स्थानीय तहमा अक्सिजनसहितको कोभिड अस्पताल

२०७८ जेठ १४ शुक्रबार १४:१३:०० मा प्रकाशित

खलङ्गा । कोरोना भाइरसको दोस्रो लहर व्यापकरुपमा फैलिएपछि सङ्क्रमितका लागि जुम्लाका स्थानीय तहले अक्सिजनसहितका कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् ।  यहाँका सात गाउँपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन् । स्थानीय तहका कोभिड अस्पतालमा न्यूनतम तीनदेखि ३० अक्सिजन सिलिण्डरसम्म व्यवस्थापन गरिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् ।

    जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजीक भएकाले कोभिड अस्पताल सञ्चालन गरेको छैन । यहाँको गुठीचौर गाउँपालिकामा पाँचवटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएका छन् । पच्चीस सिलिण्डर खरीद प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए। 

    चिकित्सक र अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि ढुक्कसँग बिरामीको उपचार गर्न सकिने अवस्था रहेको उनले बताए। अहिलेसम्म अक्सिजन दिनुपर्ने बिरामी भर्ना भएका छैनन् । बिरामी भर्ना लिनु परेमा पनि अक्सिजन अभाव हुन नदिइने उनी बताउँछन्। लक्षणसहितका कोरोना सङ्क्रमण भएका व्यक्तिको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ । गाउँपालिकामा १० श्ययाको कोभिड अस्पताल सञ्चालनमा आएको छ । 

    हिमा गाउँपालिकामा तीन, तिला गाउँपालिकामा तीन, सिँजा गाउँपालिकामा दुई र कनकासुन्दरी गाउँपालिकामा पाँच अक्सिजन सिलिण्डरसहित कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हिमाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए। पातारासी गाउँपालिकामा अक्सिजन सिलिण्डर खरीद प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले बताए। 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले यहाँका हरेक स्थानीय तहमा एक एक चिकित्सक खटाइने जनाएको छ । यहाँका स्थानीय तहमा न्यूनतम २५ देखि अधिकतम ५० श्ययासम्मका आइसोलेशन सेन्टर निर्माण गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

    जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले अक्सिजन अभावलाई दृष्टिगत गर्दै अक्सिजन बैंक स्थापना गर्ने जनाएको छ । सहयोगी निकायबाट प्राप्त हुने अक्सिजन र खाद्यान्नको बैंक बनाएर केन्द्रको निर्णयबमोजिम वितरण गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

ताजा खबर