भाईरस संक्रमणबाट बच्न यी हुन् महत्वपूर्ण उपाय

२०७८ बैशाख ६ सोमबार १४:५२:०० मा प्रकाशित

मानिसलाई कुनैपनि स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिनका लागि आवश्यक हुन्छ सरसफाइ । सरसफाइमा सबैभन्दा मुख्य भनेको हात हो । हातको प्रयोगले नै हामीमा रोगले सजिलै आक्रमण गर्ने गर्छ । हात मानिसको एक यस्तो अंग हो, जुन सबैभन्दा धेरै प्रयोगमा आउने गर्छ । हातको सहयोगले विभिन्न कामहरु हुने  गर्छ ।

खाना खानेदेखि ढोका खोल्ने, जुत्ता लगाउने, किताब छुने, पेनले लेख्दा, लुगा लगाउँदा, गाडी चढ्दा जस्ता अनेक सानादेखि ठूला काममा हात नै प्रयोग हुन्छ । त्यसकारण हातलाई सफा राख्यौं भने हामी ९० प्रतिशतसम्म स्वस्थ रहन सक्छौं । किनकी त्यही हात यदि हाम्रो मुखमा गयो र हामीले खाना खायौं भने हामी बिरामी हुन्छौ । त्यसकारण स्वस्थ रहनका लागि हात सफा हुनु सबैभन्दा बढी आवश्यक हुन्छ ।

पछिल्लो समय कोरोना महामारीका कारण मानिसहरु हातको सरसफाइलाई लिएर निकै नै सचेत बनेका छन् । हातको माध्यमबाट कोरोना संक्रमण हुन सक्छ भनेर विज्ञहरुले भन्न थालेपछि मानिसहरुमा हात धुने बानीको विकास मात्रै भएन अहिले आएर त हात धुने परम्परा नै बनिसकेको छ । हात धोएर मात्रै घरभित्र पस्ने, हात धोएर मात्रै केहि छुने वा खाने अथवा कुनै काम गर्ने बानी नै परिसकेको छ ।

जुन राम्रो कुरा हो हाम्रो स्वास्थ्यका लागि । कुनैपनि रोगको संक्रमणबाट जोगिनका लागि पटक पटक हातधुने र ह्यान्ड स्यानिटाइज गर्नु पर्छ भन्ने सल्लाह दिने गरिन्छ । तर, पछिल्लो समय हात धुनुको साटो स्यानिटाइजरको प्रयोग गर्ने क्रम बढेको छ भने विज्ञहरुका अनुसार हातको सफाईका लागि स्यानिटाइजरभन्दा बढी उपयुक्त सँधै साबुन पानीको प्रयोग नै उचित हुन्छ ।

अमेरिकाको सीमन्स यूनिभर्सिटीको होम एन्ड कम्युनिटी हाइजीन प्रोफेसर एलिजाबेथ स्कटका अनुसार साबुन र पानीले हात धोएपछि सफा कपडाले पुछ्नु नै सबैभन्दा बढी उचित हुन्छ । साबुन पानीले हात धुनाले किटाणु र भाइरसलाई नष्ट गर्छ । साबुनले हात धोएपछि छाला सुक्खा हुन्छ र त्यसले हातमा किटाणु आउन दिँदैन र मानिसहरु बिरामी हुने सम्भावना पनि कम भएर जान्छ ।

स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालका ७० प्रतिशत मानिसलाई हात धुने उचित तरिकाबारे थाहै थिएन भने झन्डै २ महिना अघि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययन अनुसार नेपालका ८० प्रतिशत मानिसले हात धुन जानिसकेका छन् भने २० प्रतिशतले अझै उचित तरिकाले हात धुन जानेका छैनन् । हात धुँदा पनि साबुनको प्रयोग पछिल्लो समय बढ्दो छ । कोरोना महामारीका कारण हात धुने बानीको विकास उल्लेख्य रुपमा भएपनि स्यानिटाइजर र साबुनको बहस सँधै जारी रहन्छ ।

जनरल फिजिसियन डा दिपेश शाक्यका अनुसार साबुनले हात धुनुको फाइदा भनेको साबुनले किटाणुलाई तुरुन्त मार्ने काम गर्छ । साह्रो साबुनको सट्टा झोलिलो साबुनजन्य पदार्थ बढी फाइदाजनक हुने गरेको उनको भनाइ छ । खोक्दा र हाच्छ्यूँ गर्दा मुखबाट निस्कने छिटाहरुले कुनैपनि प्रकारको सतह या सामानमा घन्टौंसम्म रहिरहन्छ र हातको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ । साबुनले रोगजन्य किटाणुको प्रभावलाई नष्ट गर्नमा मद्दत गर्छ जसले मानिसलाई संक्रमित गर्ने क्षमता कम भएर जान्छ ।

