पूर्व राजाको महाकुम्भ स्नानः ओली, देउवा र प्रचण्डलाई बेल पाक्यो हर्ष न विस्मात् !

२०७७ चैत ३१ मंगलबार १२:१०:०० मा प्रकाशित

कोरोना प्रकोपका कारण वर्ष २०७७ हाम्रा लागि शोक र सन्तापमय रह्यो । वर्ष बित्नु ठीक दुइ दिन अघि नेपालका बहुसंख्यक हिन्दु धर्मावलम्वीका लागि एउटा अमृतमय आल्हादको खबर आयो । भारत, हरिद्वारमा आयोजित महाकुम्भ मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको उच्च सम्मान हिन्दुहरुका लागि मात्र नभइ सम्पूर्ण नेपालीकै गौरवको महाअनुष्ठान हो, जसलाई राजनीतिक रंग दिएर दृष्टि अन्दाज गर्न मिल्दैन ।

कुम्भ अर्थात् कलश या घडा । कुम्भ मेला अर्थात् अमृतले भरिएको घडा । धर्मनगरी हरिद्वारमा यसपटक नेपाल र भारतवीच धार्मिक सम्बन्धको अमृत घडा छचल्किने गरि भरिएको छ । पूर्व राजाको शाही स्नान र सम्मानले नेपाल र भारतवीचको धार्मिक सम्बन्ध पुनः आलोकित भएको छ । कांग्रेस, कम्युनिष्ट, माओबादी, राजाबादी आदि इत्यादिका किचलोभन्दा पर हरिद्वारमा हाम्रा पूर्व राजाको भव्य अभिनन्दन भएको छ । एक नेपाली नागरिक हुनुका नाताले उनको यो धार्मिक यात्राको महत्वलाई उजागर गर्नु पंक्तिकारको परमकर्तब्य भएकाले केही शब्द कुसुम अर्पण गरेको हुँ ।

हजारौं वर्ष पहिले दीर्घजिवी महर्षिहरुमार्फत् सुमीरन शक्तिबाट धर्तीमा अभिव्यक्त महान वेद र त्यसको सनातनी परम्पराको सेतुले पुनः एकपटक दुबै देशको आत्मीय सम्बन्धलाई उजागर गरेको छ । पवित्र गंगाको अविरल प्रवाह झैं वैदिक ज्ञान, परम्परा र सम्पदाको धारासँग दुबै देशका जनताको भावना मिसिन पुगेको छ । राजनीति, भूगोल, सामरिक किचलो र आर्थिक उहापोहभन्दा माथि उठेर धार्मिक सम्बन्धले कसरी मानिसहरुवीच उदात्त प्रेम, भाइचारा र सद्भावको अमृत प्रवाह गर्छ भन्ने पनि यसपालीको हरिद्वार कुम्भ मेलाले स्पष्ट गरेको छ । अतः पूर्व राजाको शाही स्नान र उच्च सम्मानलाई धार्मिक कोणबाट एउटा सार्थक अनुष्ठानका रुपमा ग्रहण गर्न कुनै पनि नेपालीले कन्जुस्याईं गर्नु हुँदैन । 

पूर्व राजा ज्ञानेन्द्रका हकमा गणतन्त्रबादी कतिपय पक्ष असम्यक पूर्वाग्रही भएको देखिन्छ । पूर्व राजाले जनताको अपार विरोधपछि सहजै नारायणहीटी दरबार त्यागेकै हुन् । विश्वका अन्य तानाशाहले जस्तो गद्दी छाड्दा उनले महानरसंहार पनि गरेनन् । २०६३ वैशाख १० मा संसद पुनस्र्थापनाको घोषणा गर्दा ‘सात दलको मार्गचित्र बमोजिम मुलुक अघि बढने’ भनेर मार्ग प्रशस्त गरेकै हुन् । वितेका पन्ध्र वर्षमा उनले राजतन्त्र फर्काउन प्रत्यक्ष धारणा या गतिविधि प्रकट गरेको पाईंदैन ।

राप्रपालगायतका राजावादीहरुले ‘राजतन्त्र चाहिन्छ’ भन्नु उनीहरुको लोकतान्त्रिक अधिकारभित्रै पर्छ । पूर्व राजाले यसबारेमा यति मात्र भनेका छन्, ‘जनताले चाहे भने राजतन्त्र पुनस्र्थापना पनि हुनसक्छ ।’ जनताले नै चाहे भने त नहुने के छ र ? अतः जनताकै चाहनामा राजतन्त्रको विषय निर्भर राखिदिने उनको कथन नाजायज पनि त हैन । 

