दिशाहीन दलदलमा दाहाल 

२०७७ चैत २९ आइतबार १४:३३:०० मा प्रकाशित

सरल लेखन रुचाउने यो पंक्तिकार प्रायः क्लीष्ट र आम पाठकले उच्चारण गर्न कठिन हुने शब्द कमै उल्लेख गर्ने गर्छ । यसपटक माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मौजुदा हालको सटीक संकेत गर्न चाहिँ एउटा जटील शब्द उल्लेख नगरी धरै भएन । हो, दाहाल यतिबेला किंकर्तब्यबिमूढ अवस्थामा छन् ।

पंक्तिकारलाई ‘किंकर्तब्यविमूढ’ शब्द उल्लेख गर्न जति असहज भइरहेको छ, दाहाललाई पनि केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन यसभन्दा बढी गाह्रो भइरहेको छ । ‘गुणात्मक फड्को’ र ‘यथास्थितिमा क्रमभंग’ को कुरा गर्ने दाहाल यतिबेला यथास्थितिमै स्थीर छन् । दाहालको गतिहिनता र अनिर्णयका कारण प्रधानमन्त्री ओलीको सत्ताभोग जारी छ, जसले राज्य र राजनीति दुबैतर्फ पट्यारलाग्दो गतिरोध उत्पन्न गरिरहेको छ ।

दाहालको निजी र पारिवारीक जीवनका संवेदना कारुणिक छन् । पत्नी सीता दाहालको टिठलाग्दो अशक्त मुहार सामाजिक सञ्जालमा देख्दा मानवताका नाताले हरकोहीको मन कटक्क खान्छ । पुत्रीहरु रेणु र गंगाले आमासँगको तस्वीर फेसबुकमा सार्वजनिक गरेपछि दाहाल परिवारप्रति सहानुभूति प्रकट गर्नेको पनि कमी छैन । दाहालले शान्ति प्रकृया यता सम्धी, छोरी र छोरालाई गुमाए । विशेषगरी छोरा प्रकाशको आकस्मिक निधन उनका लागि बज्रपात नै थियो ।

पारिवारीक बियोगकै वीचमा दाहालको राजनीति पनि कमजोर बन्दै गएको थियो । तैपनि उनको ‘जनयुद्धकालीन’ ओजमा कमी आएन । दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो दलमा खुम्चिएको माओबादी केन्द्रले संविधान निर्माणपछिको निर्वाचनमा नराम्रो हार व्यहोर्ने अवस्था थियो । तैपनि, कमजोर अवस्थालाई सुदृढ गराउन अनेक तिकडम गर्न माहिर दाहालले कसोकसो नेकपा एमालेसँग चुनावी गठबन्धन हुँदै एकिकरणसम्मको सफलता हासिल गरे । एमालेको दरिलो संगठनमा उनी कार्यकारी अध्यक्षसमेत बने । यसका लागि विद्या भण्डारीलाई दोस्रो पटक राष्ट्रपति अनि केपी ओलीलाई प्रधानमन्त्री बनाउनसमेत उनले कन्जुस्याइ गरेनन् । आवश्यक पर्दा दरिलो निर्णय गर्नसमेत उनी पछि पर्दैनन् भन्ने यसबाट देखिन्छ ।

नेकपाको करीब करीब दुइ तिहाइ बहुमतको सरकारले दुइ वर्षको अवधिमा पनि जनतामाझ चुनावी घोषणापत्र र आम अपेक्षा बमोजिमको डेलिभरी दिन नसकेपछि दलभित्रैबाट दाहालले नै ओलीविरुद्ध दुन्दूभी फुकेका हुन् । प्रधानमन्त्री ओलीको कार्यशैलीको बुँदागत, विशेषणयुक्त र विद्रोही आलोचनासहितको लामो दस्तावेज अघि सारेर दाहाल ‘विरालोको घाँटीमा घन्टी बाँध्ने’ पहिलो पात्र बनेकै हुन् । ओलीप्रतिको उनको सोही तिब्र कटाक्षपछि नै राष्ट्रिय राजनीतिको दिशा मोडिएको हो । जसले कटाक्ष र प्रति कटाक्षको लामो सिलसिला नै चलायो र चलाइरहकै छ । 

