना भइन् । त्रिशुलीमा सेनाको एकवर्षे आधारभुत तालिम गरिन् । सेनाभित्र हुने फयरिङमा छ सय ४४ जना मध्ये कल्पना पहिलो भइन् । सायद उनी सुटिङ खेलकै लागि बनेकी थिइन् । उनको क्षमता देखेपछि सेनाले कल्पनालाई सुटिङ खेलका लागि क्लबमा बोलायो । उनलाई थाहा नै थिएन सुटिङ कस्तो खेल हो भन्ने । सुटिङ खेल्छु भन्दा  परिवारका सदस्य त्यती खुशी थिएनन् । आर्मीकी जागिरे छोरी सुटिङतिर लागेर हुन्न भन्ने जवाफ पाएकी थिइन् उनले । किनकी उनी जस्तै परिवारलाई पनि सुटिङ बारे जानकारी थिएन । क्रिकेट, भलिवल, फुटवल भएको भए सायद मलाई सम्भाmउन त्यती समय लाग्ने थिएन । अभ्यास गरेको १५–२० दिनमानै उनले राष्ट्रिय च्याम्पियनसिप खेलिन र दोस्रो भइन् । यो २०७१ सालको कुरा हो । पहिलो सहभागिता नै गलामा पदक पर्दासम्म पनि उनलाई यो खेलप्रति खासै चासो र माया थिएन । त्यो बेलाको क्षण सम्झिदै उनी भन्छिन्–   गोली कसरी लाग्यो, जानेर खेले की नजानेर खेले की गोली त लाग्यो तर म खेलाडी हो जस्तो लागेको थिएन ।

तर विस्तारै कल्पना सुटिङमानै रमाउन थालिन् । इन्डोनेसियामा भएको एशियन गेम्समा छनोट भएपछि भने उनलाई हो म खेलाडी हुँ र मेरो काँधमा देशलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी छ भन्ने बोध भयो । 
एकपछि अर्को प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आफुलाई अब्बल बनाएकी कल्पनाको करियर अहिले एउटामा उचाइमा आएर टक्क रोकिएको छ । 

परिवारको साथ 

उनको परिवारमा बुबा आमा र एक बहिनी छन् । उनको जीवनकोे प्रेरणाको स्रोत उनको परिवा नै हो । घरमा दुइ छोरी हुँदा बुबा आमाले छोराको चाहना राखेनन् । मधेशमा जन्मिएकी उनले त छोरी होस् भन्ने वातावरणको कहिल्यै सामना गरिनन् । परिवारले सदैव आफु माथि विश्वास गरेको कल्पना बताउँछिन् । उनले प्राप्त गरेका हरेक सफलताका पछाडि यो विश्वासले पनि ठुूलो भूमिका खेलेको छ । ओलम्पिक पछि पनि उनी निरन्तर  सुटिङ खेलमा नै हुनेछिन् । सुटिङ त्यस्तो खेल हो जसलाई उमेर तौलले रोक्दैन । 

सागको नमीठो अनुभव 

घरेलु मैदानमा भएको सागमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्यो । अहिलेसम्मकै सर्वाधिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्य सहित सहित नेपालले कुल २ सय ७ पदक जित्यो । तर सुटिङले कुनैपनि पदक जितेन । सागमा नेपालका लागि पदक नजित्ने सुटिङ मात्र हो । खेल सामग्री पुराना हुँदा नेपालको प्रदर्शन निकै खराब रह्यो । अरु देशसँग  बन्दुक मागेर प्रतिस्पर्धा गरेको समाचार पनि आएका थिए सागमा कल्पनाले सागमा सुटिङले बेहोरेको खराब नतिजाले अहिले पनि मन दुख्ने बताइन् । तर उनीसँग भने सवै सामग्री थियो । कल्पनाले भनिन्– मसँग राइफल, गोली, आवश्यक सवै सामग्री थिए । मैले नै राम्रो गर्न सकिन । समग्रमा सागको नतिजाले हामीलाई निकै निराश बनायो । अनि अझ राम्रो गर्न प्रेरणा पनि सोही हारले दिलायो ।

ओलम्पिकको लक्ष्य 

ओलम्पिकमा नेपालले पदकको आश गर्ने वातावरण अझै बनिसकेको छैन । त्यसैले खेलाडीको ब्यक्तिगत प्रदर्शन सुधार नै मुख्य लक्ष्य हो । कल्पनाले पनि ब्यक्तिगत स्कोरमा सुधार गर्ने लक्ष्य राखेकी छिन् । अहिलेसम्म सवै प्रतियोगितामा राम्रै गर्दै आइरहेकी छु आश छ टोकियामा पनि राम्रो नै हुनेछ ।

उनको उत्कृष्ट स्कोर ६ सय १४. ५ अंक हो । यो उनले घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुदमा बनाएकी हुन् । दश मिटर एयर राइफलमा कुल स्कोर ६ सय ५४ हुन्छ । उनका प्रशिक्षक असिम यादवले पनि कल्पनाले आफ्नो स्कोर सुधार गर्नेमा विश्वस्त रहेको बताए । विगत दुइ वर्ष देखि कल्पनालाई तिखारिरहेका यादव भन्छन्– कल्पनामा क्षमता छ, उसले गर्न सक्छिन् भन्ने लाग्छ । कहिलेकांही भाग्यको पनि हात हुन्छ ।  

तयारी कस्तो छ ? 

