राम पुण्य र मोक्षदायक: रामराज्यका प्रणेता

२०७८ बैशाख ८ बुधबार १२:०१:०० मा प्रकाशित

जनकपुरधाम । मर्यादा पुरूषोत्तम भगवान रामको जन्मजयन्ती आज जनकपुरधाममा श्रद्धा एवं हर्षोल्लास साथ मनाइँदै छ । रामको प्रेमभूमि र ससुराली, सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राम मन्दिरमा आयोजित जन्मजयन्तीमा श्रद्धालु र साधुसन्तको सहभागिता रहेको छ भने सो परिसरमा श्रद्धालुद्वारा भजन, कीर्तनका साथै मिथिलाञ्चलमा जन्म संस्कारमा गाइने गीतले वास्तविक जन्मोत्सव झैँ अनुभति भइरहेको छ । 

राम मन्दिरका महन्त राम गिरि कोरोना त्रासका कारण विगतभन्दा यसपटक श्रद्धालुको उपस्थिति कम भएको बताउँछन् । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सहभागीले श्रद्धालु सरकारद्वारा जारी स्वास्थ्य मापदण्ड अपनाएर नै पूजा अर्चना गरिरहेको उनको भनाइ छ ।

त्रेता युगमा चैत शुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख छ र सोही दिनलाई रामनवमी भनिन्छ । भगवान राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१औँ पुस्ताका राजा मानिन्छन् । उनी महाराजा दशरथका जेठा छोरा थिए ।

राम शब्द रम् धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हो । विद्वानहरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ, त्यसैकारण भगवानको नाम राम परेको हो भनिन्छ ।

राम परब्रम्ह, परम तप, परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेको पाइन्छ । यस सन्दर्भमा महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा बढी शहरको नाम पत्ता लागेको छ । धार्मिक ग्र्रन्थहरूमा शिवको रामभक्ति, हनुमान, नारद, अत्रि, अनुसूया, भरत, शबरी आदिको भक्ति एवं उपासना अद्वितीय रहेको छ ।

कल्याण स्वरूप, सत्य स्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायकको रुपमा अथ्र्याउने गरिन्छ । राम शब्द स्वयम्मा सच्चिदानन्द शब्द पनि हो । रामनवमी व्रत जसले गर्छ, उसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भनी विभिन्न शास्त्रमा वर्णन गरिएको छ । विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भन्ने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणाको स्रोत मानिन्छ ।

आज पनि सुशासन, सुव्यवस्था आदि लोककल्याण्कारी आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा प्रष्ट अभिव्यक्ति दिन रामराज्य शब्दलाई पूर्ण मानिएको छ । अझ देशभक्ति, पितृभक्ति, मातृभक्ति, भ्रातृप्रेम, प्रजावात्सल्य, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता, वीरताका उदाहरण दिँदा पनि रामलाई नै सम्झिने गरिएको छ ।

    जन्मजयन्तीका अवसरमा  प्रदेश–२ सरकारले सार्वजनिक बिदा दिएको छ भने स्थानीय प्रशासनबाट सहभागीहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । सामाजिक अभियानकर्मी भगवान झा यसपटक कोरोनाकै कारण साधुसन्तका सहभागिता पनि निकै कम रहेको बताउँछन्। रासस

ताजा खबर