विश्वकप छनोट खेल: नेपालले ताईपेइलाई हरायो, सोमबार जोर्डनसँग खेल्ने

२०७८ जेठ २१ शुक्रबार ०९:२४:०० मा प्रकाशित

काठमाडौं । विश्वकप छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई दुइ शून्य गोलले पराजित गरेको छ । यो जीतले नेपालको एएफसी एशियन कप क्वालिफायरमा पुग्ने सपनालाई जिवीतै राखेको छ । 

तटस्थ भूमि कुबेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाललाई जीत दिलाउन अन्जन बिस्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए । घरेलु टोलीका रुपमा मैदान उत्रिएको नेपालले खेल सुरु भएको तेस्रो मिनेटमै पेनाल्टि गोल मार्फत अग्रता लिएको थियो । ताइपेइका डिफेन्डर चेन हाओले डि बक्स क्षेत्रभित्र हातले बल छोएपछि नेपालले पेनाल्टिको अवसर पाएको थियो । सो पेनाल्टिलाई अन्जनले गोलमा परिणत गरे । विश्वकप छनोटमा अन्जनको यो तेस्रो गोल हो । राष्ट्रिय टिमका लागि भने चौथो गोल हो । उनले यसअघि छनोट खेलमा ताइपेइलाई दुइ शून्यलेनै पराजित गर्दा दुवै गोल अन्जनले नै गरेका थिए । कुबेत जानु अघि इराक विरुद्ध भएको मैत्रीपूर्ण खेलमा पनि अन्जनले एक गोल गरेका थिए । सो खेलमा नेपाल ६ दुइले पराजित भएको थियो ।

सुरु देखि नै खेलमा आफ्नो नियन्त्रण जमाएको नेपाल विरुद्ध ताइपेइले आक्रमण गर्न सकेन । ८० औं मिनेटमा सब्सिच्युट खेलाडी नवयुग श्रेष्ठले सुमन अर्यालको क्रसमा नेपालका लागि दोस्रो गोल गरेका थिए । उनी ६९ औं मिनेटमा सुनिल वलको स्थानमा मैदान प्रवेश गरेका थिए । नवयुगको राष्ट्रिय टिमबाट यो सातौं गोल हो । ४० डिग्री माथिको तापक्रममा दुवै टिमले खेलमा असहज महसुस गरेका थिए । अब्दुल्लाह अल्मुताइरीको नेपालका प्रशिक्षकको रुपमा यो पहिलो जीत हो । उनले कुनैपनि राष्ट्रिय टिम सम्हालेको पनि यो पहिलो पटक नै हो । समुह बी मा रहेको नेपाल ६ खेलबाट ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । यो जीतले नेपाल कम्तीमा चौथो स्थानमा रहने निश्चित बनेको छ । 

विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको संभावना भने गणितिय रुपमा मात्र बाँकी छ । नेपालले अब सोमबार जोर्डनसँग खेल्नेछ । प्रशिक्षक अब्दुल्लाहले यो जीत कोभिड नाइन्डि विरुद्ध अग्रपंक्तिमा रहेर लडिरहेका स्वास्थ्यकर्मी प्रति समर्पित गरेका छन् ।  

ताजा खबर