बम होईन , बिकास रोज विप्लव !

२०७४ मङ्सिर ९ शनिबार १२:१८:०० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई मानिसहरु अचेल ‘बाम नेता’ हैन ‘बम नेता’ भन्न थालेका छन् । 
अचेल दिनहुँ कुनै न कुनै उम्मेद्वारको घरमा या उनको मार्गमा विप्लवका कार्यकर्ता बम पड्काइरहेका छन् । पहाडी र ग्रामीण इलाकाका मतदातामा बम आतंक छाएको छ । प्रचण्डले क्रान्तिलाई धोखा दिएको भन्दै विप्लवका कार्यकता ‘बम क्रान्ति’ गरिरहेका छन् । यो बम क्रान्तिको राजनीतिक उद्देश्य के हो ? किन विप्लव यसो गरिरहेका छन्, त्यो आफैंमा अन्यौल छ । अहिलेसम्मको रेकर्ड हेर्दा चुनावप्रति जनतामा भय र आतंक सिर्जना गर्नु र यही बहानामा चुनाव भाँडनु नै बम विष्फोटनको एक मात्र उद्देश्य देखिन्छ ।

विप्लवको यस्तो चुनाव विरोधी हर्कत पुरापुर जनविरोधी देखिन्छ । यतिबेला मुलुकको करीब करीब सिंगो जनमत चुनावमा होमिएको छ । नयाँ संविधानप्रति असन्तुष्ट शक्तिहरुसमेत हाललाई यही संविधानलाई सहमती र समझदारीको मिलनविन्दु बनाउँदै चुनावमा भिडीरहेका छन् । संविधान संशोधनका अनेक माग पुरा नभए चुनाव हुन दिन्नौं भन्दै आएका महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका मधेशी दलहरु सब असन्तुष्टी थाँती राखेर जनताको घरदैलो पुगिरहेका छन् ।

‘संघीयताले देश टुक्रिन्छ’ भन्दै कुर्लिने चित्रहादुर केसी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने चुनावमा सहजै भाग लिइरहेका छन् । हिन्दु राष्ट्र र राजतन्त्रको दुहाइ दिइरहेका कमल थापालाई पनि राजनीतिको रोटी सेक्न यही ‘चुनावकै चुल्हो’ चाहिएको छ । हुँदा हुँदा ‘यो पुँजीवादी व्यवस्थाको अन्त्य नभएसम्म मुलुकको भलो हुँदैन’ भन्दै आएका नारायणमान विजुक्छे रोहीतले समेत २०४६ साल यता हरेक चुनावमा सहभागिता जनाउँदै आएका छन् ।

राजनीतिमा निर्णायक भनेका जनता हुन् र जनमतको कदर गर्नु राजनीतिक दल र नेताको कर्तव्य र धर्म हो । सके आफ्नो बिचारमा जनतालाई गोलबन्द गर्ने हो, नसके बहुमत बिचार र पद्धतिलाई आत्मसात् गर्ने हो । हामीले २००७ सालमै भन्यौं, जनताले आफ्नो संविधान आफैं बनाउन पाउनुपर्छ । तीस वर्षसम्म त्यो मौका मिलेन । अन्ततः संविधान सभामार्फत नेपाली जनताले त्यो मोका पाए र प्रयोग पनि गरे । सत्तरी वर्षदेखिको सपना पुरा भयो ।

संविधान भनेको राजनीतिक सहमतीको दस्ताबेज हो । यही कारण यो संविधान न त नेपाली काँग्रेसले मात्र भनेजस्तो बन्यो, न एमालेले चाहेजस्तो बन्यो । न माओवादीले सोचेजस्तो बन्यो, न राजाबादीहरुले भनेजस्तो भयो । दुइ–दुइपटकको संविधानसभाको रस्साकस्सीपछि र २०७२ सालको महाभूकम्पको त्रासदीले नेताहरुको बुद्धीको बिर्को खोलिदिएपछि आम सहमतीको दस्ताबेजका रुपमा यो संविधान आएको हो ।

