यस्तो थियो मिनी विश्वकपको पहिलो दिन, आत्मघाती गोलको रेकर्ड

२०७८ जेठ २९ शनिबार ०९:२३:०० मा प्रकाशित

काठमाडौं । युरोकपमा इटालीले विजयी सुरुवात गरेको छ । गएराती भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० गोलले पराजित गरेको हो । 

इटालीको घरेलु मैदान रोमस्थित स्टाडियो ओलम्पिकोमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । इटालीले सुरु देखि नै आक्रामण गरेपनि गोलको खाता खोल्न सकेन । पहिलो हाफमा इटाली फिनिसङमा चुकेको थियो । टर्की गोलकिपर उचेन चेकरको प्रदर्शन पनि उच्च रह्यो । उनले इटालीका जर्जियो किलीनीको हेडरको उत्कृष्ट बचाउ गरेका थिए । तर दोस्रो हाफ सुरु भएको आठ मिनेटमै इटालीले आत्मघाती गोल मार्फत डेड लक तोड्यो ।

५३ औं मिनेटमा इटालीका डोमिनिक बेरार्टीको क्रसलाई क्लियर गर्ने क्रममा टर्कीका मेरी डेमिरालले आफ्नै पोस्टमा गोल गरेका थिए । युरो इतिहासमा यो दशौं आत्मघाती गोल हो । त्यसको १३ मिनेट पछि चिरो इम्बोबिलेले अग्रता दोब्बर बनाए । ७९ औं मिनेटमा लोरेन्जोे इजिनसिनाले गोल गरेपछि रोबर्टो मान्सिनीको टोलीले तीन शून्यको सहज जीतका साथ आफ्नो अपराजित यात्रालाई कायमै राख्यो ।  ।

इम्बोबिलेले गोल गरेका सवै १२ खेलमा इटाली विजयी भएको छ । इटालीले युरोकपको इतिहासमा दुइ भन्दा बढी गोल गरेको यो पहिलो पटक हो । इटाली पछिल्ला २८ खेल देखि अपराजित छ । जसमा उसले पछिल्ला नौ खेलमा क्लिन सिट राख्दा २८ गोल गरेको छ । 

टर्की विरुद्ध इटालीको यो एघारौं जीत हो । टर्कीले भने युरोको आफ्नो पहिलो खेलमा अहिलेसम्म जीत निकाल्न सकेको छैन । यसअघिका चार खेलमा पनि टर्की पराजित भएको थियो । जीतपछि समूह ए मा रहेको इटालीले तीन अंक जोडेको छ । अब आफ्नो दोस्रो खेलमा इटालीले १६ जुमा रोमा नै स्विटजरल्यान्डसँग खेल्नेछ । टर्कीले बाकुमा वेल्सको सामना गर्नेछ । 

ताजा खबर