कल्पना नेपाल ओलिम्पिक कमिटीको छात्रवृतिमा सन २०१९ को मे देखि प्रशिक्षणमा छिन् । नेपालमा भएको सुरुवाती लकडाउनले अभ्यासमा केही असर पार्यो । तर उनी विगत चार महिना देखि निरन्तर प्रशिक्षण गरिरहेकी छिन् । स्वास्थ्यका मापदन्ड पालना गरेर अभ्यास गर्न सुटिङ खेललाई त्यति गाह्रो पनि छैन । इन्डोर गेम र थोरै खेलाडी समाजीक दूरी कायम राखेर खेल्न सकिने हुँदा कल्पनालाई तयारीमा असर परेको छैन । मानिसक रुपमा भने कोरोनाले केही कमजोर बनाएको छ । नेपाल सुटिङ संघले पनि उनको अभ्यासमा कुनै कमी गरेको छैन । कल्पनाले आफ्नो खेल जीवनमै अहिले जस्तो उच्च स्तरको प्रशिक्षण नपाएको बताइन् । संघले पााचतारे होटलमा राखेर प्रशिक्षणको ब्यबस्था मिलाएको छ । उनी दिनको दुइ सेसनमा अभ्यास गर्दै आएकी छिन् । त्यसका लागि उनले संघलाई धन्यवाद दिइन् । खेल सामग्री पनि उच्च स्तरको पाइरहेकी छिन् । 
‘अहिले मलाइ यो कुराको कमी छ भन्ने नै महसुस भएको छैन, बसाइ राम्रो छ, प्रशिक्षक राम्रो हुनुहुन्छ’– कल्पनाले भनिन् । 

ओलम्पिक हुँदैन कि भन्ने चिन्ता 

टोकियो ओलम्पिक तालिका अनुसार गत वर्षनै हुनुपर्ने हो । तर कोरोना भाइरसका कारण एक वर्ष पछि सर्यो । तर यो पटक पनि ओलम्पिक हुन्छ हुँदैन भन्ने बहस जारी नै छ । प्रतियोगिता जुलाइ २३ देखि अगस्ट ८ सम्म हुनेछ । तर जापानका ८० प्रतिशत नागरिकले भाइरस संक्रमण फैलिने डरले ओलम्पिक आयोजनाको विपक्षमा मत राख्दै आएका छन् । चिकितसकले पनि २ सय बढी देशका एथ्लिट सहभागी हुने ओलम्पिक गरे कोरोना भाइरसको नयाँ भेरिएन्ट विकास हुने चेतावनी दिएका छन् । संक्रमण रोक्न टोकियो लगायत विभिन्न राज्यमा संकटकाल लगाइएको छ । तर जापानी सरकार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने तोकिएकै मितिमा  प्रतियोगिता हुने बताउँदै आएका छन् । कडाइका साथ स्वास्थ्य मादन्ड अपनाइने उनीहरुले बताएका छन् । त्यहाँ जाने सवैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ । एथ्लिट भिलेजबाट खेलाडी तथा पदाधिकारीलाई बाहिर जान निषेध गरिनेछ । पदाधिकारीको कोटा पनि घटाइएको छ । विदेशी समर्थकलाई प्रवेश निषेध गरिएको छ भने स्थानिय दर्शककाबारे निर्णय भइसकेको छैन । 

महिला खेलाडीको वर्चश्व 

नेपालको सुटिङ खेलले  सन १९८८ को सियोल ओलम्पिक देखि सहभागिता जनाउन सुरु गरेको हो । पहिलो पटक पार्वती थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यस यता सन २०१६ को रियो ओलम्पिकमा सुटिङले सहभागिताको अवसर पाएन । बाँकी सवै ओलम्पिकमा सुटिङले प्रतिस्पर्धा गरिरहेको छ । सुटिङबाट ओलम्पिक जानेमा महिला खेलाडीको वर्चश्व छ । कल्पना ओलम्पिक जाने सुटिङकी आठौं खेलाडी हुन् । आठमध्ये सात महिला खेलाडी छन् । राइफमा पुरुषभन्दा महिला खेलाडीको प्रदर्शन राम्रो हुने गरेको प्रशिक्षक यादव बताउँछन् । यसबारे कल्पना भन्छिन्– सायद पुरुष भन्दा महिला खेलाडीले बढी मेहनत गरे । 
सहभागिता जसको भएपनि देशको प्रतिनिधित्व हुने हो । आशा गरौं कल्पनाले आफ्नो ओलिम्पक सहभागितालाई अविस्मरणिय बनाउनेछिन् । शुभकामना । 
 

ताजा खबर