सम्झनामा प्राध्यापक राजेन्द्र सुवेदी

२०७८ जेठ १५ शनिबार १७:४४:०० मा प्रकाशित

‘राजेन्द्र सुवेदी हजुरबुवाको फोन ।’ 

सानो छोरोले मेरो मोबाइलमा आएको फोन रिसिभ  ग¥यो र दर्शन हजुरबुवा.............., हस् भन्दै मोबाइल मेरो हातमा दियो । मैले अभिवादन गर्न भ्याउँदा नभ्याउँदै उहाँ सोध्न थालिहाल्नुभयो “के छ तिमीहरूको खबर ? सञ्चै त छौ नि ?” 

“भूमिका लेखेर उतै पेज सेटिङ गर्ने ठाउँतिरै मेल गरिदिएको छु । निबन्धका क्रम अलिअलि यताउता मिलाइदिएको छु । केही निबन्धमा शुद्धाशुद्धी हेर्न बाँकी रहेछ राम्ररी हेर्नु है ।”

इलामका अग्रज साहित्यकार कीर्तिशेष बिष्णु नवीनका अप्रकाशित कृतिहरू प्रकाशन गर्ने इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानको योजना अनुसार सम्पादन कार्यको जिम्मेवारी वहन गर्दै थिएँ म । १. हास्य व्यङ्ग्य २. कविता ३. अनुसन्धान र समालोचना ४. कथा एवम् रोचक प्रसङ्ग आदि समेटेर भिन्नभिन्न चारवटा कृतिहरू तयार गर्दै थिएँ । हास्य व्यङग्य र कविता कृतिको सम्पादन म एक्लै गर्दै थिए भने अरू दुई कृतिहरू म र अर्का इलामे साहित्यकार इन्द्रनारायण सुवेदीले संयुक्त रुपमा हेरिरहेका थियौँ । वरिष्ठ साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा २०७८ बैशाख ४ र ५ गते इलाममा नेपाल प्रज्ञा प्रतिष्ठान र इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानको संयुक्त आयोजनामा इलाम वाङ्मय सङ्गोष्ठी— २०७८ हुदैथियो । सोही कार्यक्रममा नवीनका चारवटै पुस्तकहरू सार्वजनिक गर्ने योजना बनिसकेको थियो । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती टीका घिमिरे काठमाडौंमै बसेर पुस्तकहरूको प्रकाशनको व्यवस्थापनमा खटिरहनु भएको थियो । 


विष्णु नविनका अप्रकाशित कृतिहरू प्रकाशन गर्न लागेको जानकारी गराएको थिएँ मैले राजेन्द्र सुवेदीसरलाई २०७७ सालको चैत्रको शुरूवाततिर । असाध्यै खुसी हुनुभएको थियो उहाँ र मैले केही सघाउनुपर्छ त भनेर सोध्नुभएको थियो त्यहीबेला । यसले उहाँको इलाम र इलामका प्रतिभाप्रतिको अगाध स्नेह र प्रेम प्रष्ट पाथ्र्र्यो ।

व्यङ्ग्य निबन्धहरूको सङ्ग्रहको भूमिका तपाईँलाई लेखाउने विचार गरेको छँु भन्दा अझै खुसी हुँदै उहाँले तुरुन्तै इमेलमा पठाइदेऊ भनेर हार्दिकता प्रकट गर्नुभएको थियो ।

