विसंगति विरूद्ध आगो ओकल्ने युवा नेतृत्व चाहियो

२०७७ चैत ३० सोमबार १६:४४:०० मा प्रकाशित

१. नेपालको  समस्या न भारत हो न अमेरिका हो, न चीन हो ! नेपालमा आफ्नो राष्ट्रिय हितको रक्षा गर्ने नीति  र रणनीति उनीहरूले अवलम्वन गर्दछन् । गर्नै  पर्दछ । नगरे उनीहरूले आफ्नो पदीय जिम्मेवारी प्रति न्यायगरेको र निष्ठा प्रमाणित गरेको बुझिन्न ! त्यो अनुचित र दण्डनीय बन्न जान्छ ।

उनीहरूसँगको सम्बन्धमा  नेपालको राष्ट्रिय हित हेर्ने काम नेपालको हो । नेपालको सरकार, संसद, राजनीतिक नेतृत्वहरूको हो । उनीहरूले बुझ्नु पर्दछ नेपालको हित । नेपालको सरकार, संसद र राजनीतिक नेतृत्वले  नबुझेको नेपालको राष्ट्रिय हित भारत, अमेरिका, चीन र बेलायतले बुझेनन् भनेर हामी उनीहरूलाई  दोषी मान्छौं । त्यो हाम्रो कायरता हो । हामी कायर रह्यौँ, हाम्रो नेतृत्व कायर रह्यो र हामीलाई कायर बनाएर राखिरह्यो । हामीलाई कायरता प्रिय लाग्यो र कायर  बनिरह्यौ ! कायर बन्न रमाइलो मानिरह्यौं ! आफ्ना नेताहरूको र आफ्ना सरकारहरूको निर्लज्ज कायरताको लागि भारत, अमेरिका, बेलायत, चीनलाई दोषी देखाएर उआपÞm्ना सरकार र नेताहरूमाथि गङ्गा जल छर्की रह्यौँ !

२. जबकि नेपालको समस्या नै नेपालका राजनीतिक दलहरू हुन्। नेपाल सरकार हो ! सरकारी अङ्गहरू हुन् !  तर यिनीहरूसँग आफ्ना लागि, आफ्ना सुख सुविधा र भविष्यका लागि मात्रै सोच र योजनारहेको देखिइरहेको छ । लाग्दछ, मुलुक यिनीहरूको सोच, दृष्टि र प्राथमिकतामा छँदैछैन ! उनीहरू– यिनीहरूले इमान्दारीता पूर्णढङ्गले सोचिदिएको भए मात्रै पनि मुलुक अर्कै हुन्थ्यो ! मुलुकले अर्कै बाटो हिँडेको हुन्थ्यो ! तर हामी  हाम्रा हरेक अभावको लागि हामी निर्धक्कसँग भारत अमेरिका आदि मुलुकलाई सरापेर बस्छौँ ।

भारत, अमेरिका, बेलायत आदि  मुलुकले हेरिदिए हाम्रो हित हुने नहेरे नहुने भए हामी कसरी स्वतन्त्र र सार्वभौम मुलुक ? अनि किन  चाहिए  यी  सरकार, संसद, सेना र राजनीतिक दलहरू ? यिनीहरूको उपस्थिति र अस्तित्वको औचित्य के ? 

३. वृहत राष्ट्रिय हितका सवालमा एउटाको गल्ती, अभाव र कमजोरीलाई हटाउन, सच्याउन र एक अर्कोलाई परस्पर सन्तुलनमा राख्न यिनीहरूलाई राज्यले ठूलो लगानी गरेर पालेर राखेको हुन्छ । राष्ट्रिय हित र सुरक्षाका सवालमा धेरै मुलुकका संसदले आफैँ अध्ययन र अनुषन्धान गरेको हुन्छ । आफ्नो लागि काम गर्ने  सहयोगी संरचनाहरू निर्माण गरेकोहुन्छ, थिङ्क ट्यांक बनाउँछ, तिनलाई बजेट उपलव्ध गराउँछ र आफ्ना लागि प्रतिवेदन तयार गराउँछ ! सेनाले त्यसै गर्दछ, गराउँछ ! तर हामी कहाँ ? 
 
