अर्जेन्टिनाबाट पनि सर्यो कोपा अमेरिका 

२०७८ जेठ १७ सोमबार १२:२४:०० मा प्रकाशित

 काठमाडौं । दक्षिण अमेरिकी फुटवलको चर्चित प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनाबाट पनि सरेको छ । कोरोना भाइरसका कारण कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएको हो । दक्षिण अमेरिकी फुटवल महासंघले अर्जेन्टिनामा प्रतियोगिता नहुने जानकारी दिएको हो । यो सँगै कोपा अमेरिकाले दुवै आयोजक गुमाएको छ । यसअघि कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने तालिका थियो । नागरिक आन्दोलनका कारण कोलम्बियाले आयोजना अवसर गुमाएपछि अर्जेन्टिना एक्लो आयोजकका रुपमा रहेको थियो । तर अर्जेन्टिनामा कोरोना भाइरस संक्तमण तीव्र बनेपछि प्रतियोगिता गर्न असंभव भएको हो । केही दिनमानै नयाँ आयोजक देश घोषणा हुने बताइएको छ ।

 कोपा अमेरिकाका लागि चिलीले पनि इच्छा ब्यक्त गरेको छ । अमेरिकाले पनि कोपा गर्न प्रस्ताव गरेको उल्लेख गरिएको छ । कोपा अमेरिका ११ जुन देखि १० जुलाइसम्म हुनेछ । प्रतियोगितामा यस क्षेत्रका दश टोली सहभागी हुनेछन् ।  समुह ए मा  अर्जेन्टिना, बोलभिया, उरुग्वे, चिली र पाराग्वे छन् । समूह बीमा साविक विजेता ब्राजिल, कोलम्बिया, इक्वेडर, पेरु र भेनेजुलएला छन् । अहिलेसम्म उरुग्वेले सर्वाधिक १५ पटक कोपा अमेरिकाको उपाधी जितेको छ । लियोनल मेसीले अहिलेसम्म राष्ट्रिय टिमबाट कुनै उपाधी जित्न  सकेका छैनन् । अर्जेन्टिनाका लागि कोपा जित्ने मेसीको यो अन्तिम अवसर हुन सक्छ । 

ताजा खबर