विष्णु नवीनको कृतिको भूमिका लेखाउन राजेन्द्र सुवेदी नै रोज्नुका कारण अनेक थिए । प्रथमतः बरिष्ठ समालोचक राजेन्द्र सुवेदी स्वयं विशिष्ट व्यङ्ग्य निबन्ध साधक हुनुहुन्थ्यो । दोस्रो, नवीनका विशिष्ट कोटीका व्यङ्ग्य निबन्धलाई नेपाली साहित्य जगतमा अझ परिचित गर्न उहाँको भूमिका अवश्य पनि बलशाली हुनेथियो । तेस्रो, दुवैजना एकै क्षेत्रका सर्जक हुनुहुन्थ्यो । चौथा,े राजेन्द्र सुवेदीको इलामको लामो बसाइका कारण उहाँले विष्णु नविनलाई अन्तरङ्ग बुझ्नुभएको कुरा मलाई थाहा थियो । पाँचौं इलामेहरूले राजेन्द्र सुवेदीलाई सधै इलामे नै ठान्छन् । उहाँले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापन गर्दा एवम् सोही क्याम्पसको क्याम्पस प्रमुख भएर बस्दा सामाजिक व्यवहार र जीवनशैलीले आफुलाई इलामे नै बनाउनु भएको थियो । नवीनको पुस्तकमा उहाँले लेखेको भूमिकाले उहाँलाई इलाम र इलामसँग अझ निकट बनाउँछ भन्ने ठानेँ मैले । 

मैले धन्यवाद भन्दै पुस्तकको नामका बारेमा पनि जिज्ञासा राखँे ।  पुस्तकको भूमिका लेख्न निबन्धहरू पठाउँदा मैले राखेको पुस्तकको नाम मलाई नि चित्त बुझिरहेको थिएन । उहाँलाई नामबारे पनि सोची दिन अनुरोध गरेको थिएँ ।  

“तिमीले राखेको नाम पनि राम्रो छ तर अझ राम्रो चाहिँ ‘सोझा नवीनका बाङ्गा निबन्ध’ होला कि ! एकचोटी विचार गर्नु । पुस्तकको नाममा नै नवीन जोडिएको राम्रो ।’

 मैले खुशी व्यक्त गर्दै हस् भन्नासाथ हाम्रो संवाद टुङ्गियो । तर अझै केही कुरा गर्न बाँकी थियो उहाँसँग । दुई दिनपछि पर्सिपल्ट चैत्र १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा मेरो पाँचौं पुस्तक ‘कालापानी यात्रा’को लोकार्पण कार्यक्रमको तयारी भइरहेको थियो । त्यसका लागि उहाँलाई विशिष्ट अतिथिका रुपमा उपस्थित भइदिन अनुरोध गरेको थिएँ केही दिनअघि । “म धेरै काममा व्यस्त छु आजभोलि । शरीर पनि अलिअलि अस्वस्थ छ । पछि टुङ्गो गरौँला है । तिम्रो कार्यक्रम नछुटाउने प्रयास गर्नेछु ।”

उहाँले भनेका यिनै कुरा सम्झिएर तुरुन्त फोन गरेँ । सम्झाए पर्र्सीको कार्यक्रमको कुरा ।

 “यसपटक माफ गर है । आजभोली नै मैले धेरै काम गर्नुछ । कमल आउँछ नि तिम्रो साथी, हुन्न र ? पछि किताबका बारेमा अन्तरक्रिया, छलफल कार्यक्रम भयो भने म पक्का आउँला है । मेरो भूमिका जे हुन्छ त्यहीबेला निर्वाह गर्छु ल ।”

मनमा त बेखुसी छायो तर मैले सहजै हस् भनेँ । पछिका कार्यक्रमका लागि उहाँले दिनुभएको बचनले मलाई खुशी नै बनायो । खासगरी नेपाली बृहत साहित्य कोश लेखनको कामले उहाँलाई अत्यन्त व्यस्त बनाइरहेको थियो त्यसबखत ।

वैशाख ४ र ५ गते इलाममा विष्णु नवीनका तीनवटा पुस्तकहरू सार्वजनिकीकरण गरिए । नवीनका सबै कविताहरू सङ्कलन गर्न भ्याइएन यसपटक । अर्को सालतिर कविता सङ्ग्रह प्रकाशित गर्ने सल्लाह ग¥यौँ टीका घिमिरे भाउजू र मैले । त्यसैले नवीनका तीनवटा पुस्तकहरू मात्र प्रकाशित भए यसपटक । कविता सङ्ग्रह अर्को सालका लागि थाती रह्यो । 
 