४. राणा  हटाएको ७० वर्ष पुग्यो । पंचायत फालेको र राजाको सवै अधिकार खोसेर दलहरूले शासन गरेको पनि तीन दशक भइसक्यो ! वास्तविकरूपमा राजा हटाएको पनि  डेढ दशक भइसक्यो ! पाँच हजार वर्ष पुरानो मुलुक भनेर गुड्डी हाक्ने ! कहिल्यै उपनिवेश नरहेको, पराधीन नभएको, सधैँ स्वतन्त्र मुलुक भनेर नथाक्ने तर हामी सँगै अस्तित्वमा आएका बेलायत, फ्रान्स, जापान, चीन त्यहाँ पुग्दा हामी ??? 

अमेरिका स्वतन्त्र हुनु अघि आधुनिक स्वरूपमा अस्तित्वमा आइसकेको मुलुक नेपाल ! युरोपका सवैभन्दा सुखी र समृद्ध भनेर चिनिने नर्वे, डेनमार्क आदि मुलुकका मानिस जंगलमा, गुफा कन्दराहरूमा बस्दैगर्दा विकसित सहरी जीवन बाँच्न थालिसकेको नेपाल किन यो हालतमा छ ? युद्धबाट क्षत विक्षत जापान र  कोरिया २०–३० वर्षमै उन्नतिको शिखरमा पुगेका हुन् ! त्यति नै अवधिमा एउटा सम्भावानाहीन र पछौटे माझी बस्तीको र काठमाडौँ  उपत्यका  भन्दा  सानो सिङ्गापुर दक्षिण पूर्ब एसियाको महत्वपूर्ण  आर्थिक  र सैनिक शक्ति बन्यो । सत्र सालमा राजा महेन्द्रले हातमा सत्ता र शक्ति केन्द्रित गरेताका स्वतन्त्र भएको र तत्कालीन  नेपालसँग तुलना गर्दा नेपाल भन्दा सवै आधारमा निकै पछिको तुलना गर्नै नसकिने बोत्सवाना आज नेपाल भन्दा धेरै माथि छ ।

५. अस्ती भर्खर स्वतन्त्र भएको र समस्या नै समस्याले जेलिएको, सैनिक शासन र  हिँसाग्रस्त अव्यवस्थित प्रजातन्त्र वीच जेलिदै आएको गरीव, तन्नम बंगलादेश  आज एउटा उदीयमान, सशक्त  र भरोसालाग्दो आर्थिक शक्ति बनिसकेको छ । अमेरिकाले नेपाल र बङ्गलादेश लगायतका गरीव मुलुकहरूलाई सहयोग गर्ने उद्देस्यले तयारी कपडा निर्यातको विशेष सुविधा दियो । त्यो सुविधालाई उपयोग गरेर बंगलादेश, भियतनाम आदि मुलुकहरू विश्वकै उम्दा तयारी  कपडा उत्पादक राष्ट्र बनिसके , आफ्नो अर्थतन्त्रलाई माथि उकासे ! 

 नेपाल ?

नेपालले छ दशक भन्दा अघि शाही नेपाल वायु सेवा निगम स्थापना गर्दा आज विश्वको चर्चित वायु सेवा कम्पनी थाई एयरवेज स्थापना नै भएको थिएन । कतार एयरवेज लगायत आजका चर्चित र विश्व भर सेवा प्रदान गर्ने  एयरलाइन्सहरू  तीन दशकअघि मात्रै स्थापना भएका हुन् । अस्ती एक्काइसौँ सताव्दी शुरू हुनु अघिसम्म जापान, बेलायत, फ्रान्स, जर्मनीसम्म नियमित उडानमा जान्थे शाही नेपाल वायु सेवा निगम विमान । भरपर्दो उडान र यात्रु सेवा उत्कृष्ट थियो, विश्व भरका पर्यटकहरूको प्राथमिकतामा थियो !

