फुटबलर बिराजको जीवनमा अंक तीनको अर्थ 

२०७८ बैशाख ३ शुक्रबार १४:०३:०० मा प्रकाशित

‘मलाई यो सपना हो की विपना छुट्याउन गाह्रो भइरहेको छ । कहिल्यै पनि सोचेको थिईन राष्ट्रिय टिमबाट मेरो विदाइ यति शानदार रुपमा हुनेछ  । खै म यो खुशी कसरी बयान गरांै । बस म खुशी छु ।’ विराज महर्जनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्याशा लिएको भोलीपल्ट विहान भनेका शब्दहरु हुन् यी । 

विराजले शब्दमा भन्न नसकेका खुशीहरु उनको अनुहारमा देखिएका आत्मसन्तुष्टिका रेखाहरुले वर्णन गरिरहेका थिए । झन्डै १३ वर्षको राष्ट्रिय टिमको यात्रालाई विराजले  दुइ साता अघि दशरथ रंगशालामा भएको थ्रि नेशन्स कपसँगै  विश्राम दिए । घरेलु मैदान, समर्थकको न्यायो माया, थ्रि नेशन्स कपको उपाधी अनि टिममेट्सको त्यो आदरपूर्ण काँध विराजको विदाइमा देखिएका मुख्य दृश्य हुन् यी । उनी सम्मानजनक विदाइको हकदारमा पनि थिए । आफ्नो जमानाका उत्कृष्ट डिफेन्डर विराज कहिल्यै पनि विवादमा आएनन् । एउटा खेलाडीका लागि विवादरहित खेल जीवनको अन्त्य आफैंमा एक ठूलो उपलब्धि हो ।  अनुशासनमा रत्तिभर पनि नडगमगाएका विराजले आफ्नो खेल जीवनका क्रममा आएका कठिन मोडहरुलाई  हाँसेर नै पार गरे । सन्याशा पछि भेट भएका विराजले सारांशमा आफ्नो खेल जीवन बारे ब्याख्या गरे । 

नेपालको जर्सी लगाएर खेलेको अन्तिम खेल 

गत चैत १६ गते थ्रि नेशन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई दुइ एक गोलले पराजित गर्दै उपाधी जितेको थियो । विराज खेलको अन्तिम मिनेट अर्थात ९० औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरे । इन्जुरी समय ६ मिनेट थपिएको थियो । रेफ्रिले खेल सकिएको संकेत गर्दै सिठ्ठी फुकेपछि विराज मैदानमा लडे । खेल सकिए लगत्तै किन लड्नु भयो तपाईं ? विराजले आफु लड्नुको पछाडिको कारण यसरी सुनाए– ‘हामी पहिलो हाफमा दुइ शून्यले अघि थियौं । मलाई थाहा थियो प्रशिक्षक बालगोपाल महर्जनले मलाई खेलको अन्तिम समयतिर मैदान पठाउँछन् । म मैदान प्रवेश गर्नु भन्दा सात मिनेट अघि नेपालले गोल खायो । सोच्दै नसोचेको गोल खान पुग्यो । फुटवलमा दुइ एकको अन्तर ठूलो होइन । मलाइ के डर थियो भने बंगलादेशले खेल बराबरी गर्छ कि । किनकी क्लबबाट खेल्दा धेरै पटक अग्रता लिएर पनि बराबरी पछि पेनाल्टीमा हारेर प्रतियोगिताबाट बाहिरिएको अनुभव छ  मसँग । त्यसैले म हारेर विदा हुन चाहन्न थिएँ । म जीतका साथ राष्ट्रिय झण्डा अंकित मेरो जर्सी थन्क्याउन चाहन्थे । त्यसैले जब खेल सकियो म भावुक भएँ । नेपालले खेल जित्यो, उपाधी उचाल्यो, नेपाली फुटवलले जित्यो अनि मेरो सन्याशा,  मेरो खेल  जीवन सफल भएको महसुस गरें । मैले अलि कति रंगशालाको घाँस पनि टोकें । त्यो क्षणका बारेमा म महसुस मात्र गर्न सक्छु तर वर्णन गर्न सक्दिन ।'