सामाजिक न्यायमूलक, लोक कल्याणकारी र सहभागितामूलक लोकतन्त्र । नेपालमा हालसम्म भएका क्रान्तिको राजनीतिक निश्कर्ष नै यही हो । अब यही मोडेल अनुसार हामी सबै आर्थिक समृद्धिको दिशामा लम्कने हो । विप्लवले बुझ्नुपर्छ, आजको पुस्ता कहिले केरुङबाट काठमाडौंमा रेल आउला र त्यो रेल चढेर पोखरा, लुम्बिनी हुँदै दिल्ली पुगौंला भनेर प्रतिक्षा गरिरहेको छ । नाती पुस्तामा यो देश स्वीजरल्याण्ड होला भनेर आजको पुस्ता चित्त बुझाएर बस्नेवाला छैन । यही कारण आजको पुस्ता कार खोजिरहेको छ, क्रान्ति या विद्रोह हैन । एउटा अकाट्य सत्य के हो भने, संसारको कुनै पनि संविधान सर्वस्वीकृत हुँदैन । संविधानप्रति कसै न कसैको बिमती त भइहाल्छ । तर, त्यो विमतीले देशको बिकास, समृद्धी र अग्रगतीको बाटो रोक्दैन र रोक्नु हुँदैन ।

नेत्रविक्रम चन्द ‘विप्लव’का गतिविधिले सात सालदेखि जनताले चलाउँदै आएको बाम–लोकतान्त्रिक संघर्ष, उनकै सक्रिय सहभागितामा भएको ‘जनयुद्ध’ र पछिल्लो लोकतान्त्रिक जनआन्दोलनबाट प्राप्त जनअधिकारलाई संस्थागत गर्ने प्रकृयामा वाधा पु¥याइरहेको छ । आखिर उनी किन त्यसो गरिरहेका छन् ?  बहुमत जनताले रोजेको र चाहेको दिशामा मुलुक अघि बढीरहँदा त्यसमा भाँजो हाल्नुको उद्देश्य के हो ?

कहिलेकाँही राजनीतिक स्पेश बनाउन पनि यसखालका गतिविधि हुनेगर्छन् । विप्लवलाई अहिलेको मूलधारमा समेट्न नसक्नु प्रचण्डलगायतका नेताहरुको कमजोरी पनि हो । साथै विप्लवको उग्र आवेग र माओवादी धङ्धङीको प्रतिफल पनि हुनुपर्छ । चर्को क्रान्तिकारी कुरा गरेर समाजमा एकखालको दबदबा बनाउने चाहनाले पनि उनलाई अहिलेको विध्वंषात्मक बाटोतर्फ होमेको हुनसक्छ ।

बरालिएको प्रतिभा

विप्लव यो देशलाई माया गर्ने तमाम युवाहरुकै पंक्तिमा पर्छन् । २०५२ सालमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा उनी पनि विद्रोहमा होमिएका थिए । त्यो विद्रोहको बाटो उचीत थियो या थिएन भन्ने बहस गर्ने बेला पनि अब घर्किसकेको छ । अब मुलुक नयाँ चरणमा प्रवेश गरिसकेको छ । विद्रोह भइरहँदा विप्लव एक जुझारु नेता, विचारले प्रशिक्षित, कुशल संगठक र लोकप्रिय व्यक्तित्व मानिन्थे । अध्यक्ष प्रचण्डका उनी अति प्रिय र दाहीने हात झैं थिए ।

शान्ति प्रकृया प्रारम्भ भइसकेपछि सायद प्रचण्डको निकटमा वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र नन्दकिशोर पुन पासाङलगायतका नेताहरु पुगे । विप्लवमा विचारशील क्षमता पनि भएकाले उनको वैचारीक चेतलाई टक्कर दिन नसक्नेहरु विप्लवलाई आफ्नो प्रतिद्वन्द्वी नै ठान्थे । शान्ति प्रकृया प्रारम्भ भइसकेपछि निश्चय नै माओवादीमा सुविधाभोगी प्रवृत्ति बढ्यो । क्रान्तिकारी नारा दिनेहरु सत्ता, पद, पैसा, ठेक्का–पट्टा र अनेक प्रलोभनको पछाडी दौडिए । सत्ता र शक्तिको त्यो जोडघटाउमा विप्लव धेरै पछि परे ।

