मेसीको पेनाल्टी गोलले अर्जेन्टिनाको नाक जोगियो

२०७८ जेठ २१ शुक्रबार ०९:३४:०० मा प्रकाशित

काठमाडौं । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट खेलमा लियोनल मेसी नेतृत्वको अर्जेन्टिना चिलीसँग एक एक गोलको बराबरीमा रोकिएको छ । 

घरेलु मैदानमा आज विहान भएको खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । चिलीका डिफेन्डर गिएर्मो मरिपनले लौतारो मार्टिनेजलाई लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्रिको माध्यमबाट अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । पेनाल्टि प्रहारको जिम्मेवारी कप्तान मेसीले लिए । उनले जिम्मेवारी पुरा गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर अर्जेन्टिना लामो समयसम्म जोगाउन सफल भएन । 

३६ औं मिनेटमा चिलीका एलिक्सस सान्चेजले गोल गरेपछि पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन । अर्जेन्टिनाको छनोट खेलमा यो दोस्रो बराबरी हो । पाँच खेलबाट एघार अंक जोडेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेल्दै १२ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा छ । पाँच खेलबाट पाँच अंक बटुलेको चिली सातौं स्थानमा छ ।

आजै भएको अर्को खेलमा उरुग्वे र पाराग्वेले गोल रहित बराबरी खेल्दा बोलिभियाले भेनेजुएलालाई तीन एक गोलले हरायो । यो क्षत्रेको छनोटमा दश टिम सहभागी छन् । शीर्ष चारले अर्को वर्ष हुने कतार विश्वकपमा स्थान बनाउनेछन् । पाँचौ हुने टिमले प्ले अफ खेल्ने मौका पाउनेछ ।

ताजा खबर