‘क्षमा याचना’ पनि भन्न पाईएन !

२०७८ जेठ ११ मंगलबार १२:४३:०० मा प्रकाशित

 कोरोना महामारीबाट परिवार नै अचानक संक्रमित भएपछि सरल पत्रिका पनि उही समयदेखि ठप्प हुनपुग्यो । सम्पादकीय सहयोगी साथीहरु समेत यसबाट प्रभावित भएकाले नियमित समाचार अपडेट गर्ने पेशागत धर्म र दायित्व हाम्रो क्षमताभन्दा धेरै नै टाढा हुनपुग्यो । कोरोना महामारीबाट प्रभावित नागरिकहरुको समाचार लेखिरहेका हामीहरु आफैं यसबाट संक्रमित भएपछि जीवन रक्षा भन्दा अर्को कुरा सोच्न समेत सकिएन । अस्पतालको लामो बसाईमा स्वास्थ्यमा सुधार हुँदै गएपछि अब चैं जीवन सामान्य बन्ला भन्ने आशा गरिएको छ ।

बिगत पाँच वर्षयता निरन्तर प्रकाशन भैरहेको सरल पत्रिका यही असमर्थताका कारण अचानक ठप्प हुनपुग्यो, हामी वाध्यतावश बिना सूचना पाठकहरुबाट टाढा र बेखबर हुन पुग्यौं । यसबीच देशमा भएका कैयौं राजनीतिक घटनाबारे सन्तुलित समाचार र विश्लेषण पाठकसम्म पुर्याउने परमकर्तव्यबाट हामी चुक्यौं । तर यो हाम्रो वाध्यता थियो र क्षमताभन्दा धेरै टाढाको कार्य थियो । यो वाध्यता र विवशता नै हाम्रो अनुपस्थितिको मूल कारण थियो भन्दै सरल पत्रिका परिवार र गेटवे पव्लिकेशन हाम्रा सह्रदयी पाठक, विज्ञापनदाता र सबै शुभेच्छुहरुसँग सादर क्षमायाचना गर्दछौं । अब निरन्तर समाचार प्रकाशन गर्ने जानकारी गराउन चाहन्छौं ।

हाम्रा लागि कोरोना भाईरसको संक्रमण अजंगको जनावरले गरेको आक्रमण जस्तै भयो । सोच्दै नसोचेको आपद् आईपर्दा तर्दै गरेको झोलुङ्गे पुलको लठ्ठा चुँडिएर बाढी आईरहेको नदीमा खसेका यात्री जस्तै भयौं हामी ! तर तत्काल अस्पताल पुग्न सक्ने सुविधा र उपयुक्त मेडिकल सेवा पाउन सकेकाले हाललाई जीवन जोगाएर फर्किन सफल भएका छौं । जावलाखेलको अल्का अस्पतालका डाक्टर र नर्सहरुको सेवा अतुलनीय छ, उनीहरुले अहोरात्र कोरोना संक्रमित बिरामीहरुलाई दिईरहेको सेवा स्तुत्य छ ।

अहिलेको महामारीमा सामान्य उपचार सेवा त के अस्पतालको आँगनसम्म टेक्न नपाई जीवन गुमाएका कैयौं नागरिकहरुको अवस्था सम्झँदा कहाली लाग्छ । सरकार र स्वास्थ्य क्षेत्रसँग सम्बध्द सरकारका अंगहरु यतिबेला असान्दर्भिक झैं लाग्दछन् । महामारीमा जनताको जीवन रक्षाका लागि अपनाउनुपर्ने न्यूनतम सतर्कता समेत सरकारले वास्ता नगरेकाले धेरैको ज्यान गएको हो । अहिले पनि अवस्था कहालीलाग्दो नै छ । तर सरकार र राजनीतिक दलहरु जनमतलाई खेलौला बनाउँदै नीच हर्कत प्रदर्शन गरिरहेका छन् । यो कुरा कसैबाट छिपेको छैन । सरकारले जनताको स्वास्थ्य रक्षाका लागि कुनै कसर नछोडोस् भन्ने हाम्रो माग छ र सुझाव पनि हो यो ।
समाजका कुनैपनि क्षेत्र कोरोना महामारीबाट बचेका छैनन् । तैपनि स्थानीय तहमा नागरिकले व्यक्तिगत क्षमतामा र स्थानीय निकायले संस्थागत रुपमा आफ्नो क्षेत्रमा स्वास्थ्य सेवामा पीडितहरुको पहुँच पुर्याउन सक्दो प्रयाश गरिरहेको पाईन्छ । यस्तो प्रयाशमा भने ती क्षेत्रबाट चुनिएर केन्द्रमा पुगेका प्रतिनिधिहरु र अरु पहुँचवाला व्यक्तिहरु भने रमिते बनेको देखिएको छ । आफ्ना मतदाताप्रतिको यस्तो उदासिनता खेदजनक छ । 

आदरणीय पाठक,

सरल पत्रिका परिवार बिगतमा झैं तथ्यपर, वस्तुपरक र सन्तुलित समाचार लगायतका सामग्री लिएर नियमित यहाँहरु समक्ष उपस्थित हुने अठोट गर्दर्छौं । यहाँहरुको सद्भाव र स्वस्थ आलोचनात्मक सुझाव हाम्रो निम्ति मागदर्शन हुनेछ ।

 

 धन्यवाद ! - बिष्णु निष्ठुरी, प्रधान सम्पादक

ताजा खबर