प्रचण्डका पनि गुरु मोहन बैद्य र डा. बाबुराम भट्टराईसमेत एउटै पार्टीमा अट्न नसकेपछि विप्लव सामु पार्टीभित्रै विद्रोह गर्नुको विकल्प थिएन । त्यसैले उनले सुरुमा प्रचण्डसँग विद्रोह गरे, पछि वैद्यसँग पनि विद्रोह गरे । यसरी मूलधारको राजनीतिभन्दा अली ‘विद्रोही नेता’को छवि उनले बनाए । यो छविलाई जनमानसमा कायम राख्ने चुनौती उनका सामु थियो । त्यसैले कहिले उनले गोदाममा छापा मारेर लुकाइएका ग्यास सिलिण्डर खोसे भने कहिले बोर्डिङ स्कुल र कलेजहरुमा हाटहुट गरे ।

बम हैन, बिकास

मुलुक निर्माणको दिशामा अघि बढेको छ, तर विप्लवजस्ता जुझारु र बौद्धिक प्रतिभा ध्वंशात्मक बाटोतर्फ अग्रसर छन् । आम जनताको गुनासो विप्लवप्रति पटक्कै छैन, किनकी उनी असल मानिस हुन् भन्ने सबैलाई थाहा छ, तर जनताको चाहना छ, उनी मूलधारमा आउन् । एउटा प्रतिभा यसरी बरालिएको जनतालाई पटक्कै मन परिहरेको छैन । ढिलो चाँडो विप्लव पनि मुलुकको समृद्धिको यो अभियानमा आफ्ना फरक विचार राख्दै समाहित हुनुपर्छ । किनकी, उनको नेतृत्वमा मुलुकमा ठूलै क्रान्ति हुने सम्भावना छैन । कुनै पनि क्रान्ति सम्पन्न हुनका लागि ठूलै जनमतको साथ हुनुपर्छ । अहिले कांग्रेस, एमाले, माओवादी, मधेशबादी, राजावादीदेखि संघीयताविरोधी जनमतसमेत यही संविधान मानेर चुनावमा होमिएको छ भने विप्लवको क्रान्तिमा सहभागी हुने जनता कहाँबाट आउँथे र ? 

न त अहिले नेपालमा कुनै क्रान्ति हुने अवस्था छ, न त्यसको खाँचो नै छ । अनि न अन्तर्राष्ट्रिय परिस्थिति त्यस अनुकूल छ । नेपाली जनता अब राजनीतिक बहस हैन, मुलुकको समृद्धि चाहन्छन् । नयाँ संविधानले लोकतान्त्रिकm, समानुपातिक, समावेशी र सहभागितामूलक ढंगले सबैलाई आफ्नो अधिकार उपभोग गर्नपाउने अधिकार दिएको छ । अब मुलुकको एक मात्र एजेण्डा भनेको आर्थिक समृद्धि नै हो । आर्थिक क्रान्ति हो । र, आर्थिक क्रान्ति उम्मेद्वारको गाडीमा बम हानेर हुँदैन, बम पड्काउने नै हो भने अब पहरो भत्काएर सडक बनाउन पो पड्काउनुपर्छ ।

जनता भनिरहेका छन्, ‘मूलधारमा आउ विप्लव । अहिले देशमा विध्वंश मच्चाउने बम हैन, बरु बिगतमा च्यातिएका हाम्रा सद्भाव, संवेदना र भाइचारालाई जोड्ने गमको खाँचो छ । दश वर्षसम्म तिमीले एसएलआरदेखि जिपिएमजीसम्म पड्कायौ । हजारौं मानिस मारिए । नेपाली इतिहासको त्यो दूश्चक्रको समापन भइसकेको छ । अब आउ मिलाउँ हाम्रा हातहरु । बम फाल, बिकास रोज विप्लव ।’
    
 

ताजा खबर