विराज मैदान प्रवेश गर्दा कप्तान किरण चेम्जोङले आफुले लगाएको आर्म ब्यान्ड दिए । रोहित चन्दले विराजलाई  आर्म ब्यान्ड लगाइदिएका थिए । मैदानमा विराज विराज नाम गुंजिएको थियो । यो नै अन्तिम खेल हो भनेर आफुलाई विश्वास दिलाउन निकै गाह्रो भएको विराजलाई निकै गाह्रो भयो । उनी भन्छन्– मैले आफुले आफंैलाई  प्रेरित गरें । दायाँ बाँयाँ हेरे आफुसँगै खेलेका साथी कोही पनि त छैनन् भरत र किरण बाहेक । त्यसैले मैले दुःख मान्नु हुन्न भन्ने लाग्यो ।’

 सवैभन्दा भावुक पल के लाग्यो त ? 

‘टिम मेट्सको साथ । उनीहरुले मलाइ एकदमै हार्दिकताका साथ मायाले विदाइ गरे । म बोक्छु म बोक्छु भन्दै भाइहरुले काँधमा राखेर रंगशाला वरिपरी घुमाए । तपाईं एकदमै मेहनती हुनुहुन्छ दाई, जीवनको अर्को पाटोमा पनि तपाईं उत्तिकै सफल बन्नु हुनेछ भन्दै शुभकामना दिए । तपाईं त हाम्रो प्रेरणा हो भन्दा मन छोयो । गार्ड अफ  अनर प्रदान गरे । मैले कहिल्यै प्रत्यक्ष रुपमा गार्ड अफ अनर देखेको थिएन । आफ्नै लागि त्यो सम्मान पाएँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विराजलाई सन्याशको कोर्ट लगाइदिएका थिए । 

संयाशको निर्णय 

सन्याशको निर्णय कुनैपनि खेलाडीका लागि सहज हुँदैन । आफुले जीवनमा सवैभन्दा बढी मन पराएको चिजबाट सधैंका लागि टाढा जान कसलाई पो मन हुन्छ र । तर डेब्यु गरेकै दिन थाहा हुन्छ एकदिन सन्याश लिनु पर्छ । विराज मानसिक रुपमा तयार थिए सन्याशका लागि । तर थ्रि नेशन्समै सन्याश लिन्छु भन्ने चाहीं लागेको थिएन । उनले अकस्मात लिएको निर्णय हो यो । विश्वकप छनोट अन्तर्गत नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग घरेलु मैदानमा खेल्ने तालिका थियो । विराजले छनोट खेल खेल्दै राष्ट्रिय टिमबाट विदा लिने सोच बनाएका थिए । तर कोरोना भाइरसका कारण नेपालमा हुने खेलहरु स्थगित भए । हुने नहुने पनि टुंगो भएन । विराजलाई घरेलु मैदानमै सन्याश लिनु थियो । त्यसैले थ्रि नेशन्स कप नै उपयुक्त समय हो भन्ने लागेर सन्याश लिने निर्णय गरेको विराजले सुनाए । प्रतियोगिता सुरु भएको एकदिन अघि मात्र विराजले सन्याशबारे साथीभाईहरु र एन्फालाई बताएका थिए ।  

 

त्यो दुइ वर्ष....