साबुनमा एम्फीफाइल्स नामक पदार्थ हुन्छ जसले भाइरसलाई निष्क्रिय बनाउने काम गर्छ । डा शाक्यका अनुसार साबुनको प्रयोगका लागि सार्वजनिक स्थानमा राख्नु उचित हुँदैन । किनकी एक जनाले हात धोइसकेपछि त्यहि साबुन अरुले प्रयोग गर्दा उसमा संक्रमणको जोखिम उच्च हुन्छ ।

त्यसकारण साबुनलाई घरको प्रयोगका लागि राख्नुपर्छ भने सार्वजनिक स्थानमा झोलिलो साबुन राख्नु उचित हुन्छ । साथै छालामा एलर्जी हुने व्यक्तिले छुट्टै साबुनको प्रयोग गर्नु हुन्छ । हात धुने र नुहाउने प्रयोजनका साबुनलाई पनि अलग राख्नुपर्छ ।

डा शाक्यले मानिसले दिनभरमा सबैभन्दा धेरै मोबाइल, कम्प्युटरको माउस, किबोर्ड, चर्पी र कोठाहरुको झ्याल ढोका, ढोकाको ह्यान्डल, एक अर्काले हात मिलाउने, खल्ती, पैसा लगायतका सामग्री र स्थानहरु छुने गरेको र यस्ता चिजबस्तुलाई छोइ राख्दा त्यसमा भएका किटाणु सजिलै मानिसको छालासँग सम्पर्कमा आएर संक्रमण गर्न सक्ने बताउँछन् ।

डा शाक्य भन्छन्, ‘स्यानिटाइजरको प्रयोग हामीले साबुन पानीको व्यवस्था नभएको अवस्थामा मात्रै गर्नु उचित हुन्छ । ६२ प्रतिशत अल्कोहलयुक्त स्यानिटाइजरले लिपिड मेम्ब्रेनलाई नष्ट गर्छ तर यो नोरोभाइरस र राइनोभाइरस जस्ता नन एनभलप्ड भाइरसमाथि प्रभावकारी हुँदैन । साथै यो साबुनले जसरी भाइरसलाई पनि नष्ट गर्दैन ।’

डा शाक्यका अनुसार ह्यान्ड स्यानिटाइजरमा तीन कुरा हुनु आवश्यक हुन्छ अनि मात्रै त्यो प्रभावकारी हुन्छ । जस अनुसार ह्यान्ड स्यानिटाइजरमा अल्कोहलको मात्रा बढी हुनुपर्छ र त्यसलाई तपाईंको पुरै औंलाहरुमा राम्रोसँग लगाउनुपर्छ । ६० प्रतिशतभन्दा बढी अल्कोहल भएको ह्यान्ड स्यानिटााइजर हातमा लगाउनाले जलन महसुस हुनु स्वभाविक हुन्छ । स्यानिटाइजर लगाउनु भनेको तपाईंसँग साबनु पानीले हात धुने व्यवस्था नभएको बेला मात्रै हो ।

कोलम्बिया विश्वविद्यालयका इपिडिमियोलोजिस्ट स्यान्ड्रा अल्ब्रेक्टले ह्यान्ड स्यानिटाइजरका लागि तपाईंलाई स्यानिटाइजर भए पुग्छ भने साबुन पानीले हात धुनका लागि साबुका साथै पानीको पनि आवश्यकता हुन्छ । जब तपाईं घरबाट बाहिर जाँदा स्यानिटाइजरको प्रयोग उचित भएपनि सकेसम्म साबुन पानीले हात धुने प्रयास गर्नुपर्छ ।

डा शाक्यले हात धुने सहि तरिकाबारे बताउँदै भने, ‘पानी मात्रैको प्रयोग हात धुनका लागि गर्नु उपयुक्त हुँदैन । त्यसकारण किटाणुलाई मार्नका लागि साबुनको प्रयोग गर्नुपर्छ । साबुन लगाइसकेपछि कम्तिमा २० सेकेन्डसम्म हातलाई मिच्नुपर्छ । औंलाका कापहरु, नङका भाग जस्ता ठाउँलाई राम्रोसँग मिच्नुपर्छ । अनि मात्रै सफा पानीले हात पखालेर सफा सुख्खा कपडा, रुपमाल वा तौलियाको प्रयोगले हातलाई सुकाउनुपर्छ ।’

खुला र असुरक्षित रूपमा राखिएको वस्तुमा किटाणुहरू धेरै हुन्छन् । त्यसकारण यस्ता वस्तु वा ठाउँमा गएर आइसकेपछि हातधुने बानीको विकास गर्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कम्तिमा पनि १५ देखि ३० सेकेन्डसम्म सफापानी र साबुनले मिचीमिची हात धुनु पर्छ ।

 www.anmolbichar.com मा लेखिएको छ-  हात धुने उचित तरिकाबारे जानकारी नहुँदा प्रत्येक वर्ष नेपालमा ५ लाखको हाराहारीमा बालबालिकामा झाडापखाला जस्ता समस्या देखिन्थ्यो भने अहिले हात धुन जानेकै कारण यो रोग र अन्य रोगका बिरामीको संख्या पनि कमी अएको छ ।
 
 

ताजा खबर