ओलीको अस्पष्ट गन्तव्य र यात्रा

२०७८ जेठ २५ मंगलबार १६:२८:०० मा प्रकाशित

  प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर आफ्नो बाटो सफा गर्दै अघि बढिरहेका छन् । व्यवधान आएका ठाउँमा सबै शैलीका चालबाजी प्रयोग गरेर प्रधानमन्त्री ओली सत्ताको रथ हाँकी रहेका देखिन्छन् । जाँदैछन् कहाँ, लक्ष्य कुन हो उनको ? कसैलाई पनि पत्तो छैन । राजनीतिका रौंचिरा गर्ने विश्लेषकहरुका अनुमानमा सायद लक्ष्यबारे प्रधानमन्त्री ओली स्वयं बेखबर छन् । ओलीको सत्ताको रथ कहाँ पुगेर थामिने हो त ? 

गन्तव्य निश्चित नभएको यो यात्रामा विधिविधान, ऐन कानून त लतारिए नै संविधानको समेत चीरहरण भएको छ । जनमतलाई पत्कर झैं फुकेर उडाईदिएका छन् संसदले निर्वाचित गरेका प्रधानमन्त्री ओलीले पटक पटक । प्रतिनिधिसभाको दोस्रो पटकको बिघटनले उनी जनमतलाई खालमा असरल्ल परेका तासका पत्ता जत्ति पनि महत्व दिँदैनन् भन्न सकिने आधार दिएको छ । सर्बोच्चको संवैधानिक इजलाश समेत बहसमा आउनेगरी राजनीति बल्झिन पुगेको छ । न्यायालय यति धेरै विवादमा आउन पर्ने मुख्य कारण पनि राजनीति नै बनेको छ । यसको पनि कारण खोज्दैजाँदा प्रधानमन्त्री ओलीमा गएर टुंगिन्छ । 

एमालेको ‘असन्तुष्ट’ भनिने गरेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष प्रधानमन्त्री ओलीका प्रस्ताव र आश्वासनसँग अब चैं परिचित भए झैं देखिएको छ । पछिल्लो ६ सूत्रीय प्रस्ताव सार्वजनिक भएलगत्तै ‘असन्तुष्ट’ पक्ष जसरी हच्कियो र त्यसलाई अस्वीकार गर्यो । यसबाट प्रष्ट भएको छ ‘असन्तुष्ट’ पक्ष अब प्रधानमन्त्री ओलीका राजनीतिक टुनामुनाबाट लठ्ठिने छैन । ओलीको प्रस्ताव आउनेबित्तिकै ‘असन्तुष्ट’ पक्ष माओवादी कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाई लिएर जसरी बूढानिलकण्ठ गयो । ओलीको नयाँ चालबाजी त्यहींनेर असफल भएको प्रष्ट देखिएको छ ।

एमालेको ‘असन्तुष्ट’ पक्ष पनि बूढानिलकण्ठ र खुमलटारको सहारामा कति दिन अस्तित्वमा रहीरहने हो भन्ने चर्चा पनि छ । आफ्नो पक्षमा रहेका नेता जोगाउन हम्मेहम्मे परिरहेको देखिन्छ नेपाल र खनाललाई यतिबेला । सत्ताका हजार औजार र अवसर हातमा बोकेर बसेका प्रधानमन्त्री ओलीले ‘असन्तुष्ट’ पक्षका नेतालाई जुनसुकैबेला ‘सन्तुष्ट’ पारिदिने खतरा रहन्छ । नेपाल र खनालको रक्तचाप कसरी बढाउन सकिन्छ भन्ने जुक्ति राजनीतिका चतूर खेलाडी ओलीलाई थाहा छैन भनेर पत्याउने कसले ? तसर्थ ‘असन्तुष्ट’ पक्ष अबका दिनमा पनि यही साईज र हैसियतमा रहिरहन सक्ला भनेर विश्वास गर्ने आधार देखिँदैन ।

