घरैपिच्छे विरामी छन्, दूरदराजका गाउँ बन्न थाले ‘हटस्पट’

२०७८ जेठ ११ मंगलबार १३:२०:०० मा प्रकाशित

पाँचथर । जिल्लामा दूरदराजका गाउँ वस्तीहरु कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’ बन्न थालेका छन् । जिल्लाका आठवटै स्थानीय तहका दूरदराजका गाउँहरुमा कोरोना भाइरसको सङ्क्रमण निकै तीब्र रुपमा फैलिएको छ । मानवीय उपस्थिति र चहलपहल नै कम हुने गाउँहरुमा सङ्क्रमण तीब्र हुँदा ग्रामीण क्षेत्र पनि प्रभावित बनेको छ । दूरदराजका गाउँ वस्तीहरुमा घरैपिच्छे सङ्क्रमित भेटिनाले यी स्थानहरु ‘हटस्पट’ बनेका छन् । 

हालसम्म जिल्लामा कोभिड–१९ सङ्क्रमणबाट सबैभन्दा प्रभावित स्थान हिलिहाङ गाउँपालिका—५ सुभाङ बनेको छ । यस वडामा हालसम्म ७५ पुरुष र ४७ महिला गरी १२२ जनाको एन्टिजेन परीक्षण गरिएकामा छ ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो वडाको मालबाँसे टोल सबैभन्दा बढी प्रभावित छ  । यहाँ हालसम्म ४४ जना सङ्क्रमित छन् । यसै वडाका भालुखोप, अमले, जेभाले लगायत टोलमा समेत सङ्क्रमण निकै तीब्र गतिमा फैलिएको छ । 
हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, “घरैपिच्छे विरामी छन् । कतिपयले परीक्षण गर्न मानिरहेका छैनन् । स्थिति भयावह जस्तै छ ।” सङ्क्रमितहरुमा गम्भीर समस्या नहुँदा आत्तिनुपर्ने स्थिति भने नभएको घिमिरे वताउन्छन्। हिलिहाङ—१ अमरपुरमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जना सङ्क्रमित देखिएका छन् । हिलिहाङमा मात्रै हालसम्म ९४ जनामा सङ्क्रमण देखिएको छ ।

सदरमुकाम फिदिममा घरैपिच्छेजस्तो सङ्क्रमित भेटिन थालेका छन् । फिदिममा आइतवार मात्रै ३० जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको थियो । अब्यवस्थित बसोबास, निषेधाज्ञामा पनि अनियन्त्रित मानवीय चहलपलहले सदरमुकाममा सङ्क्रमित दिनहुँ बढिरहेका छन् । सदरमुकाममै लक्षण देखिएका कतिपयले परीक्षण गर्न इन्कार गरिरहेका छन् । 

नगरपालिकाभित्र पर्ने गाउँ वस्तीहरुसम्म सङ्क्रमण फैलिइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । सोमवारमात्रै फिदिम नगरपालिका–७ रानीटारमा ५० जनामा गरिएको एन्टिजेन परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको छ । यहाँका नाङलपा, बरबोटे, रानीटार, घुमाउनेटार लगायत टोलमा धेरै विरामी देखिएका छन् । कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी देखिएपछि स्थानीयवासीले परीक्षणको माग गरेका थिए ।

दक्षिणी मिक्लाजुङका गाउँ वस्तीहरुको अवस्था पनि उस्तै छ । मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अग्नीप्रसाद चम्लागाइँका अनुसार हालसम्म उक्त गाउँपालिकाभित्र मात्रै ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । “मिक्लाजुङ–८ दुर्दिम्बामा धेरै बिरामी देखिएका छन् । उनीहरुमध्ये सबैको परीक्षण समेत गर्न सकिएको छैन्”, चम्लागाइँले भने, “कतिपयले परीक्षण गर्न मान्नुभएको छैन् ।” कन्ट्र्याक टे«सिङमा परेका सबैको परीक्षण गर्न नसक्दा गाउँ वस्तीहरुमा सङ्क्रमणको जालो चुडाउन नसकिएको चम्लागाँईको भनाई छ ।

दक्षिणकै तुम्बेवा गाउँपालिकामा समेत सात जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । “३२ जनामा परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ । केही निको पनि भएका छन्”, गाउँपालिका अध्यक्ष होमनाथ थापाले भने, “परीक्षणको दायरा बढाउने प्रयास थालेका छौँ ।” पिसिआर परीक्षणका यहाँ सङ्कलित स्वाब धनकुटा वा विराटनगर पठाउनुपर्छ । दुवै स्थानमा धेरै समय पालो पर्खनुपर्दा सङ्क्रमितको पहिचान ढिलो भई सङ्क्रमण रोकथाम गर्न कठिन भएको अध्यक्ष थापाको भनाइ छ ।

पछिल्लोपटक जिल्लाको कुम्मायक र फाल्गुनन्द गाउँपालिकामा सङ्क्रमण निकै तीब्र गतिमा फैलन थालेको छ । शनिबार कुम्मायक–१ सिम्ले गाउँमा बिरामी भेटिएपछि १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा छ जनामा तथा कुम्मायक–२ माङ्जाबुङमा १५ जनामा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको थियो । आइतबार गाउँपालिकाको केन्द्र यासोकमा २१ जनामा एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ । “गाउँ वस्तीहरुमा सङ्क्रमित देखिन थालेपछि हामीले गर्नुपर्ने उपचारात्मक तथा सङ्क्रमण रोकथामका कार्यहरु र तयारीलाई तीब्र पारेका छौँ”, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले भने।

यसैगरी फाल्गुनन्दमा भने गाउँपालिकाको अस्थायी केन्द्र घुर्विसेपञ्चमीसहित चिम्फुला, राँके, नवमीडाँडालगायत क्षेत्रमा गरी हालसम्म २१ मा सङ्क्रमण देखिएको छ । करीब १५० जनाको एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित देखिएका हुन् । ग्रामीण क्षेत्रमा समेत सङ्क्रमण फैलँदै गएकाले परीक्षणको दायरा बढाउँदै लागिएको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ । 

जिल्लाको याङवरक गाउँपालिकामा भने सङ्क्रमणको जालो एक हदसम्म तोडिएको छ । याङवरक–१ च्याङ्थापू तथा याङ्वरक–४ थर्पूमा अत्यधिक सङ्क्रमित भेटिएका थिए । तर पछिल्लोपटक सङ्क्रमण घट्दै गएको छ भने गाउँपालिकाले परीक्षणलाई निरन्तरता दिएको छ । याङवरक–१ च्याङ्थापूमा ७८ वर्ष माथिका तीन जना वृद्धवृद्धाले कोरोना जितेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङ्हाङको भनाइ छ । ग्रामीण क्षेत्रमा सङ्क्रमण तीब्र हुँदै जाँदा सतर्कता केही बढेको छ । यद्यपि परीक्षण गर्न अस्वीकार गर्ने, कोभिड–१९ को महामारीलाई सामान्य रुघाखोकी र ज्वरोको रुपमा मात्रै लिई हेलचेक्र्याई गर्नेको सङ्ख्या उल्लेख्य हुनाले सङ्क्रमण अझै बढ्नसक्ने खतरा देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । रासस

ताजा खबर