आईपिएल: सनराइजर्स हैदराबाद हारमा हेट्रिक !

२०७८ बैशाख ५ आइतबार ०९:२१:०० मा प्रकाशित

चेन्नई । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग आइपिएलमा लगातार तेस्रो हार बेहोरेको छ । गएराती भएको खेलमा मुम्बइ इन्डियन्सले हैदराबादलाई १३ रनले पराजित गर्यो । चेन्नइमा टस जितेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो ।

क्विन्टन डि ककले सर्वाधिक ४० रन जोडे । रोहित शर्माले ३२, इशान किशनले १२, सुर्यकुमार यादवले १० रन बनाउँदा काइरन पोलार्ड ३५ रनमा अविजीत रहे । पोलार्डले २२ वल खेल्दै एक चौका र ३ छक्का प्रहार गरेका थिए । विजय शंकर र मुजिर उर रहमानले २–२ विकेट लिए । जवाफमा हैदराबाद १९ ओभर ४ वलमा १ सय ३७ रनमा अल आउट भयो । डेविड वार्नर र जोनी ब्रेस्टोले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गर्दै वलियो सुरुवात दिलाएका थिए । 

ब्रेस्टो क्रुनाल पान्डेयाको वलमा ४३ रनमा हिट विकेट भए । त्यसपछि धरासायी भएको हैदराबाद १ सय ५ रन बनाउँदा ५ विकेटको स्थितीमा पुग्यो । मनिष पान्डे २ रनमा पवेलियन फर्किए । वार्नर हार्दिक पान्डेयाको उत्कृष्ट फिल्ङिको शिकार हँुदै ३६ रनमा रन आउट भए । विराट सिंह ११ र विजय शंकर २८ रनमा आउट भए । हैदराबादलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो । हातमा दुइ विकेट थियो । तर ट्रेन्ट बोल्टले १ सय ३७ रन बनाउदा हैदराबादलाइ अल आउट गरिदिए । बोल्टले ३, राहुल चाहरले ३, जस्प्रित बुमराह र क्रुनाल पान्डेयाले १–१ विकेट लिए ।

 जारी आइपिएलमा हैदराबाद अहिले सम्म जीत हात नपार्ने एकमात्र टोली हो । पहिलो खेल हारेको मुम्बइको यो लगातार दोस्रो जीत हो ।

ताजा खबर