आईपिएल:  दिल्लीसँग मुम्बई पराजित

२०७८ बैशाख ८ बुधबार १०:५९:०० मा प्रकाशित

चेन्नाई । इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बइ इन्डियन्स माथि ६ विकेटको जीत हात पारेको छ । दिल्लीको जीतमा शिखर धवन र अमित मिश्र नायक सावित भए । 

चेन्नाइमा टस जितेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ९ विकेटको नोक्सानीमा एक सय ३७ रनको सामान्य  योगफल बनाएको थियो । रोहित शर्माले ४४, इशान किसनले २६, सुर्यकुमार यादवले २४ र जयन्त यादवले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो रन छुन सकेनन् । 

क्विन्टन डि कक मात्र २ रनमा पवेलियन फर्किए । हार्दिक पान्डेयाले खाता खोल्न सकेनन् भने क्रुनाल पान्डे १ रनमा आउट भए । काइरोन पोलार्ड २ रनमा पभेलियन फर्किए । मुम्बइ इनिडयन्सलाइ सामान्य रनमा रोक्ने क्रममा अमित मिश्रले ४ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिए । आभेस खानले २ तथा मार्कस स्टोनिस, कागिसो राबडा र ललित यादवले १–१ विकेट लिए । जवाफमा दिल्लीले १९ ओभर १ वलमा ४ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

दिल्लीले खराब सुरुवात गरेको थियो । पृथ्बी शं मात्र ७ रनमा मैदान बाहिरिएका थिए । तर धवनले ४५ रनको पारी खेल्दै दिल्लीलाइ जीत तर्फ अघि बढाए । ४२ वल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । धवनलाइ स्टिभन स्मिथ र ललित यादवले पनि वलियो साथ दिए । स्मिथले ३३ र ललितले अविजीत २२ रन जोडे । सिमरन हिटमायर १४ रनमा अविजीत रहे । जयन्त यादव, जस्प्रित बुमराह, राहुल चाहर र पोलार्डले १–१ विकेट लिए ।

जीतपछि दिल्ली चार खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि रन रेटका आधारमा अघि रहदै रोयल च्यालेन्जर्स बैङलोर शीर्ष स्थानमा छ । तर उसले दिल्ली भन्दा एक खेल कम खेलेको छ । मुम्बइको यो चार खेलमा दोस्रो हार हो । 

ताजा खबर