राजेन्द्र सुवेदीले लेख्नुभएको भूमिका उच्चकोटिको समालोचना थियो । जसका कारण एकपटक फेरि राजेन्द्र सुवेदी र इलामको अझ गहिरो सम्बन्ध थपिएको अनुभव गरे इलामेहरूले । झण्डै पाँचदशक अगाडी आरम्भ भएको राजेन्द्र सुवेदीको इलामे जीवन सम्झन पाए उनीहरूले ।

राजेन्द्र सुवेदीको प्राध्यापन कर्म महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा २०३० सालको सुरुवातीबाट प्रारम्भ भयो । छ वर्ष इलाम क्याम्पसमा पढाउँदा उहाँले आफूलाई कर्म, व्यावहार र जीवनशैलीले इलामे कै रुपमा स्थापित गरिसक्नुभएको थियो । तीन वर्षजति इलाम छोडेर फेरि २०३९ सालमा सोही क्याम्पसको क्याम्पस प्रमुख भएर आएपछि २०४५ सालसम्म इलाममै रहनुभयो । क्याम्पस प्रमुखको दुई कार्यकालले उहाँलाई असल एवं कुशल क्याम्पस प्रमुख, व्यवस्थापक र प्रशासकका रुपमा चिनायो । उत्कृष्ट शिक्षण क्षमता र शैलीका कारण विद्यार्र्थीहरूबीच उहाँको प्रतिष्ठा सगरमाथा झैँ उच्च बन्यो । इमान्दारिता र स्पष्टवादिताका लागि उहाँ सतिसालको रुखको पर्याय हुनुहुन्थ्यो । ज्ञान, चेतना र विवेकका प्यासी विद्यार्थीहरू हुन् या अरु नै कोहि हुन् उनीहरूका लागि सुवेदी हिमालबाट निस्किएर बगेको नदी जस्तै हुनुहुन्थ्यो जो अटुट बगिरहन्छ ।

 राजेन्द्र सुवेदी कर्ममा लगनशीलता, निष्ठा, जाँगर, निरन्तरता र इमान्दारिताको पर्याय जस्तै हुनुहुन्थ्यो । विश्व महामारी कोभिड —१९का कारण उहाँको भौतिक जीवन अप्रत्यासित रुपमा २०७८ साल जेठ ३ गते सदासदा लाथि समाप्त भयो ।

 सम्झदा अपत्यारिलो लाग्छ तर सत्य हो अब त्यो सगरमाथाजस्तो उच्च मनोबल र सतिसालजस्तो निष्ठा र दृडता बोकेको राजेन्द्र सुवेदीलाई भौतिक रूपमा कतै पनि भेट्न सकिदैन् । मेरो मनमा अहिले बालककालदेखि हालसम्म उहाँको निकट रहँदाका अनेकौं सम्झनाहरू ताजा भएर आइरहेका छन् ।