हरिद्वार कुम्भ मेलामा उनको उपस्थितिलाई ‘राजतन्त्र फर्काउने चलखेल’ का रुपमा व्याख्या गरिनु अहिलेको अन्यौलग्रस्त र गतिरोधपूर्ण राजनीतिक परिस्थितिमा अस्वाभाविक त हैन, तर यस खालका विश्लेषण र शंका गरिरहँदा हामीले कुम्भ मेलाको विराट धार्मिक आयामलाई ओझेलमा पार्न चाहिँ मिल्दैन । राजतन्त्र फर्किने या नफर्किने पक्ष जनताको मनोदशा,  आन्तरिक र बाह्य घटनाक्रमले निर्धारण गर्ला, तर पूर्व राजाको कुम्भ यात्राले विश्वभर नेपालको धार्मिक आयामलाई अझ फराकिलो पारिदिएको छ । विश्वभर हाम्रो विशिष्ट धार्मिक सम्पदाको गौरव बढेको छ ।

 

गौरवमय क्षण 

शक्ति स्वामित्वका हिसाबले पूर्व राजाले नेपालका आमनागरिक सरह हैसियत राख्छन् । तैपनि निकट अतितसम्म उनी नेपालका ‘हिन्दु सम्राट’ थिए । विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालका राजाका रुपमा उनले वैदिक सनातन हिन्दु धर्म र संस्कारको संरक्षण गर्दै आएका थिए, संरक्षण गरिरहेकै छन् ।

राजा भनेको राजनीतिक पद हो । धर्म चाहिँ राजनीतिभन्दा माथि रहेकाले विश्वभरका हिन्दुहरुले उनलाई अहिले पनि हिन्दु सम्राट मान्नु स्वाभाविकै हो । औपचारीक रुपमा उनी ‘श्री ५’ मात्र नरहेका हुन्, यदि उनका समर्थक, शुभचिन्तक र राजावादीहरुले उनलाई अहिले पनि ‘राजा’ नै भन्छन् भने त्यसमा खासै आपत्ति जनाइरहनुपर्ने देखिँदैन । मौजुदा कानून अनुसार उनलाई औपचारीक रुपम ‘श्री ५ महाराजाधिराज’ भन्न पाईंदैन, यदि भावना र मनको दरबारमा राखेर कसैले अनौपचारिक रुपमा उनलाई ‘श्री ५’ भन्छ भने पनि लोकतन्त्रमा छुट दिनुपर्छ भन्ने उदार भाव हामीलाई पूर्वीय दर्शनले सिकाएको छ ।

पंक्तिकार अब हरिद्वार फर्कन्छ । चैत्र ३० मा पूर्व राजाले हिन्दू सम्राटका रुपमा हरिद्वारमा गंगा स्नान गरे । उनको शाही स्नान अनुष्ठान उच्च सम्मानका साथ आयोजना गरियो । भारतको हिन्दु समाजले उनलाई ‘नेपाल नरेश’कै रुपमा अभिनन्दन पनि ग¥यो । नेपालको कुनै ‘नर’लाई भारतीय समाजले यदि ‘इश’ (भगवान)कै रुपमा सम्मान गर्छ भने यसलाई हामीले अमृतमय आल्हादकै अवसरका रुपमा किन नलिने ? के भारतीय समाजले सँधै नेपालीलाई ‘कुल्ली’, ‘दरबान’, ‘बहादुर’ भनेर हेपिरहनुपर्छ भन्ने छ र ? विश्वका कुनै पनि विमानस्थलमा एशियाली अझ नेपाली भनेपछि हेप्ने गरिन्छ । विश्वले त हेप्ने नै भयो, उनीहरुलाई हाम्रो वैदिक सनातन सम्पदाबारे अझै पर्याप्त जानकारी नहोला । भारतका शासकहरुले पनि नेपालमाथि युगौंदेखि हेपाहा व्यवहार गर्दै आएको सत्य हो । तर, भारतका जनतामा नेपाल र नेपालीप्रति अपार श्रद्धा र सम्मान छ । बाबा पशुपतिनाथको देशलाई भारतीय समाजले सदा स्नेह गर्दै आएको छ । यसकै उच्च अभिव्यक्ति हो, पूर्व राजाको सम्मान । भारतको राजनीतिक र प्रशासनिक वृत्तबाट हेपिएका नेपालीको आत्मसम्मान यसबाट उँचो भएको छ । बाबा पशुपतिनाथ र बाबा विश्वनाथवीचको सम्बन्ध अझ प्रगाढ भएको छ । बाबा गोरखनाथको महिमा अझ चुलिएको छ । यही हो, अमृतमय आल्हाद ।

