बूढो घरसँग कुबेर राईको मौन वार्ता !

२०७८ जेठ २१ शुक्रबार ११:२२:०० मा प्रकाशित

काठमाडौं । गीत संगीतको खुला मञ्चमा कुबेर राई कसैलाई पनि अपिरिचित नाम होईन । उनको नाम चर्चा हुनासाथै सरल हँसमुख र सुसंस्कृत व्यक्तित्व टक्रक्कै सामुन्नेमा उभिन पुग्छ । 

राष्ट्रिय गायक हुन कुबेरले गाउँ त्यागेनन्, बाबुबाजेले आर्जेको डाँडाकाँडा सस्तैमा हुत्याएर काठमाडौंमा चारआने पर्खालको बन्दी हुन चाहेनन् । गाउँमै बसे । नआएका होईनन् काठमाडौं पनि । तर केही समय बसेर संगीतमा आफूलाई निखारेर तिखारेर फर्किए उनी जन्मथलो । गाईवस्तुको थलाभकारा गर्दै, अलैंची केलाउँदै, तीनपातै चियाको सुइरो टिप्दै गाउँघरमै रमाए उनी । कुबेरले हार्मोनियमा तिनै औंलाहरु नचाउन छोडेनन् मादल टठाउन पनि बिर्सेनन् । गाउँको मगमगाउँदो मात्तिने वासनामा झुम्दै कुबेरले आफूलाई राष्ट्रिय गायक बनाउने साधनाको सारंगी रेटिन रहन बिर्सेनन्, उहीँ नै साधना गरिरहे ! गाइ रहेकै छन्, नाची रहेकै छन् मस्त । श्रीअन्तुको सल्लेरी गाउँमा बसीबसी कुबेर संगीतको लहरमा श्रीअन्तु जत्तिकै परैबाट छर्लङ्गै देखिने भएका छन् ।

देशको पूर्वी सीमावर्ती गाउँका बासिन्दा कुबेर सीमाना पारीको नेपाली वस्तीमा पनि पुग्छन् मीठा मीठा पुराना गाना सुनाउन । दार्जिलिङ, खार्साङ र आसपासका गाउँ शहरका वासिन्दा कुबेरलाई सुन्छन् भावनाको महासागरमा हराउँछन् पनि । सिध्दिखोला पारीको मिरिक बजार त हाटबजार गर्ने पुरानो ठाउँ हुँदै हो त्यताका मानिससँग कुबेरको चिनाजाना नहुने कुरै भएन ।

त्यतैको आञ्चलिक लवजमा लजालुपाराले बोलचाल गर्ने तिनै गायक कुबेर राईले निकै भावुक भएर आफ्नो पूर्खाले बनाएको आकर्षित घरलाई सम्वोधन गरेर आफ्नो भावना वर्षाएका छन् उनको फेसबूकमा ।

कुबेर लेख्छन्:

‘वसन्त ऋतुको आगमनसँगै रुखका कलिला पोथ्राभित्रबाट कुक्कु.... कुक्कु भन्दै म सानो छँदा कराउने चरिको कतियांै सन्नति होला यो ? जंगलमा अनिकाल लागेपछि चारो खोज्न बेग मारेर गएका घरको सदस्य काफल पाक्दासम्म नआएसि काफल पाक्यो....काफल पाक्यो......भन्दै आजसम्म निरन्तर ऋतुको जनाउ दिरहेछन् । यहि ठाउँमा बाजे पुस्ता, बाबु पुस्ता, हामी भाई र म, छोरा र छोरी जन्मियौं फरक फरक घरमा । तर म सानै थिएँ, भाई अझ सानो । हिउँदको याम गाउँभरि बिहे,  साँझमा मकैबारीमा ढोंड पोलेर आगोताप्दै थियौं भाई र म । पा...री कटेबुङ्गमा भोलिको बिहेमा माइक सेट जोडेर बजाउन थालेछ भातखान बोलाको समेत सुनेन छांै । गीत थियो “सिरिमा सिरि हावा चल्यो पहाडको रिमझिम साँझमा, बोलाउन त मन लाग्छ बोलाउन नै सक्तिन ।” शान्ति ठटालको स्वर हुनुपर्छ त्यो ।

बिस्तारै हाम्रो घर उजाडिने क्रम शुरु भयो । हाम्रो आमाहरु दुईजना ठूलो आमापटि कोइ थिएन, पैला ठूलो आमा बित्नुभो, पापा थला पर्नुभो । वहाँ पनि बितिहाल्नुभो । रह्यौं आमा म र भाई । ठाउँ यहि भए पनि घर चंै अरु नै थियो कुशल पनि अर्कै घरमा जन्मेको । यहाँ त करुणा मात्र जन्मेको । यसरी असारे झरिमाझ एकरात आमाले पनि छाडिराख्नुभो । २६औं २७औं गृष्मको उष्णता, बर्षादको झरि शिशिरको कठ्याङ्रिने ठिहीबाट जोगाउने यो घर निर्जन र निरस देख्दा नरमाइलो लाग्छ र भन्न मन लाग्छः “ए घर मेरो स्वागतमा आफ्ना छातिरुपी ढोका खुल्ला राखेको ? म केइ गर्न नसकेनि    तिमीलाई हेर्न आउँछु बारम्बार......” । तेसपछि मन विदीर्ण बन्छ, एउटा छाती हजार टुक्रामा बिभक्त बन्छ । एकैठाउँ बसिरहन मन नमान्दो रैछ जब यो घर पुग्छु हरेक कुराहरु सिनेमामा जस्तै आफैं सररर आउँछ । पोहर भाई खस्दा हप्तादिन बसें । चलायमान जिन्दगी जमिरहन नि नहुने ।’
 

ताजा खबर