नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र

२०७८ जेठ १२ बुधबार १४:०९:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँको नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र निर्माण गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको विशेष पहलमा नागार्जुन नगरपालिका र नेपाल चार्टर एकाउन्टेन एसोसिएशनको सहकार्यमा ३०० श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको हो । 

नागार्जुन नगरपालिका–१ रानीवनस्थित शहरी विकास मन्त्रालयले सुकुम्बासीको पुनर्वासका लागि बनाएका भवनमा निर्माण गरिएको उक्त आइसोलेशनमा चिकित्सकसहित सेवा उपलब्ध गराइएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताए । “वर्षौंदेखि प्रयोगविहीन भएका भवनलाई सदुपयोग गरेर कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि नगरपालिकाले अन्य व्यक्ति र संस्थाको सहकार्यमा आइसोलेशन केन्द्र स्थापना गरेको हो”, नगरप्रमुख बस्नेतले भने। 

सो आइसोेलेशनमा ललितपुरको सर्वाङ्ग अस्पतालका चिकित्सकले सेवा प्रदान गर्नेछन् । उक्त आइसोलेशनमा १०० वटा अक्सिजन सिलिण्डरसहित सेवा उपलब्ध गराइएको कांग्रेस केन्द्रीय सदस्य पौडेलले बताए। आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको छ । नेता पौडेलले कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्न गाह्रो भएका बिरामीले उक्त आइसोलेशन सेन्टरबाट सेवा लिन सक्ने बताए। 

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका नेता पौडेलले देशभर यस्तै प्रयोगविहीन रहेका सरकारी भवनलाई तुरुन्तै आइसोलेशन र अस्पतालका रूपमा दिनसके सङ्क्रमितले उपचार नै नपाएर मर्नुपर्ने अवस्था नआउने बताए। “देशभर यस्ता भवन धेरै ठाउँमा छन्, त्यस्ता भवनको उपभोग गर्ने हो भने धेरै सङ्क्रमितको ज्यान बचाउन सकिन्छ, त्यसका लागि स्रोतसाधन भएको सरकारले इच्छाशक्ति देखाउनुपर्छ”, उने भने। रासस
 

ताजा खबर