ब्राजिल विश्व कप छनौटमा अग्रपंक्तिमा उक्लँदै

२०७८ जेठ २६ बुधबार ०९:४६:०० मा प्रकाशित

काठमाडौं । ब्राजिलले विश्वकप छनोटमा शतप्रतिशत नतिजा कायमै राखेको छ । आज भएको दक्षिण अमेरिकी क्षेत्रको छनोट खेलमा ब्राजिलले पाराग्वे  माथि दुइ शून्य गोलको जीत हात पार्यो ।

ब्राजिलले चौथो मिनेटमा नेइमारको गोल मार्फत घरेलु टोली विरुद्ध अग्रता लिएको थियो । नेइमारले गाब्रिएल जेसुसको क्रसमा गोल गरेका थिए । राष्ट्रिय टिमबाट नेइमारको यो एक सय ५ खेलमा ६६ औं हो । उनी भन्दा अघि पेले छन । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा नेइमारकै पासमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले दुइ शून्य गोलको जीत हात पार्यो । सन १९८५ पछि पहिलो पटक ब्राजिलले घरेलु मैदान भन्दा बाहिर पाराग्वेलाई पराजित गरेको    हो । ब्राजिलले जारी छनोटमा ६ खेलमा ६ मै जीत हात पारेको छ । जसमा पाँच खेलमा गोल खाएको छैन । १९६९ यता पहिलो पटक ब्राजिलले विश्वकप छनोटमा उत्कृष्ट सुरुवात गरेको हो । त्यतिवेला पनि उसले सुरुवाती ६ खेलमा जीत हात पारेको  थियो ।

तालिकाको शीर्ष स्थानमा रहेको ब्राजिलको ६ खेलबाट १८ अंक छ । पाराग्वेको जारी छनोटमा यो पहिलो हार हो । यसअघि उसले एकमा जीत र चारमा बराबरी खेलेको थियो । छैटौं स्थानमा रहेको उसको ७ अंक छ ।

आजै भएको अर्को खेलमा उरुग्वेले भेनेजुएलासँग गोल रहित बराबरी खेल्यो । उरुग्वे ६ खेलबाट ८ अंकका साथ चौथो स्थानमा छ । शीर्ष चार टिम सन २०२२ को कतार विश्व कपमा सिधै छनोट हुनेछन् । 

ताजा खबर