फाईनलमा पुगे टेनिस स्टार नोभाक जोकोभिच

२०७८ जेठ २९ शनिबार ०९:४१:०० मा प्रकाशित

काठमाडौं । क्ले कोर्टका बादशाह स्पेनिस रफायल नाडाललाई चार सेटमा पराजित गर्दै  विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सर्वियन जोकोभिचले पेरिसमा भएको खेलमा पहिलो सेट गुमाएका थिए ।

विश्व नम्बर तीन नाडालले ६–३ ले पहिलो सेट जित्दै उत्कृष्ट सुरुवात गरेका थिए । तर बाँकी तीन सेटमा जोकोभिचले शानदार पुनरागमन गरे । दोस्रो सेट ६–३ ले जित्दै उनी खेलमा फर्किएका थिए । तेस्रो सेटमा यी दुइ स्टार खेलाडी बीच कडा प्रतिस्पर्धा भयो । ९८ मिनेटसम्म चलेको यो सेट टाइब्रेकरमा जोकोभिचले आफ्नो पक्षमा पारेपछि १३ पटकका फ्रेन्च ओपन च्याम्पियन नाडाल दवावमा आएका थिए । 

चौथो सेट जोकोभिचले सहजै ६–२ ले जितेपछि नाडालको १४ औं उपाधी जित्दै कीर्तिमान बढाउने सपना  सेमीफाइनलमै समाप्त भयो । नाडाल र जोकोभिच बीचको खेल चार घन्टा ११ मिनेटसम्म चलेको थियो । जोकोभिच रोलान्ड ग्यारोसमा नाडाललाई दुइ पटक हराउने पहिलो खेलाडी हुन् ।

यसअघि उनले  सन २०१५ को फ्रेन्च ओपन क्वाटरफाइनलमा नाडाल माथि जीत हात पारेका थिए । उनले गत वर्ष फाइनलमा बेहोरेको हारको बदला पनि  लिए । गत वर्ष जोकोभिचलाई तीन शून्यको सोझो सेटमा पराजित गरेर नाडाल १३ औं पटक च्याम्पियन बनेका थिए । नाडालको रोलान्ड ग्यारोसमा खेलेका १ सय ८ खेल मध्ये यो केवल तेस्रो हार हो । ३४ वर्षिय जोकोभिचले यसअघि मात्र एक पटक २०१६ मा फ्रेन्च ओपन जितेका थिए । उनी १९ औं ग्रान्डस्लामको खोजीमा छन्र ।

 फाइनलमा उनको भेट ग्रिसका स्टोफानोज चिचिपासँंग हुनेछ । ३५ वर्षिय नाडाल माथिको जीतपछि जोकोभिचले यो खेल आफ्नो करियरको उत्कृष्ट तीन मध्येको एक भएको प्रतिृकया दिएका थिए । 

 

ताजा खबर