मिनी विश्वकप: कोरोना कहरवीच आजबाट युरोकपमा चर्चित टिमको भिडन्त हुँदै

२०७८ जेठ २८ शुक्रबार ०९:४६:०० मा प्रकाशित

काठमाडौं । विश्वमा कोरोना महामारी नफैलिएको भए मिनी विश्वकपले परिचित युरोकप गत वर्ष नै भइसक्थ्यो । युरोपले नयाँ च्याम्पियन सन् २०२० मा नै पाउँथ्यो । तर महामारीले युरोकप एक वर्ष पछि धकेलियो । त्यसैले २०२१ मा आयोजना भएपनि युरोकप २०२० भनिएको हो । 

महामारीको जोखिम, डर र शंकाका बीच युरोकप आज शुक्रबार सुरु हुँदैछ । ११ बाट सुरु भएको प्रतियोगिता ११ जुलाइमा सकिनेछ । उद्घाटन खेलमा समूह ए मा रहेका इटाली र टर्की बीच प्रतिस्पर्धा हुनेछ । ग्रिसको रोमस्थित स्टाडियो ओलम्पिकोमा हुने खेल नेपाली ससमय अनुसार राती पौने १ बजे सुरु हुनेछ । 

युरोकपको ६० वर्षको इतिहासमा पहिलो पटक प्रतियोगिता कुनै एक वा दुइ राष्ट्रमा नभएर युरोपियन देशका विभिन्न एघार शहरमा चर्चित स्टेडियममा हुँदैछ । इङल्यान्डको लन्डनस्थित वेम्बली र रोम सहित नेदरल्यान्डसको एम्सटर्डमस्थित योहान क्रफ स्टेडियम, अजरबैजानको बाकु ओलम्पिक स्टेडियम, रोमानियाको बुखारेस्टस्थित नेशनल एरिना, हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिना, डेनमार्कको कोपेनहेगनस्थित पार्केन स्टेडियम, स्कटल्यान्डको ग्लासगोमा रहेको हाम्पडेन पार्क, जर्मनीको फुटवल एरिना म्युनिख, रुसको सेन्ट पिटर्सबर्ग र स्पेनको सेभिल मा खेल संचालन हुनेछन् ।

वेम्लीले सेमीफाइनल र फाइनल खेल होस्ट गर्नेछ । यी स्टेडियममा सम्बन्धित देशको कोरोना भाइरस संक्रमणको अवस्था हेरेर दर्शकलाई अनुमति दिइनेछ । रुसले सिमित विदेशी समर्थकलाई पनि मैदान प्रवेशमा अनुमति दिने भएको छ भने वेम्बलीमा खोपको दुवै डोज लगाएकाले जान पाउनेछन् । सवैभन्दा धेरै पुस्कार एरिनामा शतप्रतिशत अर्थात ६८ हजार दर्शकले प्रवेश पाउने अनुमान छ । वेम्बली र ह्याम्पडेन पार्कमा २५ प्रतिशत र सेन्ट पिटर्सबर्गमा ५० प्रतिशत दर्शक उपस्थित हुन सक्नेछन् ।

एघार आयोजक शहरमा एक महिनाको अवधिमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । कुल ५१ खेलपछि च्याम्पियन टिमको टुंगो लाग्नेछ । यस पटक केही परिचित टोली नै उपाधीका प्रमुख दावेदारका रुपमा देखिएका छन् । सन् २०१८ को रुस विश्वकप च्याम्पियन फ्रान्स शानदार फर्ममा देखिएको छ । फ्रान्सले रियाल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई टिममा समावेश गरेको छ । उनी झन्डै ६ वर्षपछि राष्ट्रिय टिममा फर्किइका हुन् । युवा स्टार किलियन एम्बाप्पे र एन्टोइन ग्रिजमन सम्मिलत टोली फ्रान्सले विपक्षीका लागि कठिन प्रितिद्धन्दी हो ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साविक विजेता पोर्चुगल पनि वलियो देखिएको छ । रोनाल्डोको संभवत यो अन्तिम युरोकप हुनेछ । फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई स्टार मिडफिल्डर केभिन डि ब्रुयनाको चोटले सताएको छ । म्यानचेस्टर सिटीका ब्रुयना च्यामिपयन्स लिगको फाइनलमा चेल्सि विरुद्धको खेलमा घाइते भएका थिए । आँखा र नाकको सामान्य शल्यकृया पछि उनी टिममा फर्किसकेका छन । 

बेल्जियम फुटवलको गोल्डेन जेनेरेशन मानिएको यो टिमका लागि युरो जित्ने यो अन्तिम मौका हो । समान तीन तीन पटक उपाधी जितेका स्पेन र जर्मनी, उत्कृष्ट पुनरागमनको प्रयासमा छन् । दुवै टोलीले सन् २०१८ को विश्वकपमा खराब प्रदर्शन गरेका थिए । रुस विश्वकपमा छनोट हुन नसकेको इटाली युरोकप मार्फत अनतर्राष्ट्रिय फुटवलमा फर्किएको छ । छनोट खेलमा शत प्रतिशत नतिजा निकालेको इटाली २५ खेल देखी अपराजित   छ । इङल्यान्ड र नेदरल्यान्डसलाई  युवा खेलाडीले अघि बढाउने विश्वास गरिएको छ । दुवै टिममा युवा खेलाडीको बाहुल्य छ । २००४ मा ग्रिसजले सवैलाई चकित पार्दै उपाधी जिते जस्तै यो पटक कुनै नसोचेको टोली च्याम्पियन बन्ला कि भन्ने आँकलन पनि गरिएको छ ।

कोरोना भाइरसका कारण यो पटक प्रत्येक टिमलाई २३ को ठाउँमा २६ जना खेलाडी छनोटको सुविधा प्रदान गरिएको छ । खेलमा ५ सब्सिच्यृुट गरिनेछ । हरेक टिमका खेलाडी बायो बबल्समा बस्नुपर्नेछ भने प्रत्येक खेल अगाडी कोरोना भाइरस परीक्षण गर्नुपर्नेछ । खेलाडीलाई खोप भने अनिवार्य गरिएको छैन ।


 

ताजा खबर