अक्सिजन सिलिण्डर अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०७८ जेठ १२ बुधबार १३:५५:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी अक्सिजन सिलिण्डर समन्वयको व्यवस्थापन गर्न आग्रह गरेको छ। अक्सिजन सिलिण्डर व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुने भएकोले संवेदनशील बन्न अनुरोध  गरेको हो। बुधबार मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै संक्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधिय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने गराउने कार्यलाई बन्द गर्न गराउन आग्रह गरेका हुन्। 

कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरणको व्यवस्थापन गरिरहेको र केही दिनदेखि अस्पतालहरुमा सहज भएको अक्सिजन आपूर्ति व्यवस्थामा अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगहरुमा भर्नका लागि फिर्ता नपुग्ने समस्या बढ्दै गएको पाइएको विज्ञप्तिमा उल्लेख छ।

‘एउटा उद्योगका अक्सिजन सिलिण्डरहरु अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ र यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ । विभिन्न व्यक्तिहरु तथा संघसंस्थाहरुले व्यक्तिगत, आईसोलेशन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डरहरु समयमा नै जुन कम्पनी वा अस्पतालका अक्सिजन सिलिण्डरहरु हुन् तिनै अक्सिजन उत्पादक कम्पनी तथा अस्पतालहरुमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउने कार्य गरिदिनुहुन सबैमा हार्दिक अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ,  ‘अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैलाई संवेदनशील बनिदिनु हुन अनुरोध छ ।

ताजा खबर