टि ट्वान्टी: दोस्रो जित पनि नेपालकै 

२०७८ बैशाख ६ सोमबार १६:४८:०० मा प्रकाशित

 काठमाडौं । नेपालले त्रिकोणत्मक टि ट्वान्टी सिरिजमा लगातार दोस्रो जीत हात पारेको छ । आज सोमबार भएको खेलमा नेपालले मलेसिया माथि ९ विकेटको प्रभावशाली जीत हात पार्यो । आजपनि नेपालले वलिङ र ब्याटिङ दुवै तर्फ उत्कृष्ट प्रदर्शन गर्यो । कुशल भुर्तेलले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे ।

टियु मैदानमा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर ५ वलमा १ सय ९ रनमा अल आउट भएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसियाका ब्याट्सम्याने खुलेर खेल्न सकेनन् । करण केसीले ३ ओभरमा मात्र १७ रन दिएर ३ विकेट लिए । संदिप लामिछानेले २, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल , साहव आलम र सोमपाल कामीले १–१ विकेट हात पारे । मलेसियाका लागि साइद अजिजले सर्वाधिक २७ रन बनाएका थिए । श्रभिन मुनिएन्डीले २०, साकिफ सारिफले १५ रन जोडे । बाँकी ८ खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जवाफमा नेपालले १२ ओभर १ वलमा मात्र एक विकेटको क्षतीमा पुरा गर्यो । आजपनि ओपनर लागि कुशल र आशिफले उत्कृष्ट सुरुवात दिलाए । यी दुइले पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । आशिफ ११ दशमबल १ ओभरमा ब्यक्तिगत ४२ रनमा विरनदिप सिंहको वलमा क्याच आउट भए । आशिफले २९ वल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए । 

कुशल ६१ रनमा अविजीत रहे । उनले २६ रनमा अर्धशतक पुरा गरेका थिए । टि ट्वान्टी अन्तराष्ट्रियमा लगातार दोस्रो अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी हुन् । ४१ वल खेल्दै कुशलले ३ चौका र ५ छक्का हिर्काए  दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजीत रहे । उनले अनवर रहमानलाई चौका प्रहार गर्दै नेपालको जीत सुनिशच गराएका थिए । 

नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्डसलाइ हराएको थियो । मलेसियाको यो लगातार दोस्रो हार हो । 

ताजा खबर