आज ???

६. हो गर्न सक्ने, गर्न सकिने जति राजाहरूले पनि गरेनन् ! दलहरू त झन् पत्रु भए ! मिडिया, वौद्धिक र पेशागत क्षेत्र पत्रुका पनि  पत्रु ! सुरक्षा क्षेत्रले आफ्नो पहिचान नै मासिसकेको छ । निरंकुश शासनले पनि  मुलुकलाई केही ठोस दिएको हुन्छ, आधार र संरचना दिएको हुन्छ !

अपवाद बाहेक आजका सवै समृद्ध र विकसित मुलुकहरूको विकास, समृद्धिको बलियो पूर्वाधार निरङ्कुश र स्वेच्छाचारी शासनहरुले नै निर्माण गरेका हुन् । प्रजातन्त्रले त झन् दिने नै भयो ! जनतालाई दिने व्यवस्थाको नाऊँ हो प्रजातन्त्र ! जनता लुट्ने, उनीहरूको  मान मर्दन गर्ने र उनीहरूलाई मुलुक र मुलुकका उपलव्धि र सम्भावना बारे निराश, हताश र लज्जित बनाउने व्यवस्था होइन प्रजातन्त्र उर्फ लोकतन्त्र ! निष्कर्षमा निरङ्कुश शासनको लाभ पनि हामीले पाएनौ ! न प्रजातान्त्रिक र लोकतान्त्रिक शासनले दिने न्यूनतम लाभ नै पायौँ !

७. विगतलाई मात्रै सराप्ने, आफ्ना सवै दोष, अभाव, कमी, कमजोरीको लागि भारत, अमेरिका, बेलायत आदि मुलुकलाई जिम्मेवार बनाएर आफू उम्किने, चोखो देखिने कायरता बोकेको नेपाली राजनीति र यिनका पछुवा सेवक शक्तिले यो देश बनाउने  र देश  बचाउने क्षमता राख्दैनन् ! यिनको व्यवहारबाट बारम्बार देखिन्छ, बुझिन्छ । लज्जाका साथ अनुभव हुन्छ– नेपाल हाम्रो आन्तरिक उर्जा र क्षमताले नभएर, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको भरमा मात्र बाँचेको हो ! राष्ट्रको आत्मालाई  नै हत्या गरिसकेका छन् छन्  यिनीहरूले  ! 

यिनलाई बसीबसी  खानका लागि,आफ्नो पद र सुविधा टिकाउनका  लागि, जनताको नाउँमा मोज मस्ती गर्न र त्यसलाई दीगो बनाउनका लागि जनतामाथि भार बनेर भार बनाएर खडा गरिएका तह तहका सरकार, तह तहका संरचना र दलहरू आज यो मुलुक र जनताकालागि कहर बनेका छन् ! दुर्भाग्य बनेका छन् !

अनि आफू माथि जनताको आक्रोश पैदा नहोस् भन्ने उद्देश्यले  जनस्तरमा भारत र अमेरिकाविरूद्ध  भ्रम र घृणा फैलाउने र निजी र गोप्य स्तरमा भारत र अमेरिकासँग साँठ गाँठ गर्ने चरम कायरता हामीले प्रदर्शन गरिरहेका छौँ  ! 


८. अर्को कुनै देशको कृपामा जन्मिएको राष्ट्र होइन नेपाल ! उनीहरू विरूद्ध लडेर, आफ्नो एकीकरण आरम्भ गरेको हो नेपालले ! उनीहरू विरूद्ध लड्यो, कहिले जित्यो, कहिले हार्यो ! सम्झौता गर्यो, सन्धि गर्यो ! दुनियाँको रीत भनेकै या लडेर मुलुकको शान र मान राख ! या कूटनीतिक कौशल प्रदर्शन गरेर आफ्ना हितहरूको रक्षा गर्दै उन्नत र सुरक्षित नेपालको आधार निर्माण गर ! तर कायरतापूर्वक आफ्ना असक्षमता, अभाव र पापहरूलाई अरूको थाप्लामा हालेर चोखो बन्न नखोज !

