वयोवृध्द पत्रकार रिसाल र मनोज गजुरेलको चिन्ता उस्तै

२०७८ जेठ १४ शुक्रबार १४:०४:०० मा प्रकाशित

 काठमाडौं । सुख, सुविधाका लागि प्रकृति मासिदा नयाँ रोग उत्पन हुने भएकाले त्यसप्रति सजग हुन प्रबुद्ध व्यक्तित्वले आह्वान गर्नुभएको छ । वाग्मती सफाइ महाअभियान नवौँ वर्ष प्रवेश गरेको अवसरमा महाअभियान र हामी साथ छौँ अभियानले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोनाकालमा के गर्ने ? के नगर्ने ’ विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले प्रकृतिलाई बिगारेर मान्छेमात्र बाँच्न खोजेकाले पर्यावरणको चक्र बिग्रिएर नयाँ नयाँ रोग उत्पन्न हुने, मानिसमा रोग प्रतिरोधी क्षमता कमजोर हुन थालेकाले सजग रहन अनुरोध गरे।

    प्राकृतिक विनाशले माहुरी क्रमश: लोप हुन थालेको उनले सुनाउनुहुँदै बाघ बाँचेन भने पनि मान्छे नरहने भएकाले सबै जीवजन्तुलाई माया गरेर सहअस्तित्वका आधारमा जीवन बिताउन अनुभवी पत्रकार रिसालको सुझाव छ । साहित्यकार नरेन्द्रजङ्ग पिटरले नेतृत्वमा नैतिक शक्ति हुनुपर्ने उल्लेख गर्नुहुँदै नेतृत्वकै अदूरदर्शिताले पर्यावरणको वास्ता नगर्दा प्राकृतिक प्रकोपलगायत समस्या भोग्नुपरेको बताए। विकासका नाममा विना अध्ययन हुने गरेका वातावरण विनाशले प्रकृतिमा असन्तुलन आई विभिन्न प्रकोप निम्तने गरेको छ । 

    लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनालले कोरोना पीडित बिरामीलाई घरमै अक्सिजन दिएर ठीक नहुने भएकाले घर घरमा अक्सिजन नथुपार्न अनुरोध गर्नुभयो । अक्सिजन दिने अवस्था भएपछि अस्पताल जानुपर्ने उल्लेख गर्नुहुँदै उनले अक्सिजनसँगै चिकित्सकको परामर्श आवश्यक पर्ने बताए ।

    अस्पतालले लुम्बिनी डाँफे टेलिमेडिसिन सेवा शुरु गरेको जनाएको छ । जसका माध्यमबाट कोरोना भएर होम आइसोलेसनमा बसेका बिरामीलाई सहज भएको छ । कोरोना भएर घरमा आराम गरेका बेला टेलिभिजन, सामाजिक सञ्जालमा व्यस्त हुनुभन्दा किताब पढ्न राम्रो हुने सुझाव उनले दिए।    हास्य कलाकार मनोज गजुरेलले गत वर्ष कोरोना हुँदा आफैँ चिकित्सक बनेर उपचार गर्दा समस्या भएपछि अस्पताल गएको कोरोनाकालको अनुभव सुनाए। ज्वरो आउने, टाउको दुख्नेलगायत शंका भएपछि परीक्षण गर्न उनले आह्वान गरे।

    सङ्क्रमित भएपछि सामाजिक सञ्जालबाट टाढा बस्न पनि हाँस्य कलाकार गजुरेलको सुझाव छ । प्रकृतिको विधान उल्लङ्घन गर्दा कोरोनाजस्ता भाइरसको समस्या आएकाले अब प्रकृतिमाथिको मान्छेको आक्रमण रोकिनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा पूर्व मुख्यसचिव एवं वाग्मती सफाइ अभियानकर्मी लीलामणि पौडेल, अभियानकर्मी राजकुमार भट्टराईलगायतले कोरोना बिरामी बढिरहेकाले चेतनामूलक अन्तरक्रिया कार्यक्रमलाई हप्तामा एक दिन जारी राखिने बताए।

    महाअभियान प्रत्येक दिन बिहान साँढ बजेदेखि साढे सात बजेसम्म प्राणायाम, योग लगायत कार्यक्रम जुम प्रविधिकै माध्यमबाट गरिरहेको छ । यस्ता आसनले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउने, शारीरिक तन्दुरुस्ती कायम हुने जनाइएको छ । कार्यक्रममा सफाइ अभियानकर्मी एवं प्रेक्षा ध्यान शिक्षक किशोरसिंह शाहीले प्रशिक्षण दिने गरेका छन् । रासस

ताजा खबर