विश्वकप छनोट: ४५ डिग्री तातोमा ताईपेईसँग भिड्दै छ नेपाल

२०७८ जेठ २० बिहीबार ०९:०६:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टिमले फिफा विश्वकप छनोटको आफ्नो छैटांै खेलमा आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । 

नेपालको विश्वकप छनोटको तेस्रो चरण पुग्ने संभावना अंक गणितीय रुपमा मात्र बाँकी छ । समूह बीमा रहेको नेपाल पाँच खेलमा मात्र एकमा जीत हात पार्दै तीन अंकका साथ तालिकाको चौथो स्थानमा छ । नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चौथो स्थान प्राप्त गर्दै एफसी एशीया कप छनोटमा राम्रो स्थान हासिल गर्न चाहेको बताएका छन् । खेल कुबेतस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा नेपाली समय अनुसार राती पौने दश बजे सुरु हुनेछ । कुबेतको तापक्रम अहिले ४५ डिग्री भन्दा माथि छ ।

प्रशिक्षक अब्दुल्लाहले उच्च तापक्रममा खेल्न कठिन हुने बताएका छन् । दुवै टिमका लागि कुबेतको मौसममा खेल्न सहज नहुने उनको भनाइ छ । कुबेत जानु अघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा ६–२ गोलको हार बेहोरे पनि त्यसले टिममा सकारात्मक प्रभाव पारेको र ताइपेइ विरुद्ध जत्नका लागि खेल्ने प्रशिक्षक अब्दुल्लाहको भनाइ छ । उनले भने– छनोटको तयारीका लागि धेरै मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएनौ । त्यसैले युवा टोलीबाट धेरै अपेक्षा भन्दा पनि धैर्य गर्नु आवश्यक छ । अब्दुल्लाहले  विपक्षीका बारेमा बोल्दै टिममा धेरै नया टिम भएको र प्रशिक्षकको पनि पहिलो खेल भएकाले सतर्क रहेको उल्लेख गरे ।

ताइपेइका प्रशिक्षक भोम कान हुमले पनि मौसम नै मुख्य चुनौती भएको जनाए । उनले कोरोना भाइरसका कारण आफ्ना मुख्य खेलाडी टिममा नभएको जानकारी पनि दिए । नेपाल डिफेन्स र अट्याक्ट दुवैमा संतुलित भएको उनको भनाइ थियो ।

नेपालले चाइनिज ताइपेइसँग खेलेका यसअघिका दुवै खेलमा जीत हात पारेको छ । छनोट खेलकै पहिलो लेगमा नेपालले ताइपेइलाई उसकै मैदानमा दुइ शून्यले पराजित गर्दा दुवै गोल अन्जन बिस्टले गरेका थिए । ताइपेइ छनोट खेलमा जीतविहिन छ । उसले  पाँच खेलमा पाँचैमा हार बेहोरेको छ । 

ताजा खबर