प्रधानमन्त्री ओलीले मधेशवादी दलसँग रातारात मीत लाएर आफ्नो सिंहाशन बलियो बनाएका छन् । नेपाल राष्ट्रप्रति प्राविधिक सम्बन्ध र साईनो मात्र बनाएका राजेन्द्र महतोलाई मन्त्रीपरिषदमा दिईएको स्थानबाट बुझ्नसकिन्छ प्रधानमन्त्री ओली आफ्नो सत्ता यात्रालाई जुनसुकै मूल्य चुकाएर भएपनि निरन्तरता दिन चाहन्छन् । महतोका मुखबाट के कस्ता वाक्य र वचन निस्किए भन्ने कुराको चर्चा गर्न सकिन्छ । अहिलेलाई यतिमात्र भनौं, उनी नेपाल देशप्रति इमान्दार छैनन्, इमान्दार छु भनिरहनु उनको वाध्यता मात्र हो । 

ओली यतिमै रोकिने छैनन् । उनलाई जसरी भए पनि सत्ता कब्जा गर्नु छ । त्यसैले उनी अर्को चाल चलेर भएपनि आफ्नो अनिश्चित गन्तव्यतिर बढिरहन चाहन्छन् । जनमतको आधार गुमाईसकेका ओलीसँग अब लोकलाजका लागि मान्नुपर्ने कुनै मर्यादाको पर्दा पनि बाँकी छैन । संविधान नै बलपूर्वक तोडफोड गरिसकेपछि अरु मान्न बाँकी नै के रह्यो र ? संवैधानिक इजलाशको फैसलाको प्रतीक्षा गरुञ्जेलको समय भनेको ओलीलाई शक्ति सञ्चय गर्ने अवसर पनि हो भन्न सकिन्छ । यसपछि राजनीतिले कस्तो मोड लिने हो भनेर अनुमान गर्ने अवस्था पनि देखिँदैन ।

सात पटक प्रधानमन्त्री हुने अवसरको प्रतीक्षामा रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट पाँचौं पटकको अवसर यसपटकलाई गुमेको छ । संवैधानिक इजलाशले दिने सम्भावित फैसलाले राजनीतिमा कसको भाग्यको ढोका खोलिदेला, त्यो अनुमानको बिषय हो । त्यसपछि ओलीकै रथ निरन्तर अघि बढिरहन पनि सक्ला या उनलाई विस्थापित गरेर अर्को अनुहार प्रकट होला । समय आएपछि प्रष्ट हुने नै छ । तर नेपाली कांग्रेसका सभापति देउवा भ्यागुता तौलेर समय कटाईरहेका छन् । एमालेको नेपाल–खनाल पक्ष र प्रचण्डको माओवादी पक्षका सदस्य तौलेर धार्नी पुग्ला र सत्तामा पुगौंला भन्ने देउवाको सपना अब विपनामा परिणत हुन त चमत्कार नै हुनुपर्ला । अन्यथा समकालिन राजनीति देउवाको दाहिना होला जस्तो तत्काललाई देखिँदैन ।

क्षेत्रीय र विश्व शक्तिको नेपाल चासो दिनदिनै तीखो भैरहेको सन्दर्भमा हेर्दा प्रधानमन्त्री ओलीले ताल बुझेर नाचेजस्तो पनि देखिन्छ । असमयमै प्रतिनिधिसभाको बिघटन, अदालतबाट त्यसको पुनस्थापना र फेरि पनि बिघटनको सेरोफेरोका राजनीतिक घटनाक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रकै भविष्यमा पूर्णबिराम पो लाग्ने हो कि भनेर विश्लेषकहरुले चिन्ता गरेको पाईन्छ । एउटा वृहत्तर मार्गचित्र अनुसार नै सबै घटना भैरहेका उनीहरुको तर्क छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले धमाधम आफ्नो सत्ता यात्राको बाटो सफा गर्दै अघि बढ्नु अन्यथा नभएको बताईन्छ ।

 

ताजा खबर