विराजको सफलताको कथा सवैलाई थाहा छ । फुटवलमा उनले हासिल गरेका उपलब्धिहरु जो कोहीले वयान गर्न सक्छन् । तर विराजलाई मात्र थाहा छ वितेको दुइ वर्ष उनले महसुस गरेको पिडा । त्यो दुइ वर्ष आफ्नो जीवनको कठिन समय भएको सुनाउँछन विराज । अरुले कसरी लिए मलाइ थाहा छैन । तर मेरा लागि .. लामो सास फेरे अनि सुनाए त्यो कालो पाटोको बारेमा । सन २०१९ मा नेपालले मलेसिया विरुद्ध मैत्रीपूर्ण फुटवल खेल खेलेको थियो । थ्रि नेशन्स भन्दा अघि राष्ट्रिय टिममा भएक खेल त्यहि हो विराजको  । मलेसियासँगको त्यो खेलपछि विराजले सोच्दै नसोचेको परिस्थितिको सामना गरे । त्यो वेला उनलाई कति पिडा भएको थियो भन्ने त्यसको अनुमान उनको भारी स्वरबाट लगाउन सकिन्थ्यो । उनले भने– ‘मलेसिया गएर आएपछि म अमेरिका गएँ । मैले एन्फा र सहायक प्रशिक्षक किरण श्रेष्ठलाई जानकारी गराएको थिएँ । प्रशिक्षक योहान कालिनसँग मेरो राम्रो सम्बन्ध थियो । मलेसिया अघि कुबेतसँग खेलेका दुइ खेलमा कालिनकै प्रशिक्षणमा मैले टिमको कप्तानी गरेको थिएँ । अमेरिका जाँदा प्रशिक्षक संग अनुमति नलिएको भन्ने कुरा आयो । खै म कहाँ चुकें मलाई नै थाहा छैन । आजसम्म यो प्रश्नको जवाफ मैले पाएको छैन । पछि मेरो फिटनेश छैन भन्ने कुरा आयो । मलेसियाबाट फर्किएपछि नेपालले एकपछि अर्को अन्तर्राष्टिय प्रतियोगिता खेल्यो । मलाई बन्द प्रशिक्षणमा मात्र बोलाएको भएपनि फिटनेश सुधार्ने मौका पाउँथे की । मलाइ त्यो समय एकदमै असह्य पिडा भएको थियो । धेरै रात रोएँ । फ्रस्टेसन नै भयो । तर परिवार र साथीभाइको साथले म त्यो खराब समयबाट माथि आएँ र आज यहाँ छु ।’ 

बाल्यकाल 

आठ नौ वर्षको एउटा फुच्चे केटो दाइको जर्सी र बुट लगाएर अखिल नेपाल फुटवल संघको एकेडेमीमा ट्रायल दिन पुग्यो । उ आफ्नो फुटवल खेलाडी बन्ने सपना लिएर परीक्षा दिन गएको थिएन । त्यो फुच्चे विराजलाई दाइको जर्सी लगाएर ट्रायलमा जाँदा कहा थाहा थियो र एक दिन आफ्नै जर्सी देशका हजारौं युवाले लगाएर फुटवल खेलाडी बन्ने सपना देख्छन् भनेर ।

फुटवल खेलाडी दाजुलाई रंगशालामा खेल सामग्री दिएको देखेपछि विराजको मनमा लोभ पलाएको थियो । अर्थात् फुटवल खेल्यो भने बुट, जर्सी, ट्रयाकसुट, मोजा  पाइन्छ भन्ने लाग्यो । खेलेकै कारण दाइले स्कुलमा छात्रवृत्ति पनि पाएका थिए । निःशुल्क पढ्न पायो भने बुबाको आर्थिक भार कम हुुन्छ भन्ने लागेपछि विराजले खेल्ने निर्णय गरे । उनको निर्णयमा बुबाको सपना पनि जोडिएको थियो । बुबाको सपना एउटा छोरालाई भएपनि राष्ट्रिय खेलाडी बनाउने । उनका दाजु बिक्रम त्यहि बाटोमा अघि बढीरहेका थिए । उमेर समुहमा नेपालको प्रतिनिधित्व गरिसकेका बिक्रमले स्वास्थ्यका कारण खेल जीवन अघि बढाउन सकेनन् । विराज दरशथ रंगशाला भन्दा करिब एक सय मिटर जति टाढा त्रिपुरेश्वरमा जन्मिएका हुन् । फुटवलमय वातावरणमा हुर्किएका विराजका काकाले पनि नेपालको ओलम्पिक टिमबाट खेलेका थिए । बिराजको पहिलो खेलौना नै फुटवल थियो । काठमाडौं जिल्लाबाट छनोट भएर उनी एन्फा एकेडेमीमा ट्रायल दिन पुगेका थिए । हाल राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, भरत खबास, रविन श्रेष्ठसँगै बिराज पनि एन्फा एकेडेमीमा छनोट भए । अनि नेपालले पायो एक प्रतिभावान डिफेन्डर जो विपक्षी सामु चट्टान झंै उभिरह्यो अन्तिम समय सम्म । 

