विश्व टेनिसका दुइ स्टार फ्रेञ्च ओपनमा आमनेसामने

२०७८ जेठ २७ बिहीबार ०९:३४:०० मा प्रकाशित

काठमाडौं । विश्व टेनिसका दुइ स्टार नोभाक जोकोभिच र रफायल नाडाल बीच फ्रेन्च ओपन टेनिसको सेमीफाइनलमै भेट हुने भएको छ । शीर्ष वरियताका जोकोभिचले क्वाटरफाइनलमा इटालीका माटेयो बेरेटिनीलाई चार सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे ।

सर्वियाका जोकोभिच एघारौं पटक फ्रेन्च ओपनको सेमीफाइनल पुगेका हुन् । जारी प्रतियोगितामा पहिलो पटक रातीको समयको खेलमा दर्शकलाई अनुमति दिइएको थियो । तर स्थानिय नियम अनुसार ११ बजे पछि क्फर्यु लाग्ने हुँदा चौथो सेट रित्तो कोर्टमा भएको थियो । जोकोभिचले पहिलो सेट ६–३ र दोस्रो सेट ६–२ ले जितेका थिए । तर तेस्रो सेट बेरेटिनीले टाइब्रेकरमा ७–६ ले जितेपछि जोकोभिचलाई जीतका लागि केही समय कुर्नु पर्यो ।

तेस्रो सेट पछि उपस्थित ५ हजार दर्शकलाई कोर्ट छोड्न भनिएको थियो । करिब २५ मिनेटको विश्राम पछि सुरु भएको चौथो सेटमा जोकोभिच हाबी भए । उनले ७–५ को जीत हात पार्दै ४० औं पटक ग्रान्डस्लामको सेमीफाइनलमा स्थान बनाए । उनले यसअघि मात्र एक पटक  सन २०१६ मा फ्रेन्च ओपन उपाधी जितेका छन् । जोकोभिच ओपन एरामा चारै ग्रान्डस्लाम दुइ पटक जित्ने पहिलो खेलाडी बन्ने लक्ष्यमा छन् ।

बेरेटिनी अन्तिम १६ मा रोजर फेडेररबाट वाकओभर पाउँदै क्वारटफाइनल पुगेका थिए ।
 
विश्व नम्बर ३ स्पेनका रफायल नाडालले सेमीफाइनल प्रवेश गर्ने क्रममा अर्र्जेन्टिनाका डिएको स्वाच्र्टसमनलाई चार सेटमै हराए । उत्कृष्ट सुरुवात गरेका क्ले कोर्ट बादशाह नाडालले पहिलो सेट ६–३ ले जिते । दोस्रो सेट स्वाच्र्टसमनको पक्षमा ६–४ ले गायो । योसँगै नाडालको ३६ सेट देखीको अपराजित यात्रामा पूर्ण विराम लाग्यो । तर बाँकी सेटमा नाडाल हाबी भए । उनले सहजै ६–४, ६–० को जीत निकालेका थिए । रोल्यान्ड ग्यारोसमा नाडालको एक सय ७ खेलमा यो १ सय पाँचौ जीत हो । नाडाल फ्रेन्च ओपनका सर्वाधिक विजेता हुन् । उनले यो उपाधी १३ पटक जितीसकेका छन् । त्यसैले जोकोभिच विरुद्ध उनी वलिया देखिएका छन् ।

जोकोभिच र नाडाल ५८ औं पटक भिड्दैछ् । पेरिसमा यी दुइ नवौं पटक खेल्न लागेका हुन् । यसअघिका ८ भेटमा नाडाल ७ मा विजयी भएका थिए । गत वर्ष उनले फाइनलमा जोकोभिचलाई तीन शून्यको सोझो सेटमा हराएर १३ औं फ्रेन्च ओपन जितेका थिए । यी दुइ बीचको विजेताले आइतबार हुने फाइनलमा स्टेफानोज चिचिपास र अलेक्जेन्डर ज्वेरेभ बीच विजेतासँग खेल्नेछ । 

ताजा खबर