मैत्रीपूर्ण खेलमा पोर्चुगल चार गोलले बिजयी

२०७८ जेठ २७ बिहीबार ०९:२६:०० मा प्रकाशित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इजरायल माथि ४–० गोलको सहज जीत हात पारेको छ । घरेलु मैदान लिस्वनमा भएको खेलमा बुर्ना फर्नान्डेजले दुइ गोल गरे । ४२ औं मिनेटमा उनकै गोल मार्फत पोर्चुगलले अग्रता लिएको थियो । ओवाओ कान्सेलोले पास उपलब्ध गराएका थिए ।

४४ औं मिनेटमा रोनाल्डोले टिमका लागि दोस्रो गोल गरे । रोनाल्डोले फर्नान्डेजको सहयोगमा गोल गरेका थिए । राष्ट्रिय टिमबाट उनको यो १ सय ५ गोल हो । राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानबाट उनी मात्र चार गोलले पछि छन् । हाल यो कीर्तिमान इरानका अलि डेइको नाममा छ । उनले १ सय ९ गोल गरेका छन् । 

८६ औं मिनेटमा कान्सेलोले गोल गरे । इन्जुरी समयमा फर्नान्डेजले गोल गरेपछि पार्चुगलले युरोकप अघिको अन्तिम अभ्यास खेलमा चार शून्यको शानदार जीत हात पार्यो । योसँगै साविक विजेता पोर्चुगलको युरोकपको तयारी पुरा भएको छ । युरोकप भोलीबाट सुरु हुँदैछ ।

पोर्चुगलका लागि नक आउट चरण पुग्न सहज छैन । किनकी उसले समूह चरणमा नै २०१४ को विश्वकप विजेता जर्मनी,  २०१८ को च्याम्पियन फ्रान्स र हंगेरीको सामना गर्नुपर्नेछ । आगामी मंगलबार हंगेरी विरुद्धको खेलसँगै पोर्चुगलले आफ्नो युरो यात्रा सुरु गर्नेछ ।

ताजा खबर