प्रतिनिधिसभा विघटन, प्रतिनिधिसभा पुनस्थापना, नेकपा (नेकपा) एकिकरणलाई पहिलेकै अवस्थामा फर्काएर एमाले र माकेको पुनस्थापना गर्ने सर्वोच्चको आदेश, एमालेभित्र माधव र ओलीका अलग समूहको टकराव आदि परिदृश्य दाहालको सोही कटाक्षपछिका परिणामहरु हुन् । सरकारलाई रचनात्मक आलोचना मात्र गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट ओलीलाई खासै अप्ठयारो भएन । ओलीलाई अप्ठयारोमा पार्ने पनि दाहाल नै हुन् । अढाई÷अढाई वर्ष आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमतीले किचलोको रुप लिएपछि नै हालसम्मको अवस्था सिर्जना भएको हो ।

अतः मुलुकको हालको गतिरोधको मुख्य जिम्मेवार पनि दाहाल नै हुन् । मुख्य प्रश्न, यो गतिरोधको अन्त्य गर्ने दायित्व निर्वाह गर्ने मामिलामा दाहाल किन कमजोर भइरहेका छन् ? बिगतमा दाहालले अघि सारेका भनिएका ‘परिवर्तनका एजेन्डा’को पक्षमा उभिने, दाहालको दिनहुँ स्तुतीगान गर्ने, ‘दाहाल नै सुप्रीमो’ हुन् भनेर लेख्ने खगेन्द्र संग्रौलादेखि युग पाठकसम्मका लेखक पनि अचेल दाहालको मौजुदा अनिर्णयबाट आजित भइसकेका छन् । दाहाल बेलाबेलामा आफुलाई सिंहसँग तुलना गर्ने गर्छन् । अचेल उनी दहाड निकाल्न नसक्ने लुरे ध्वाँसे चितुवामा परिणत भएका छन् ।

निर्णयहीनता कहिलेसम्म ? 

शान्तिपूर्ण राजनीतिमा आएयता पहिलो पटक दाहाल निर्णयहीन अवस्थामा रुमल्लिइरहेका छन् । कटवाल प्रकरणमा आफ्नो हात तल पर्नासाथ प्रधानमन्त्री पदबाट फटाफट राजीनामा दिएर दाहालले आफ्नो निर्णय क्षमताको प्रदर्शन गरेका थिए । संघीय संरचनाको बहसमा आफ्नो दलको १४ प्रदेशको खाकालाई रद्दीको टोकरीमा फाली सात प्रदेशमै सहमती जनाउन उनले कुनै आइतबार पर्खिएनन् । यसपटक ओलीलाई दिएको समर्थन फिर्ता लिने मामिलामा चाहिँ उनी अनिर्णयको बन्दी भएका छन् ।

केही साताअघि आयोजित एक सार्वजनिक कार्यक्रममा दाहाल स्वयंले भनेका थिए, ‘अब राजनीति जतासुकै जाओस्, ओलीलाई दिएको समर्थन एक दुइ दिनमै फिर्ता लिइनेछ ।’

बौद्धिक जमात र नागरिक समाज सामु हाकाहाकी एक दुइ दिनमै समर्थन फिर्ता लिन्छु भनेका दाहालले त्यो वाचा पनि पुरा गरेनन् । उनको यही अकर्मण्यतालाई चुनौती दिँदै प्रधानमन्त्री ओलीदेखि उनी निकटका गोकुल बाँस्कोटासम्मले भनिरहेका छन्, ‘प्रचण्डले यो सरकारलाई दिइरहेको समर्थन फिर्ता भएको छैन । पहिला फिर्ता लिएर देखाउ, अनि विश्वासको मत लिने कि नलिने भन्ने कुरा आउँछ ।’

