नोभाक जोकोभिच फ्रेन्च अ‍ोपन टेनिसको दोस्रो चरणमा

२०७८ जेठ १९ बुधबार ०९:१३:०० मा प्रकाशित

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च अ‍ोपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

सर्वियन जोकोभिचले आफ्नो पहिलो खेलमा अमेरिकाका टेन्नेज सेन्डग्रेनलाई तीन शुन्यको सोझो सेटमा पराजित गरे । गत साता घरेलु कोर्टमा बेलग्रेड ओपन टेनिसको  उपाधी जित्दै फ्रेन्च ओपनमा सहभागी भएका जोकाभिच उच्च फर्ममा देखिएका थिए । रातीको समयमा भएकोे पुरुषको यो पहिलो खेल हो । नौ बजे पछि स्थानिय कर्फयु लाग्ने हुँदा खाली कोर्टमा खेल भएको थियो ।

जोकोभिचले पहिलो सेट ६–२ ले जितेका थिए । दोस्रो सेट ६–४  र तेस्रो सेट ६–२ ले जित्दै उनले दोस्रो चरणमा स्थान सुरक्षित गरे । जोकोभिच रोल्यान्ड ग्यारोसमा लगातार १७ औं पटक दोस्रो चरण पुगेका हुन् । अर्थात् उनी पहिलो चरणमा अहिलेसम्म पराजित भएका छैनन् ।

१९ औं ग्रान्डस्लाम उपाधी जित्ने लक्ष्यमा रहेका जोकोभिच रफायल नाडाल र रोजर फेडेररसँगको दुरी कम गर्न चाहन्छन् । नाडाल र फेडेररले समान २०–२० पटक ग्रान्डस्लाम जितेका छन् । जोकोभिचले पछिल्लो पटक सन २०१६ मा फ्रेन्च उपाधी जितेका थिए । गत वर्ष उनी फाइनलमा नाडालसँग हारेका थिए । तेस्रो वरियताका नाडालले पहिलो आफ्नो पहिलो खेलमा सहज जीत हात पारेका छन् । 

साविक विजेता उनले अस्ट्रेलियन एलेक्सी पपरिनलाई सोझो सेटमा पराजित गरे । विश्व वरियताको ६३ औं स्थानमा रहेका पपरिनलाई नाडालले  ६–३, ६–२, ७–६ को सेटमा हराए । नाडालले फ्रेन्च् ओपनमा लगातार २६ औं सेटमा जित निकालेका हुन् । नाडाल २१ औं  ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । उनी फ्रेन्च ओपनका सर्वाधिक १४ पटकका विजेता हुन् । 

ताजा खबर