मेरो जेठो दाजु धर्मप्रसाद उप्रेती (पूर्व क्याम्पस प्रमुख महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम) र राजेन्द्र सुवेदीको प्राध्यापन पेशा एकैसाल सुरु भएको थियो केवल चार छ महिनाको फरकमा । उहाँहरूको सम्बन्ध साथी साथी जस्तो हुँदै एकाघरका दाजुभाइको जस्तो हुनपुग्यो । तिहारमा मेरा दिदीबहिनीहरू टिकाको रंगिन थाली बोकेर सबभन्दा पहिले राजेन्द्र सुवेदीको अगाडि पुग्नुहुन्थ्यो र अन्तिममा मसम्म आइपुग्नु हुन्थ्यो । दिदीबहिनीहरूका हातबाट हाम्रा निधारमा इन्द्रेणी टीका सजिन्थे र गलामा सयपत्री, गोदावरी र मखमलीका मालाहरू लर्कन्थे । उहाँको छोरो कमल सुवेदी र मेरो विद्यालय मात्रै एउटै थिएन कक्षा पनि एउटै थियो । कक्षा मात्रै एउटै हैन सेक्सन पनि एउटै हुन्थ्यो । त्यतिमात्र हैन हामी कक्षामा प्राय एउटै बेन्चमा बस्ने गथ्र्यौँ । कमलको स्वभाव अलिअलि लजालु खालको थियो । ऊ हामीजस्तो खोलेर बाल््दैनथ्यो जोकोहीसँग । ऊ र मभने निकट थियो अत्यन्तै एकअर्कामा । त्यो बालक कालमै पनि म उसको घरमा गएँ भने साँझमा फर्कन्नथेँ आफ्नो घर । ऊ पनि त्यसै गथ्र्यो, मेरो घरमा आयो भने साँझमा फर्कन्नथ्यो आफ्नो घर । हाम्रो बालापन दुईटा घरमा एउटै परिवारको सदस्य जस्तो भएर बित्यो ।

सानी बहिनी भूमिका एकपटक घरको बरण्डाबाट लडिन् बाटोको छेउमा पछारिने गरी । सानै थिइन् उनी । दुर्घटना निकै ठूलो थियो त्यो । बहिनीको टाउको गम्भीर रूपमा ठोक्कियो सडक किनारमा । लामो समयसम्म उपचार गर्नुप¥र्यो उनलाई । त्यो पीडाले हामीलाई पनि धेरै समयसम्म आफ्नै पिडाका रूपमा सताइरह्यो । टेलिफोनको सुविधा थिएन इलाममा त्यसबेला ।  धर्म दाईले त क्याम्पसमै थाहा पाउनु हुन्थ्यो भूमिकाको अवस्था । मचाहिँ सधैँ घरै जान्थे । पुष्पा बहिनीलाई मेरी आमा असाध्यै मन पराउनु हुन्थ्यो । गुडिया भन्नुहुन्थ्यो उनलाई । 

इलाम बजारबाट बिस पच्चिस मिनेट टाढा पर्ने ठाउँ बर्भैयामा खेतीपातीको जग्गा लिनुभयो राजेन्द्रसरले । ठूलाठूला सुन्तलाका बोटहरू थिए त्यहाँ । धान, मकै, गहुँ लगाउने खेत थियो । बोटमा चढेर सुन्तला टिप्थ्यौँ हामी केटाकेटी । राजेन्द्रसर आउनु भएपछि भुइँबाटै तन्किएर टिपेर दिनुहुन्थ्यो सुन्तला हामीलाई । दाजुको साथी भएकोले कहिले दाजु भन्थे म उहाँलाई त कहिले राजेन्द्रसर । भाउजुले कमललाई र मलाई समान माया गर्नुहुन्थ्यो । गाई पालेको थियो बर्भैयामा । बटुकामा भाउजूले कमल र मलाई बराबर दिनुहुन्थ्यो दुध । घर फर्कदा झोलाभरि सुन्तला बोकेर फर्कन्थे म ।

 हामी केटाहरू त सर्ट र हाफपेन्ट लगाउँथ्यो प्राय । ठूला लोग्नेमान्छेहरूले घरमा बस्दा प्राय लुङ्गी लगाउने चलन थियो त्योबेला इलाममा । काम गर्दा लुङ्गी सरक्क घुँडासम्ममात्र हुनेगरी फर्काएर लगाउने गर्थे लुङ्गी लगाउनेहरू । राजेन्द्रसर लुङगी त्यसरी नै लगाएर खेत खन्ने, आली तास्ने, आली लगाउने, बाउसे गर्ने गर्नुहुन्थ्यो । खेतबारीमा काम गर्न असाध्यै रमाउनु हुन्थ्यो उहाँ । श्रमप्रति गहिरो आस्था र लगाव थियो । एकपटक रोपाइँको दिन म खूब रमाएको थिएँ बर्भैयाको राजेन्द्रसरको खेतमा ।