पूर्वराजा आफुखुशी त्यहाँ गएका हैनन्, उनलाई ससम्मान निमन्त्रणा दिइएको हो । हरिद्वारका वरिष्ठ स्वामी कैलाशानन्द गिरीले पत्र पठाएर उनलाई महाकुम्भमा सहभागी भइ गंगा स्नान गर्न मात्र हैन, भारतका ऋषि, साधु र सन्तसँग आशिर्वाद ग्रहण गरी ‘नेपालको कुशलताका लागि आशिष ग्रहण गर्न’ आग्रह गरेका थिए । नेपालको कुशलताका लागि आशिष ग्रहण गर्नु के गलत हो र ? पक्कै हैन । उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले उनको भव्य स्वागत गरे, जुन हामी सबै नेपालीको सम्मान हो ।

हरिद्वारस्थित निरञ्जनी अखाडामा महामण्डलेश्वर, मण्डलेश्वर, पिठाधीश, सन्त महन्त र साधुबाट सम्मान पाएका पूर्व राजाले कुनै राजनीतिक सम्वोधन गरेनन् । उनले हिन्दु सनातन धर्म, परम्परामाथि बाह् अतिक्रमण भएकोमा चिन्ता व्यक्त गरे, जुन यथार्थ पनि हो । उनले ‘जल, स्थल र आकाशलाई विषाक्त बनाउँदै लगिएकाले प्रदुषणयुक्त विश्वलाई अमृतमय बनाउनुपर्ने’ धारणा जुन राखे, यो पनि ग्लोबल वार्मीङका असरहरुले गाँजेको र प्रकृती दोहन तिब्र भएको विश्व सामु सार्थक सन्देश हो । उनको अभिव्यक्ति सोह«ै आना सत्य हो । हाम्रो पूर्वीय दर्शन, परम्परा, संस्कृति, सनातनी संस्कार र मान्यतामाथि भइरहेको बाह्य अतिक्रमणप्रति उनको चिन्ता जायज हो । बुद्धको देशका पूर्व राजाले बोल्ने  भाषा वैश्वीक हुनुपथ्र्यो, उनले समग्र पृथ्वीकै हित चिन्तन गरेर बोले, जसको कुम्भ मेलामा प्रशँसा पनि भयो । 

अविरल बग्दछ धर्मधारा 

भारतसँग नेपालको धार्मिक र आध्यात्मिक सम्बन्ध वैदिक रुपमा हजारौं वर्ष पुरानो हो । ऋग्वैदीक आर्यकालदेखि नै भारत र नेपालका आर्यहरुको मानव विकास क्रमको इतिहास जोडिन्छ । धार्मिक रुपमा हिमालदेखि समुद्रसम्मको भूमिवीच कुनै भेद या सीमा कोरिएन । नेपाल राष्ट्रको निर्माणपछि चाहिँ यो धार्मिक सम्बन्धमा बाबा गोरखनाथको योगदानलाई स्मरण गर्नु कुम्भ मेलाको पावन अवसरमा अपरिहार्य छ ।

भगवान शिवका अवतार मानिने बाबा गोरखनाथको आशिर्वाद पाएरै बडामहाराज पृथ्वीनारायण शाहले नेपाल एकिकरण अभियान थालेका थिए । पृथ्वीनारायण बाबा गोरखनाथका परम भक्त थिए । एक किंवदन्ती अनुसार एक रात बाबा गोरखनाथले पृथ्वीनारायण शाहलाई सपनामा दर्शन दिएछन् । गोरखनाथले दही खाएर ओकलेछन् । त्यो ओकलेको दही पृथ्वीनारायण शाहलाई खान दिएछन् । पृथ्जीनारायणलाई घिन लागेछ । तैपनि घिन मान्दै अँजुली थापेछन् । दही बडामहाराजको गोडामा पोखिएछ । अनि बाबा गोरखनाथले भनेछन्, ‘यो दही खाएको भए आधा पृथ्वीमा तिम्रो बर्चस्व हुने थियो, तर पाउमा परेको छ, अब तिम्रा यी पाउले जहाँ जहाँ टेक्नेछन्, त्यो तिम्रो अधिनमा हुनेछ ।’