९. अहिले राजनीतिमा देखिएको पुरानो पुस्ताबाट कहीँ कतै आश गर्ने ठाउँ देखिन्न ! राजनीतिमा  रहेको र देखिएको नयाँ पुस्तासँग पुरानो पुस्ताको जस्तो त्याग र वलिदानको इतिहास त स्वाभाविक रूपमा छैन नै । तर पुरानो पुस्ताका अभाव, कमी र कमजोरी भन्दा कैयौँ गुणा बढी त्यस्ता अभाव, कमी र कमजोरीहरू नयाँ पुस्तामा बढी विस्तारित भएर टाँस्सिएका देखिन्छन् । त्यसलाई नै उनीहरूले आफ्नो व्यक्तित्व बनाएका पाइन्छन् !

इतिहास बोकेका पुराना पुस्ताको विकल्प बन्न त नयाँ पुस्ताले पुराना पुस्ताको भन्दा धेरै बढी योग्यता, क्षमता र निष्ठा प्रदर्शन गर्न सक्नु पर्दछ ! त्याग र बलिदानको इतिहास नभएका तर लोभ, पाप र क्षुद्रतामा पुरानो पुस्तालाई उछिन्ने राजनीतिको मैदानमा रहेका नयाँ पुस्ताबाट पनि आशा गर्ने ठाउँ देखिन्न ।

१०. तर फेरी विकल्प त नयाँ पुस्ता नै हो ! मुलुकको भविष्य उनीहरू नै हुन् ! देश त उनीहरुकै जिम्मामा जान्छ ! जानै पर्दछ ! देशको जिम्मा उनीहरूले नै लिनुपर्दछ । विकल्पहीन अवस्था हो त्यो । 

तर विकल्प दिने बाटो विभिन्न मुलुकले देखाएका छन् ।  भारतको परम्परागत राजनीतिक धारलाई चिरेर, पछाडि पारेर नरेन्द्र मोदी आए ! एउटा प्रान्तका मुख्यमन्त्रीबाट एकैचोटी भारतको प्रधानमन्त्री  बन्न पुगे । अमित शाह    आए ! विशाल भारतका अनगिन्ती विशाल समस्या र चुनौती माझ भारतमा नयाँ विश्वास जगाए ! केजरीवाल त झन् नयाँ ढङ्गले आए, विलक्षण काम गरिरहेका छन् !

अमेरिकामा बाराक ओबामा मार्फत नवीन अमेरिकाको छवि प्रस्तुत भयो ! युरोपका कतिपय मुलुक र न्युजिल्यान्ड लगायतका देशहरूको कुरा छोडौं । पाकिस्तानमा इमरान खानपनि उत्तर हुन् नेपाल लगायत धेरै मुलुकका लागि !

पुराना दलले नयाँ नेतृत्व चयन गरेर पनि सम्भावनाका नयाँ ढोका खोले भने कतै नयाँ दल र नयाँ नेतृत्व चयन गरेर पनि मुलुकहरू नयाँ गन्तव्यमा छन् ।

वर्तमान राजनीतिसँग, साविकका  राजनीतिक दल र युवा र पाका पुस्ताका राजनीतिक व्यक्तिहरूले आजका नयाँ पुस्ताका युवाहरू, स्मार्ट युग र कालका युवाहरूका उर्जालाई, सपनालाई, आशा र विश्वासलाई, इमान र चरित्र भएका साहसी र बहादुर अनि स्पष्ट भविष्य दृष्टि भएका सक्षम नेतृत्वको खोजीमा छन् !