काठमाडौँ सरुवा भएपछि २०३६ सालमा छ वर्षको अवधि इलामलाई सुम्पेर राजेन्द्रसरको परिवार काठमाडौँतिर लाग्यो । 

तीन वर्षको समय बित्यो चिठी पत्रमार्फत हालखबर सोधपुछ गर्दै । राजेन्द्रसर २०३९ सालमा इलाम क्याम्पसको प्रमुख भएर फेरि इलामनै फर्कनुभयो । एसएलसी दिने साल कमलचाहिँ फर्किएन । राजेन्द्रसरको परिवारको बसोबास क्याम्पसको क्वार्टरमै थियो । म पनि क्याम्पस पढ्न थालँे । साहित्य र राजनीतिमा निकै चाख राख्थेँ म । मैले लेखेका कविताहरूको पहिलो पाठक प्राय राजेन्द्रसर नै हुनुहुन्थ्यो । कविता भएन कहिल्यै भन्नुभएन तर सधैँ सिकाउनुभयो कविता लेख्न, कविताका लागि शब्दहरू छान्न, तिनलाई अर्थयुक्त बनाउन, बिम्ब र प्रतीकको पहिचान गर्न र तिनलाई प्रयोग गर्न । उहाँबाट सुझाव सल्लाह र ज्ञान पाएपछि सच्याइएका मेरा कविता इलाममा त्यो समयमा राम्रा कविता मानिन्थे । 

तत्कालीन पञ्चायत विरोधी विद्यार्र्थी राजनीतिमा सक्रिय भएका कारण मजस्ता विद्यार्र्थीहरूका लागि प्रशासनबाट जहिल्यै खतरा हुन्थ्यो । राजेन्द्रसर क्याम्पस प्रमुख भएका कारण हामीलाई क्याम्पस क्षेत्रमा निर्धक्कसँग राजनीतिक गतिविधि सञ्चालन गर्न सजिलो हुन्थ्यो । प्रहरी प्रशासनको निगरानीबारे नजानिदो किसिमले उहाँबाट हामी जानकारी प्राप्त गरिसक्थ्यौं र बच्थ्यौँ धरपकट र गिरफ्तारीबाट । विद्यार्थी छात्रावास र नगरक्षेत्रमा रहेका भूमिगत राजनीतिक कार्यकर्ताहरूलाई सुरक्षित गर्न पनि हामीलाई ठूलो सहयोग पुग्थ्यो ।  यसअर्थमा इलामको पञ्चायत विरोधी आन्दोलनमा राजेन्द्रसरको योगदान अविस्मरणीय रह्यो । उहाँ आफैले भूमिगत राजनीतिक पार्र्टीको सम्पर्कमा रहेर सहयोग गर्ने काम त आफ्नो ठाउँमा छँदै थियो । 