बाबाबाट यही आशिर्वाद पाएर पृथ्वीनारायणले बाइसे चौबिसे राज्यमा विभक्त नेपाल एकिकरणको अभियान थालेको किंवदन्ती छ । यो आलेख मु्लतः धार्मिक पक्षमा केन्द्रित भएकाले नेपाल एकिकरणका राजनीतिक, सामाजिक र अन्य आधार एवं कारणबारे चर्चा नगरौं । धार्मिक रुपमा नेपाल एकिकरणमा बाबा गोरखनाथको योगदान पक्कै छ ।

नेपालको राजनीतिक तहले भारतसँग धार्मिक सम्बन्धलाई घनिभूत बनाएको त्यसबेलादेखि नै हो । अतः गोरखनाथ मठका मठाधीश एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र त्यहाँको हिन्दु समाजले गोरखनाथ बाबाका परमभक्त पृथ्वीनारायण शाहका वर्तमान सन्तानप्रति अनुराग, सम्मान र आदर प्रकट गर्नु भनेको पृथ्वीनारायणकै सम्मान हो, नेपालीकै सम्मान हो ।

बुद्ध नेपालमा जन्मिए, भारतमा ज्ञान प्राप्त गरे । ऋषि पाणीनीले अर्घाखाँचीको पणेनामा सँस्कृत व्याकरण लेखे, त्यसले सारा हिन्दु बाङमय जनजनमा लैजान सजिलो भयो । अयोध्याका रामले नेपालकी सीतासँग विवाह गरे, यसले दुबै देशवीच नाता सम्बन्ध कायम ग¥यो । ऋषि वशिष्ठ, बाल्मीकी, ब्यास, विश्वामित्रका गाथाले नेपाल र भारत दुबै देश समेटेका छन् । पशुपतिनाथदेखि विश्वनाथसम्म, गोसाइकुण्डदेखि गंगासम्म, मान सरोबरदेखि महाराष्ट्रसम्म, मुक्तिनाथदेखि केदारनाथसम्म, स्वयम्भुदेखि सारनाथसम्म अनि स्वर्गद्वारीदेखि हरिद्वारसम्म धार्मिक अमृत धारा बगिरहेकै छ, अविरल ।

भारतबाट आएका खप्तड बाबा, शिवपुरी बाबा, ओशो सिध्दार्थ आदिले नेपालमै आएर सिध्दि प्राप्त गरेर पूर्वी दर्शन, ध्यान, योग र प्राणायामलाई अझ विकसित गराए । नेपालको पशुपतिमा भारतीय पुजारी छन् । भारतका असंख्य मन्दिरमा नेपाली पुजारी र पण्डित हर प्रहर वेद पाठ गरिरहेका हुन्छन् ।

पाइलट बाबाको आश्रम हरिद्वारमा मात्र हैन, नेपालको भक्तपुरमा पनि छ । स्याङजाका बालकृष्ण महाराजले हरिद्वारबाटै बाबा रामदेवसँग मिलेर सारा विश्वमा वैदिक सम्पदामध्येको एक आर्युवेदको महत्व र महिमा प्रमाणित गरिदिए । पाशुपत क्षेत्र नेपालमा भगवान शिवले शुत्रपात गरेको ध्यान र योगको धारा भारतका पतञ्जली हुँदै अहिले बाबा रामदेवले बगाइरहेकै छन् । र, दुबै देशवीचको यही धार्मिक र आध्यात्मिक, पौराणिक, ऐतिहासिक सम्बन्धको साक्षीको रुपमा अविरल बगिरहेकी माता गंगामा डुबुल्की लगाउन पाउनु हरेक आस्थावानका लागि अहोभाग्य हो । 