देशले त्यो नेतृत्व दिएन भने आफ्नो पुस्ताको नेतृत्व खोज्न  उनीहरू भारत, बेलायत, अमेरिका, कोरिया, जापान र अरव मुलुक पुग्दछन् ! वर्तमानमा ७०–८० लाख युवाहरू काम खोज्न मात्रै होइन, नेतृत्व खोज्न पनि देश बाहिर छन् भनेर हामीले बुझ्न पर्दछ !

११. जहाँबाट सिके पनि हुन्छ, जहाँको अनुभव ग्रहण गरे पनि हुन्छ । तर मुलुकले नयाँ नेतृत्व मागेको छ, खोजेको छ । नयाँ युगको नयाँ वीपी, सुवर्ण पुष्पलाल र मदन भण्डारी मुलुकले खोजेको छ । मुलुकलाई वीच बाटो मै छोडेर जाने होइन, मुलुकलाई आफ्नो गन्तव्यसम्म नै पुर्याउन सक्ने, स्थायी  र  सुरक्षित भविष्यसम्म नेपाललाई नेतृत्व दिन सक्ने पुराना वीपी, सुवर्ण, पुष्पलाल र भण्डारीहरूका अभावहरूबाट मुक्त नयाँ वीपी, सुवर्ण, पुष्पलाल र भण्डारी मुलुकले खोजेको हो । 

आम जनता वर्तमानसँग असन्तुष्ट छन्, आक्रोशित  छन् । मुलुकबारे आम जनता अत्यन्त गम्भीर र  चिन्तित छन् । त्यस्तो नयाँ युवा नेतृत्वले जनताको त्यस्तो रचनात्मक आक्रोश र असन्तुष्टिलाई नेतृत्व गरेकै हुनुपर्दछ । जनताको चिन्तालाई नेतृत्व गरेकै हुनुपर्दछ । जनताको विवेक, उर्जा, धैर्य र साहशको नेतृत्व गर्न सक्ने नै हुनुपर्दछ ।

मुलुकको भविष्यलाई सुन्दर र सुरक्षित बनाउन पनि एउटा लक्ष निर्दिष्ट आक्रोश, कुण्ठा रहित आक्रोश, मुलुकका   सवै क्षेत्रलाई गाँजेर बसेको विद्यमान विकृति र विसंगति विरूद्ध आगो ओेकल्ने आक्रोश यो मुलुकको आवश्यकता हो ! लाग्दछ, त्यो आक्रोशले मात्रै नेपाललाई भविष्य दिने सामर्थ्य  राख्दछ !

त्यसकोलागि कोही जाम्बवान भए मात्रै हनुमानलाई समुद्र पार गर्ने आत्मबल र आत्म विश्वास प्राप्त हुन्छ । हनुमानको आन्तरिक उर्जा र क्षमता बुझ्ने विवेकी र ज्ञानी जाम्बवान बेगर हनुमानको बल, बुद्धि र पराक्रम पनि लुप्त नै रहिरहन्छ भन्ने यथार्थ पनि बुझ्नै पर्दछ ।

हामी आम जनताले जाम्बवान बन्ने सामर्थ्य निर्माण गर्यौँ  भने मात्रै  हामीलाई हनुमानको नेतृत्व, बल, बुद्धि र पराक्रम प्राप्त हुन्छ । त्यस्तो युवा  नेतृत्व मुलुकले देखेन र पाएन भने मुलुकको भविष्य पनि सुरक्षित छैन !

वर्तमान विश्व व्यवस्था  र हिमालको  वारीपारी र वरिपरी विकसित परिवेश नेपालको पक्षमा छैन । त्यसलाई नेपालको पक्षमा पार्न पनि नयाँ नेतृत्व अपरिहार्य भएको हो ।
(राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको रोचक र यथार्थवादी लेख उनको फेसबूकबाट साभार गरिएको हो ।)

ताजा खबर