अतितको कविता र वर्तमान
पल्लो भिरको आगो तापेर...........
गौरव र स्वाभिमान,इतिहास भित्र थिचिइ सकेका छ्न्।
त्याग र वलिदान ,
कृतिमाताले किचिइ सकेका छन्।
सत्य र इमान ,
कौडीको मोलमा बिकी सकेका छन्।
तथापि - हामी
पुर्खाको नाम चाटी रहेका छौं।
पल्लो भिरको आगो तापेर-
हामी जाडो काटी रहेका छौं ।।
मैले ,मलाई नै बिर्सनु नियती भएको छ।
आफू ,आफैसङ्ग तर्सनु उपलब्धी भएको छ।
आँखै अगाडि मान्छेको लास हुन्छ।
न तपाईले छुनु हुन्छ-
न मैले चलाउनु हुन्छ।
यसरी-
मान्छेको सवालमा-
" म" र "तपाई" बिभक्त हुनु,
कति उराठ लाग्दो कुरा हो?
यस अबस्थामा-
तँ, तिमी, तपाईं र म ,
गाँस,बास, र कपासको नाममा,
मात्र बकवास छाँटी रहेका छौं।
पल्लो भिरको आगो तापेर-
हामी जाडो काटी रहेका छौं।।
प्रकृतिको वर्णनमा-
हामीले जहिले पनि हिमाल जोतेका छौं।
गीत- कविताका हरफहरुमा-
डाँफे र मुनाल पोतेका छौं।
नदी-नाला र तालहरुलाई,
बवाल बनाएर -
आफ्नै अस्मिता लुटेका छौं।
खोइ! पौरख र पसिनाको ब्यबहारिकता?खोइ!सत्यम शिवं सुन्दरम्"को हार्दिकता?
हामी त-
मात्र आयु रेखा भरिका लागि-
दस दुनिया ढाँटी रहेका छौं।
पल्लो भिरमा बलेको आगो तापेर
हामी जाडो काटी रहेका छौं।।
सहरको एउटा चलचित्र घरमा-
" हम हिन्दुस्तानी है" लागेको छ।
प्रतिष्पर्धाको लागि अर्कोले -
" मिस्टर इन्डिया " मागेको छ।
र अर्को चलचित्र घरले-
आफ्नो सङ्केत पाटी मुन्तिर,
"लाहुरे"को पोष्टर टाँगेको छ।
यसरी-
दुख्ने रमिता आँखामा खाँदेर,
दुख्ने तक्मा छातीमा टाँगेर ,
हामी " लाहुरे माया चाउरे पिरती"
साटी रहेका छौं।
पल्लो भिरमा बलेको आगो तापेर,
हामी जाडो काटी रहेका छौँ ।।
# # # # # #