अमृतमय आल्हाद

कुम्भ मेलामा गंगा स्नान एउटा अमृतमय आल्हादको अवसर हो । महाकुम्भ मेला हरेक १२ वर्षको अन्तरालमा आयोजना हुने गर्छ । यसको पनि पौराणिक र खगोलिय आधार छ । समुद्र मन्थनदेखि नै कुम्भ लाग्दै आएको किँबदन्ती छ । कालान्तरमा आदि शंकराचार्यले यसको व्यवस्थित प्रारम्भ गरे ।

समुद्र मन्थनबाट निस्किएको अमृतलाई देव र असुरले खोसाखोस गर्न थालेपछि चन्द्रमाले बग्नबाट बचाए । बृहस्पतिले यसलाई लुकाइदिए । शनिले इन्द्रले एक्लै हत्याउलान् भनेर बचाए । सूर्यले कलश फुट्नबाट जोगाए । भगवान विष्णुले मोहीनी रुप धारण गरेर सबै देवतालाई अमृतपान गराएको पौराणिक मान्यता छ ।

यिनै ग्रहको संयोगबाट कलशको रक्षा भएकाले यस्तो खगोलिय संयोगमा कुम्भ मेलाको आयोजना हुँदै आएको हो । समुद्र मन्थनका क्रममा प्राप्त अमृतलाई हत्याउन देव र असुरहरुवीच घम्साघम्सी पर्दा अमृत कुम्भ (अमृत कलश या घडा) बाट केही बुँद पृथ्वीमा खसे । अमृत बुँद भारतको नासिक, उज्जैन, प्रयाग र हरिद्वारमा खसेको भन्ने पौराणिक मान्यता छ । यही कारण यी ठाउँमा कुम्भ मेलाको आयोजना हुँदै आएको छ ।

बृहस्पति जब कुम्भ राशीमा र सूर्य मेष राशीमा हुन्छन्, तब हरिद्वारमा कुम्भ प्रारम्भ हुने गर्छ । यसपटक यस्तो संयोग एघार वर्षअघि नै जुर्न पुग्यो । यस हिसाबले कुम्भको ज्योतिषीय महत्व छ, जुन पश्चिमी मुलुकका ग्यालीलियोले भन्दा धेरै पहिले हामीले पत्ता लगाएको हो । ग्रह नक्षत्रको यस्तो संयोग जान्न हाम्रा ऋषि मुनीलाई कुनै हबल टेलिस्कोपको खाँचो परेन । अतः हाम्रो ज्योतिषीय सम्पदालाई पनि कुम्भ मेलाले उजागर गर्दै आएको छ ।

यो संयोगमा हरिद्वारको गंगाको पानी औषधिमय र अमृतमय हुन्छ भनिन्छ । यसले तन, मन, जीवन शुद्ध पार्छ । अमृतमय गंगामा स्नान गरेर तन, मन र जीवन शुद्ध पार्ने अनुष्ठानले विश्वमै शान्ति, सद्भाव, भाइचारा, आध्यात्मिक भाव प्रवाह गर्ने विश्वास गरिन्छ । इशापूर्व ६०० मा चिनियाँ यात्री ह्यान सेनले प्रयागमा सम्राट हर्षबर्धनद्वारा आयोजित कुम्भ मेलामा स्नान गरेको इतिहासले पनि स्पष्ट गर्छ, कुम्भ स्नानको महिमा ।

पूर्व राजाको कुम्भ स्नानलाई राजनीतिक रंग दिएर प्राप्त गौरवको अवमूल्यन गर्नुको साटो बरु बेस हुन्थ्यो, दुइ तिहाइ बहुमत जोगाउन नसक्ने र चुनावी बाचा अनुसार डेलिभरी दिन नसक्ने प्रधानमन्त्री केपी ओली, प्रतिगामी भनिसकेपछि ओलीलाई दिएको समर्थन फिर्ता लिन नसक्ने प्रचण्ड, सत्तापक्षसँग स्वार्थको सिण्डीकेट कायम  गर्नमै रमाउने शेरबहादुर देउवा आदिले यसपाली कुम्भ स्नान गरेको भए । यी नेताले अमृत र औषधिमय गंगामा डुबुल्की लगाएका भए यिनका हालसम्मका पाप पखालिने थिए, जनताप्रति उत्तरदायित्व हुने पवित्र भाव मनमा जाग्ने थियो । 


 

ताजा खबर