आईपिएल:  चेन्नाई सुपरकिंग्सको विजय यात्रा

२०७८ बैशाख ७ मंगलबार ११:०७:०० मा प्रकाशित

चेन्नाई । इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जीत हात पारेको छ । चेन्नाईले राजस्थान रोयल्स माथि ४५ रनको जीत हात पारेको हो ।

मुम्बइस्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको पारीमा प्राय सवै खेलाडीले योगदान गरे । 

फाप डु प्लेसीले सर्वाधिक ३३ रन जोडे । अम्बाती रायडुले २७, मोइन अलीले २६, सुरेश रैनाले १८, ऋतुराज गायकवाडले १० र कप्तान महेन्द्र ंिसंह धोनीले १८ रन बनाएका थिए । साम करणले ६ वलमा १३ रन बनाउँदा डवेन ब्राभो ८ वलमा २० रन जोड्दै अविजीत रहे । चेतन साकरियाले ३ र क्रिस मोरिसले २ विकेट लिए । 

जवाफमा राजस्थानले २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो । उसका लागि जस बटलरले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । मनन बोहरालाई १४ र संजु सामसनलाई १ रनमा साम करणले आउट गरेपछि राजस्थान कमजोर बनेको थियो । शिभम दुबेले १७ र राहुल तेवटियाले २० र जयदेव उनादकदले २४  रन बनाएपनि जीतका लागि पर्याप्त भएन । डेविड मिल्लर २ रनमा पवेलियन फर्किए । क्रिस मोरिसले खाता खोल्न सकेनन् ।

राजस्थानलाई सस्तैमा समेट्दे क्रममा मोइन अलीले ३ ओभरमा मात्र ७ रन खर्चिएर ३ विकेट लिए । रविन्द्र जडेजा र करणले २–२ तथा सर्दुल ठाकुर र ब्राभोले १–१ विकेट बाडे । चेन्नाइको तीन खेलमा यो दोस्रो जीत हो । 

राजस्थानले तीन खेलमा एकमा मात्र जीत हात पारेको छ । धोनीले यसै खेल मार्फत चेन्नाईको कप्तानका रुपमा आइपिएलमा दुइ सय खेल पुरा गरेका छन् । उनी कुनैपनि फ्रेन्चाइज टिमका लागि कप्तानका रुपमा दुइ सय खेल खेल्ने पहिलो खेलाडी हुन् । 

ताजा खबर