रोकियो नेपालको विश्वकप यात्रा, यस्तो थियो प्रदर्शन

२०७८ जेठ २९ शनिबार ०९:३१:०० मा प्रकाशित

काठमाडौं । नेपाल फिफा विश्वकपको आफ्नो अन्तिम खेलमा अस्ट्रलेयिासँग ३–० गोलले पराजित भएको छ । दोस्रो हाफ दश खेलाडीमा खेलेको नेपालले वलियो प्रतिद्धन्दी अस्ट्रेलिया विरुद्ध तारिफयोग्य प्रदर्शन गर्यो ।

कुबेतस्थित जाबेर हमाद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको छैटौं मिनेटमै नेपालले गोल खायो । अस्ट्रेलियाका कप्तान म्याथ्यु लेक्कीलेल हेडर मार्फत गोल गरेका थिए । ३८ औं मिनेटमा फ्राङक काराचिचले लेक्कीकै सहयोगमा गोल गरेपछि नेपाल दुइ शून्यले पछि पर्यो । ४५ औं मिनेटमा डिफेन्डर रोहित चन्द रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नेपाल दवावमा आएको थियो ।

मार्टिन बोएललाई फाउल गरेपछि रेफ्रिले रोहितलाई सिधै रातो कार्ड देखाएका थिए । यसका बाबजुत नेपालले दोस्रो हाफमा अस्ट्रेलियालाई धेरै गोल गर्ने मौका दिएन । ५७ औं मिनेटमा बोएलले  टिमका  लागि तेस्रो गोल थपेका थिए । त्यसपछि अस्ट्रेलियालको नेपालको रक्षापंक्ति तोड्न सकेन । पुरै खेलमा कप्तान तथा गोलकिपर किरण चेम्जोङ सर्वाधिक ब्यस्त रहे । उनले बारम्बार अस्ट्रेलियन प्रहारको उत्कृष्ट बचाउ गर्दै नेपालको गोल संख्या थपिनबाट रोकेका थिए । 

नेपालले खेलमा विपक्षीको पोस्टमा कुनै पनि समय डरलाग्दो आक्रमण भने गर्न सकेनन् । यो खेलमा नेपालका तीन युवा खेलाडी सुरज जीउ ठकुरी, आयुष घलान र कमल थापाले राष्ट्रिय टिमबाट डेब्यु गरे । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलको अन्त्यतिर आयुषलाई सुमन लामा, कमल विशाल राइ र सुरज एरिक बिस्टको स्थानमा मैदान प्रवेश गराएका थिए । पहिलो लेगमा नेपाल अस्ट्रेलियासँग पाँच शून्य गोलले पराजित भएको थियो । 

योसँगै नेपालको विश्वकप छनोट यात्रा सकिएको छ । नेपालले कुल आठ खेलमा दुइमा जीत र ६ मा हार बेहोर्यो । नेपाल ६ अंकका साथ तालिकाको चौथो स्थानमा रह्यो । नेपालले चाइनिज ताइपेइलाई दुवै लेगमा समान २–० गोलले हराएको थियो । नेपालले घरेलु मैदानमा खेल्नु पर्ने तीन खेल कोरोना भाइरसका कारण तटस्थ भूमि कुबेतमा खेलेको थियो । खेलपछि प्रशिक्षक अल्मुताइरीले खेलाडी प्रशंषा गरे । उनले नेपालले गोर्खाली शैलीमा खेलेको प्रतिकृया दिएका थिए । 

ताजा खबर