आईसीसीमा सहभागी टिमको संख्या बढ्ने, अब २० टिमले खेल्ने

२०७८ जेठ १९ बुधबार ०९:२६:०० मा प्रकाशित

 काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले टि ट्वान्टी विश्वकपमा सहभागी हुने टिमको संख्या बढाएर २० पुर्याउने भएको छ । यसले नेपाल जस्ता एसोसिएट राष्ट्रका लागि टि ट्वान्टी विश्वकप पुग्ने बाटो सहज हुने आशा गरिएको छ । 

आइसीसीको बोर्ड बैठकले सन् २०२३ देखि २०३१ सम्मको कार्यक्रम सार्वजिक गर्दै टि ट्वान्टी र एकदिवसीय विश्वकप खेल्ने टोली बढाउने निर्णय गरेको हो । २०२४, २०२६, २०२८ र २०३०  को टि ट्वान्टी विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्नेछन् । अहिले १६ टिम बीच प्रतिस्पर्धा हुँदै आएको छ । २०२१ र २०२२ को विश्वकप भने अहिलेकै तालिका अनुसार हुनेछ । अर्थात १६ टिमनै खेल्न्ेछन् ।

२०२१ को विश्वकप भारतमा हुने तालिका छ । तर कोरोना भाइरसका कारण भारतबाट युएइमा हुन सक्ने संभावना उच्च छ । २०२२ को विश्वकप अस्ट्रेलियाले आयोजना गर्नेछन् । यस्तै २०२७ र २०३१ को एकदिवसीय विश्वकप १४ टिमले खेल्नेछन् । अहिले दश टिमले मात्र खेल्दै आएका छन् । २०२३ को एकदिवसीयमा दश टिम नै हुनेछन् ।

आइसीसीले २०२३ देखी महिलाको टि ट्वान्टीमा दश र एकदिवसीयमा ८ टोली सहभागी गराउने निर्णय पनि गरेको छ । नेपालको पुरुष टिम अहिले टि ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्ने तयारीमा छ । ग्लोबल छनोटको शीर्ष दुइमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।  

ताजा खबर