स्वयं प्रधानमन्त्री र उनका चेला चपेटाले हाकाहाकी ‘समर्थन फिर्ता लिएर देखाउ’ भन्दै चु्नौती दिइरहँदा पनि दाहालले ठोस निर्णय लिन सकिरहेका छैनन् । माओबादी केन्द्रका नेता कार्यकर्ता एकातिर ओली सरकारलाई प्रतिगामी, संविधान विरोधी, धुन्धुकारी, भष्मासुर आदि भन्दै आलोचना गरिरहेकै छन्, अर्कोतिर ‘प्रतिगामी सरकार’लाई दिएको समर्थन भने कायमै छ । गोकुल बाँस्कोटाले केही दिनअघि भनिहाले, ‘ओली प्रतिगामी हुन् भने उनलाई समर्थन गर्ने प्रचण्ड चाहिँ के हुन् त ? ओली प्रतिगामी, उनलाई समर्थन गर्ने चाहिँ अग्रगामी हुन्छ ?’

‘कन्फ्यूजन’ रणनीति

 

बाह्रबुँदे समझदारीपछि दाहालले ‘जनयुद्ध’ र शान्तिपूर्ण जनआन्दोलनवीच ‘फ्यूजन’को रणनीति अख्तियार गरे । यसमा उनी सफल पनि भए । गिरिजाप्रसाद कोइराला र प्रचण्डको फ्यूजनले मुलुकमा गणतन्त्र स्थापना गरायो । तर, शान्ति प्रकृयापछि चाहिँ उनले जहिले पनि ‘कन्फ्यूजन’ (अलमल) को राजनीतिलाई बढावा दिए । शक्तिखोर लडाकु शिविरको टेप प्रकरणदेखि यताका हरेक उनका गतिविधि आम जनतालाई भ्रममा पार्ने खालकै रहे । 

दोस्रो संविधानसभाको निर्वाचन गराउने जिम्मा बहालवाला प्रधानन्यायाधीशलाई दिने सूत्र पहिलो पटक दाहालकै मुखबाट प्रकट भएको थियो । लोकतन्त्रमा दलको नेता प्रधानमन्त्री हुने मान्यताका पक्षपाती र यही अभ्यास विश्वमा देख्दै आएका आम जनता खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनबाट अन्यौलमा परेका थिए । हठात थोपरिएको अभ्यासले अन्यौल सिर्जना गर्ने नै भो ।

यसपटक पनि दाहालको चाल बुझ्न राजनीतिशास्त्रका धुरन्धर पण्डितलाई पनि हम्मेहम्मे परिरहेको छ । राजनीतिको सहज, स्वाभाविक र विधिसम्मत प्रकृया भनेको त आफुले विरोध गरिसकेको, प्रतिगामी भनिसकेको ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर गतिरोधलाई विधिसम्मत प्रकृयातर्फ निकास दिनु हो । तर, दाहालमा त्यो क्षमता देखिएन । संसद पुनस्थापनापछि नैतिकताका आधारमा राजीनामा नदिएर उल्टै ‘हेरौ न कसरी हटाउँछन्, उनीहरुलाई सजिलो छ र ?’ भन्ने प्रम ओलीको कथन अहिले आएर चरितार्थ हुँदैछ । ओली सामु दाहाल निरिह, कमजोर देखिएका छन् । या त दाहाल आफैं ‘कन्फ्यूज्ड’ छन्, या उनले सिँगो मुलुकलाई ‘कन्फ्यूजन’मा राखेका छन् । 

धरापमा राजनीति

दाहालको राजनीति यतिबेला धरापमा छ । जनता समाजबादी पार्टीका महन्थ ठाकुर र लक्ष्मणलाल कर्णहरु ओलीलाई सत्ताच्यूत गरिहाल्ने पक्षमा देखिँदैनन् । एमालेको माधव–झलनाथ समूह पनि अन्यौलमै देखिन्छ । नेपाली कांग्रेस पनि परिस्थिति आफु अनुकूल भए मात्र कदम चाल्ने मुडमा देखिन्छ । अन्यौलको यस्तो जञ्जालवीच कुनै साहसी निर्णय गरेर अघि बढन दाहाल पनि असमर्थ देखिएका छन् ।