 अंक ३ को संयोग 

विराजको जीवनमा तीन अंकको गज्वको संयोग छ । घरबाटै सुरु गरौं । उनीहरु तीन दाजुभाइ । ती मध्येका विराज कान्छा हुन् । उनको जर्सी नम्बर तीन । राष्ट्रिय टिमबाट तीन उपाधी । उनले बंगबन्धु गोल्डकप, सोलिडारिटी कप र १२ औं सागमा फुटवलमा स्वर्ण गरी तीन सफलता राष्ट्रिय टिमलाई दिलाए । तीन अंकसँगको विराजको सम्बन्ध यतिमै सकिँदैन । उनले तीन क्लब  मनाङ मस्र्याङदी क्लब, थ्रि  स्स्टार र मच्छिन्द्र क्लबबाट गरी तीन पटक ए डिभिजन लिग जिते । यस्तै एनआरटी, थ्रि स्टार र मनाङबाट गरी तीन पटक नै एएफसीको अन्तर्राष्टिय क्लब प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे । उनले एएफसी च्यालेन्स कप पनि तीनै पटक खेले । राष्ट्रिय टिमबाट सर्वाधिक ७३ क्याप जित्ने खेलाडी हुन् उनी । अन्तिम नम्बर पनि तीनमा नै टुगिंयो । ३० काटेपछि सन्याश घोषणा गरे । त्यसैले उनी भन्छन्–  तीन अंकले मेरो जीवनमा विषेश अर्थ राख्छ ।’ 

१८ खेलमा राष्ट्रिय टिमको कप्तानी गरेका विराजलाई लामो समय राजुकाजी शाक्यले प्रशिक्षण गराए । राष्ट्रिय टिमका पूर्व कप्तान राजुकाजीले विराजलाई एन्फा एकेडेमीमै भेटेका हुन् ।  विराजका बारे राजुकाजी भन्छन्( ‘विराज दायाँ र बाँया दुबै पोजीसनमा खेल्ने अब्बल डिफेन्डर हो । उमेर समुह देखि नै उत्ृकष्ट रहेको विराज आफुलाई सिनियर टिममा पनि उत्तिकै सशक्त रुपमा प्रस्तुत गर्यो । विराजबाट मैदान भित्र मात्र होइन मैदान बाहिर पनि धेरै कुरा सिक्न आवश्यक छ  । नयाँ पुस्ताले  विराजको जस्तो अनुशासित जीवनशैली सिक्नु पर्छ । उसले कहिल्यै पनि प्रशिक्षकले भनेको नमान्ने, नचाहिने काम गर्ने गरेन । आफ्नो आँखा अगाडि हुर्किएको खेलाडीले सन्याश लिँदा भावुक बनायो । उसको आगामी जीवन पनि सफल र राम्रो होस्, मेरो शुभकामना ।’

 विराजले कप्तानीमा अनिल गुरुङलाई रिप्लेस गरेका हुन् । विराज र अनिलले लामो समय ड्रेसिङ रुम सेयर गरेका छन् । अनिलले सन्याश लिएको दुइ वर्ष बढी भइसकेको छ । अनिलले विराजले सही समयमा सन्याश लिएको प्रतिकृया दिए । उसका लागि सवै कुरा जुरेको जस्तो भयो । एकदिन सन्याश लिनै पर्छ यस्तो सुन्दर अवसर सबै खेलाडीको जीवनमा आउँदैन । विराज भाग्यमानी हो । मेहनतकै कारण यतिका वर्ष विराजले खेल्न सकेको उनको बुझाइ छ । 

कप्तान किरण चेम्जोङले जीतका साथ विराज महर्जनको विदाइ गर्न पाउँदा खुशी लागेको बताए । 

 

अधुरो सपना

 

जतिनै सफल भएपनि केही न केही सपनाहरु अधुरो नै हुन्छन् । विराजको पनि एउटा अधुरो सपना छ । जुन आफुले खेलाडीका रुपमा पुरा गर्न सकेनन् । उनी साफ च्याम्पियनसिप जित्न चाहन्थे । तर सफल भएनन्  । साफ च्याम्पियनसिप जित्न नसक्नुको पिडा सधै उनको मनमा खड्किनै रहनेछ । उनी भन्छन्–  ‘मेरो सपंना आउने पुस्ताले पुरा गर्नेछन् ।’   
 

ताजा खबर