विवादमा ब्राजिल: कोपाअमेरिका आयोजनाप्रति खेलाडी नै असन्तुष्ट

२०७८ जेठ २३ आइतबार १३:१५:०० मा प्रकाशित

काठमाडौं । दक्षिण अमेरिकी फुटवलको सवैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका सुरु हुन एक साता पनि समय बाँकी नरहँदा यसको आयोजनामै विवाद उत्पन्न भएको छ ।

दक्षिण अमेरिकी फुटवल महासंघले अन्तिम समयमा ब्राजिललाई आयोजनाको जिम्मा दिएको थियो । कोपा अर्जेन्टिनाबाट ब्राजिल सारिएको हो । तर ब्राजिल राष्ट्रिय फुटवल टिमका खेलाडी नै घरेलु मैदानमा कोपा आयोजना हुने निर्णयको विरुद्धमा देखिएका छन् । ब्राजिलका संचारमाध्यमहरुले जनाए अनुसार राष्ट्रिय टिमका अधिकांश खेलाडीले अचानक कोपा आफ्नो देशमा हुन लागेकोमा असन्तुष्टि जनाएका छन् ।

कोरोना भाइरस सक्रमणका कारण देश आक्रन्त बनेको वेला प्रतियोगिता गर्न नहुने उनीहरुको तर्क छ । कप्तान कार्लोस क्यासिमेरोले अर्को साता सम्म खेलाडीको निर्णय आउने बताए । खेलाडी र प्रशिक्षकको संयुक्त विज्ञप्ती आउने उनको भनाइ छ । विश्वकप छनोट अन्तर्गत आगामी मंगलबार हुने पाराग्वे विरुद्धको खेल पछि ब्राजिलियन  खेलाडीले आधिकाकि धारणा सार्वजनिक गर्ने बताइएको छ । 

गत जुन ५ सम्ममा ब्राजिलमा १७ मिलिन मानिस कोरोना भाइरस संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघेको छ । ब्राजिल कोभिड नाइन्टिबाट प्रभावित हुने देशको तेस्रो स्थानमा आउँछ । राष्ट्रिय टिमका प्रशिक्षक टिटेले पनि खेलाडीले कोपा ब्राजिलमा हुनेबारे विपक्षमा प्रतिकृया दिएको जानकारी गराएका थिए । फुटवल संघसँग प्रतियोगिता खेल्ने नखेल्ने बारे पनि छलफल भइरहेको टिटेले बताएका छन् । ब्राजिलमा जम्मा दश प्रतिशत नागरिकले मात्र खोप लगाएका छन् । यस्तो वेला कोपा अमेरिका आयोजना गर्नु नागरिकको स्वास्थ जोखिममा राख्नु भएको खेलाडीको भनाइ छ । ब्राजिलियन राष्ट्रपति जाइल बोल्सोनारोले भने प्रतियोगिता आयोजनाको निर्णयको बचाउ गरेका छन् ।

कोपा अमेरिका ११ जुन देखि सुरु हुँदैछ ।

ताजा खबर