सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा 

२०७८ जेठ २२ शनिबार १२:१०:०० मा प्रकाशित

काठमाडौं । महिला एकल तर्फ २४औं ग्रान्डस्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा रहेकी अमेरिकाकी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेकी छिन् । सातौं वरियताकी सेरेनाले तेस्रो चरणमा आफ्नै देशकी डानियाल कलिन्सलाई दुइ शून्यको सोझो  सेटमा हराइन् ।

कालिन्स विरुद्धको खेलमा सेरेना निकै शान्त देखिएकी थिइन् । ३९ वर्षिया सेरेनाले पहिलो सेट ६–४ ले जितिन् । दोस्रो सेट पनि उनले ६–४ ले आफ्नो पक्षमा पार्दै प्रि क्वारटफाइनलमा स्थान सुरक्षित गरिन् ।   सेरेना ६४ औ पटक ग्रान्डस्लामको प्रि क्वाटरफाइनल पुगेकी हुन् । 

जारी फ्रेन्च ओपनमा महिला तर्फ बाँकी शीर्ष दश वरियताका चार खेलाडी मध्ये सेरेना एक हुन् । सेरेनाले अहिलेसम्म तीन पटक फ्रेन्च ओपन जितेकी छिन् । तर उनले सन २०१६ यता चौथो चरण पार गर्न सकेकी छैनन् । क्वाटरफाइनल प्रवेशका लागि सेरेनाले अब २१ औं वरियताकी एलेना रिबाकिनासँग खेल्नेछिन् ।

ताजा खबर