त्रिकोणात्मक सिरिजमा यसरी हार्यो नेपाल

२०७८ बैशाख ८ बुधबार ११:०६:०० मा प्रकाशित

काठमाडौं । नेपालले त्रिकोणत्मक सिरिजमा पहिलो हार बेहोरेको छ । मंगलबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाल नेदरल्यान्डससँग ३ विकेटले पराजित भएको हो । 

टियु मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । नेपाललो टि ट्वान्टी अन्तराष्टियमा नेपालले बनाएको यो दोस्रो ठुलो योगफल हो । यसअघि नेपालले १३ औं दक्षिण एशियाली खेलकुदमा टियुमै भुटान विरुद्ध २ सय ३६ रन जोडेको थियो । नेपालका लागि  कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । दिपेन्द्र सिंह ऐरीले पनि टि ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएपछि नेपालले विशाल योगफल बनाएको थियो । कुशलले ४६ वलमा ६२ रनको योगदान गरे । उनको यो लगातार तेस्रो अर्धशतक हो । कुशलको पारीमा ८ चौका र १ छक्का सामेल थियो । कुशल १४ ओभर ३ वलमा भिभियन किङमाको वलमा क्याच आउट भएका थिए । दिपेन्द्रले ३ चौका ५ छक्काको मदतमा ३० वलमा ६० रन जोडे । ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रन बनाए । सोमपाल कामी १३ वलमा २१ रन जोड्दै अविजीत रहे । विनोद भण्डारीले अविजीत सात रन जोड्दा आसिफ शेखले भने खाता खोल्न सकेनन् ।

भिभियन किङमा र पिटर सिलरले २–२ विकेट लिए । बास डि लिड र आर्यन दत्तले एक एक विकेट हात पारे । जवाफमा नेदरल्यान्डसले तीन वल बाँकी छँदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो । ओपनर म्याक्स डि ओडलाई संदिप लामिछानेले ब्यक्तिगत ९ रनमा आउट गर्दै नेपाललाई पहिलो सपलता दिलाएका थिए । टिमको स्कोर ६५ रन हुँदा डच टोलीले टोयिबास भिसेलाई पनि गुमायो ।

यो पटक पनि संदिपले नै विकेट हात पारे । उनी १५ रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि बास डि लिड र बेन कुपरले ६८ रनको साझेदारी गरेपछि नेदरल्यान्डस नेपाल माथि हाबी भएको थियो । कुपरले ३५ वलमा दश चौकाको मदतमा ५५ रन जोडे । उनी संदिपको वलमा आउट भएका थिए ।

लिड ८१ रनमा अविजीत रहे । उनले ४२ वलको सामना गर्दै ७ चौका र ५ छक्का हिर्काएका थिए । पिटर सिलरले १५ वलमा ३१ रनको योगदान गरे । संदिपले चार ओभरमा ४८ रन दिएर चार विकेट लिए । अभिनाश बोहरा, कुशल मल्ल र करण केसीले १–१ विकेट लिए ।

नेदरल्यान्डसले टि ट्वान्टी अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठुलो लक्ष्य पुरा गरेको हो । 

ताजा खबर