 मेरो व्यक्तिगत जीवनमा अर्र्काे कुराले पनि सधैँ सम्झाइरहनेछ राजेन्द्रसरलाई । म इलाम  क्याम्पसमा पढदा अल्सरको बिमारी थिएँ । एकैचोटी धेरै खान पनि नमिल्ने र धेरैबेर नखाई खाली पेट पनि बस्न नहुने । बेलाबेला थोरै थोरै खाइरहनु पर्ने । घरमा आएर खाँदै जान सम्भव थिएन । धेरैजसो बिहानको खाना मेरो लागि पनि राजेन्द्र सरकै क्वाटरमा पाक्ने गथ्र्यो । कतिपय दिनमा त तिम्रो जाउलो खाने बेला भयो भन्दै सम्झाइदिनुहुन्थ्यो उहाँले नै । उता क्वाटरको भान्सामा भाउजूले साच्चैनै मेथी पड्काएर जाउलो पकाई दिनुभएको हुन्थ्यो । जाउलो साह्रै मिठो हुन्थ्यो । त्यो जाउलो केवल जाउलो मात्र हुदैनथ्यो । सायद उहाँले मेरालागि जाउलो पकाइरहँदा मनभरिको आमाको माया पनि खन्याइदिनुहुन्थ्यो त्यसमा । 
त्यो जाउलो मेरा लागि माया हुन्थ्यो, प्रेम हुन्थ्यो, स्नेह हुन्थ्यो । मेरा लागि औषधी हुन्थ्यो त्यो । त्यही जाउलो खाएर म दिउँसो अबेरसम्म पुस्तकालयमा अध्ययन र विद्यार्थी राजनीतिसँग सम्बन्धित काम गरेर घर फर्कन्थे । 

ठुली बहिनी दुर्गा जो पाँचथरमै पढ्थिन् । पछिमात्रै इलाम आएकी हुन् उनी । २०४५ सालमा उनको निधन भयो । यो सन्तान वियोगको पीडाले राजेन्द्रसरको परिवारलाई ठुलो चोट पु¥यायो । हामी थुप्रै निकटका मान्छेहरू पनि अत्यन्तै दुःखी बन्यौ । राजेन्द्रसरले सम्हाल्नुभयो आफू र आफ्नो परिवारलाई अनि आफ्नो क्याम्पस प्रमुखको दुई कार्यकाल पूरा गरेर काठमाडौंतर्फ लाग्नुभयो । उहाँले छोड्नुभयो इलाम पूर्वी पहाड र झापाका सयौं विद्यार्थीहरू र इलामेहरूलाई कहिल्यै नबिर्सने ज्ञानगुण, बुध्दिविवेक, प्रेम, स्नेह र सहृदयताको सम्झना दिएर । दुईपटक गरेर लगभग एक दर्जन वर्षहरूको समयको दियोमा आफ्नो ज्ञान, सिप, निष्ठा, विवेक, इमान्दारिता, क्षमता, श्रम र कर्तब्यको कहिल्यै ननिभ्ने दियो झलमल झलमल जलाएर । म पनि त्यसै साल अध्ययन र उपचारको क्रममा काठमाडौंतिर लागेँ । 

मेरो बाल्यकाल र इलाम क्याम्पसमा अध्ययन गर्दाका दिनहरूमा राजेन्द्रसरको निकटताले र मार्गनिर्देशनले मेरो बालापनलाई खुशी बनायो, मलाई क्षमताअनुसारको साहित्यिक सिर्जनामा उत्प्रेरित गरायो र राजनीतिमा विचारको महत्व र निष्ठाको उचाइ देखायो, सद्भावना र प्रेम सिकायो ।

तीन दशकभन्दा लामो काठमाडौँको बसाइमा आदरणीय अभिभावक गुरुदेव प्राध्यापक राजेन्द्र सुवेदीसँग मेरो जीवनका पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्ध, राजनीतिक सम्बन्ध, साहित्यिक आदि अनेकन सम्बन्ध अत्यन्तै आत्मियतापूर्वक गाँसिएका छन् । तिनलाई फेरिफेरि सम्झना गरौँला ।

इलामका अग्रज साहित्यकार विष्णु नवीनका अप्रकाशित पुस्तकको भूमिका लेखिदाको कुराकानी नै आदरणीय राजेन्द्रसरसँग मेरो अन्तिम कुराकानी भयो । सायद त्यही नै होला उहाँको अन्तिम समालोचकीय सिर्जना पनि ।

अश्रुमिश्रित हार्दिक श्रदाञ्जली प्रिय विद्वान अभिभावक गुरुदेव प्राध्यापक राजेन्द्र सुवेदीज्यू !

इलाम

ताजा खबर