मन्त्री क्वाटरको कार्पेट कुम्ल्याउने देशमा प्रदीप ज्ञवालीलाई स्यावासी !

२०७८ जेठ २२ शनिबार ११:५३:०० मा प्रकाशित

काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारबाट बाहिरिएपछि धमाधम स्वावासी पाईरहेका छन् । सरकारमा बसेर कुनै कीर्तिमानी काम गरेवापत उनले यस्तो स्यावासी पाएका  
होईनन् । तुलनात्मक रुपमा वौध्दिक नेता मानिने ज्ञवालीले राज्यको महत्वपूर्ण लाभकारी पदमा बस्दा औपचारिक रुपमा आर्जन भएको सम्पत्ति लगायतको विवरण तत्कालै सार्वजनिक गरेकाले आममानिसले उनको यो कार्यको सराहना गर्दै स्यावासी दिएका हुन् । ज्ञवालीले शुक्रबार पदबाट विदा पाएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । 

मन्त्री पदबाट हटाईएपछि सरकारी निवासको कार्पेट, ग्यास चुलो र बिजुलीका बल्ब समेत कुम्ल्याएर हिँड्ने गलत प्रवृत्ति बिगतमा थाहा पाएका आममानिस कुनै नेताले प्रदर्शन गर्ने यस्ता सामान्य सभ्य व्यवहारमा पनि कति खुशी मनाउँदा रहेछन् भन्ने एउटा उदाहरण प्रस्तुत भैरहेको देखिएको छ । पक्कै पनि ज्ञवालीले सराहनीय काम गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शक्ति क्षय हुननदिन मधेशवादी दलसँग गरेको राजनीतिक सौदाबाजीपछि ज्ञवालीले परराष्ट्र मन्त्रीको जिम्मेवारी छाड्नुपरेको हो । उनको स्थानमा ओलीले रघुबीर महासेठलाई नियुक्त गरेका छन् । महासेठलाई परराष्ट्र मात्र दिईएको छैन उपप्रधानमन्त्रीको उच्च सम्मान पनि दिएका छन् प्रधानमन्त्री ओलीले । 

परराष्ट्रमन्त्रीबाट बाहिरिए लगत्तै एमाले नेता ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे र आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उनले शुक्रबार राति सामाजिक सञ्जालमार्फत जानकारी पनि दिए । आफूलाई करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएका छन् ।

निवर्तमान मन्त्री ज्ञवालीले गरेको यो कार्य लोकतान्त्रिक संस्कृतिमा सामान्य र स्वाभाविक दायित्व मानिन्छ । तर प्रणाली फेरिएर पनि पध्दति बस्न नसकेको नेपाल जस्तो देशमा शक्तिमा बसेको जो कसैले स्वाभाविक रुपमा गरेको कार्य समेत ठूलो चर्चाको बिषय बन्ने गरेको छ । देशको राजनीतिमा विद्यमान बिकृति र विसंतिवीचमा बसेर पनि आफूलाई तुलनात्मक रुपमा जोगाएर काम गरेका नेता ज्ञवालीले पदबाट हट्नासाथ जे गरे त्यसले राजनीतिक संस्कारको बिउ जोगाएको मानिएको छ ।

कति कमाए के गरे ?

मन्त्री बनेको अवधिमा अवधिमा विदेश भ्रमणबापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१.१३ सरकारी कोषमा दाखिला भएको जानकारी दिएका छन् । हाल आफ्नो खातामा ७,४१,७७५.६० बचत रहेको पनि उनले उल्लेख गरेका छन् । केही घरायशी सामान र २ सय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेपछि कुनै सम्पत्ति नजोडेको पनि उनले उल्लेख गरेका छन् ।

आफूले प्रयोग गर्दै आएको सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको पनि उनले उल्लेख गरेका छन् । पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने पनि ज्ञवालीले जानकारी दिएका छन् ।

 
यस्तो छ ज्ञवालीको स्टाटस

धन्यवाद तथा आभार

करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।

समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।

नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।

यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।

प्रदीप ज्ञवाली

२१ जेठ २०७८

ताजा खबर