यही परिस्थिति लम्बिदै गएमा दाहालको राजनीति अझ ओरालो लाग्ने देखिन्छ । यसका केही संकेतहरु देखिँदैछन् । दाहालले ‘महान बलीदानीपूर्ण क्रान्तिबाट’ हासिल गरेको भनिएका परिवर्तनका एजेन्डामाथि जनस्तरमै प्रश्न उठ्न थालिसकेको छ । संघीयता खर्चालु, बोझीलो र प्रभावहीन भएको जगजाहरै छ । बढ्दो इशाइकरणका कारण हिन्दु राष्ट्रप्रतिको जनमोह पुनः प्रखर हुँदैछ । गणतन्त्रविरुद्ध राजाबादीहरुको गतिविधि विस्तार हुँदैछ र तिनले जनताको पनि केही हदसम्म समर्थन पाउन थालेका छन् । यस्तैमा पूर्व राजा ज्ञानेन्द्रलाई हिन्दू सम्राटको हैसियतमा हरिद्वार महाकुम्भ मेलामा भव्य औपचारिक सम्मान दिन लागिएका खबर आइरहेका छन् ।

अन्यौल र भ्रमपूर्ण राजनीतिमै हो, अतिबादको पनि जन्म हुने । ओली सरकार नालायक भइरहने, राज्य र राजनीति चरम गतिरोधको शिकार भइरहने, जनतामा तिब्र निराशा र आक्रोश बढ्दै जाने, दलहरु विकल्प दिन नसक्ने र दाहाल पनि किंकर्तब्यबिमुढ भएर ओलीलाई दिएको समर्थनसमेत फिर्ता लिन नसक्ने अवस्था कायमै हुने हो भने, यसबाट उत्पन्न हुने सम्भावित परिणाम स्वयं दाहालकै लागि प्रत्यूत्पादक हुनसक्छ ।

यस्तोमा एमालेको माधव ओली समूहसँग आफुहरुको प्रेम भएको, सर्वोच्चले प्रेम जोडीलाई अलग गराइदिएको, प्रेम आलिँगनमा रहेका जोडीलाई डिभोर्स गराइदिएर रुँदै रुँदै आ–आफ्नो घर जानुपरेको जस्ता भावुक कुरा गरेर अब दाहालको राजनीति चल्नेवाला छैन । यो समय भावुक कुरा गरेर जनतालाई थप अलमल र अन्यौलमा राख्ने हुँदै हैन । अहिलेको युगमा गोलमटोल कुरा गरेर राजनीति चल्दैन । ठोस र स्पष्ट निर्णय बिना आजका जनताले कसैलाई पत्याउनेवाला छैनन् ।

आफ्नो धरापमा परेको राजनीति बचाउने, मुलुकको राजनीतिक गतिरोध चिर्ने र सकेसम्म विधिसम्मत ढंगले ‘अर्लि इलेक्सन’तिर जाने हो भने दाहालले अब भ्रमपूर्ण र कन्फ्यूज्ड राजनीति त्यागेर स्पष्ट हुनैपर्छ । पहिला पहिला एमालेलाई आक्षेप लगाउनेजस्तो ‘ढुलमुले’ या ‘लिंग नछुट्टीएको’ राजनीति गर्न दाहालजस्ता ‘क्रमभंग’का खेलाडीलाई सुहाउँदैन । नागरिक समाजसँग बाचा गरे अनुसार यथासिघ्र ओलीलाई दिएको समर्थन फिर्ता लिने या नलिने ? यसबारेमा स्पष्ट हुन अब दाहालले विलम्ब गर्नु हुँदैन । 

सरकारलाई दिईरहेको समर्थन फिर्ता लिन नसक्नु प्रचण्डको वाध्यता हो कि कमजोरी । किन जनता र आफ्नै दलका नेता कार्यकर्तालाई गुमराहमा राखेर प्रचण्ड अन्यमनष्क अवस्थामा बसिरहेका छन् । सर्बोच्च अदालतले माधव नेपालसँगको लभ अफेयर्स तोडिदियो भनेर अदालतको आलोचना गरेर अब प्रचण्डको राजनीति जोगिन सक्दैन, हावादारी भाषणको बजार खस्ता भैसक्यो । स्पष्टता नै अबको बजारमा बिक्ने माल हो । प्रचण्ड भ्रमबाट निस्केर अघि बढ्नु नै उनको लागि कल्याणको मार्ग हो ।


 

ताजा खबर