एल क्लासिको भिडन्तमा बार्सिलोनाको हार 

२०७७ चैत २९ आइतबार ११:१९:०० मा प्रकाशित

काठमाडौं । एल क्लासिको भिडन्तमा रियाल मड्रिडले बार्सीलोना माथि दुइ एक गोलको जीत हात पारेको छ । रियालको घरेलु मैदान अलफ्रेदो दि स्टेफानोमा भएको खेलको १३ औं मिनेटमा रियालले अग्रता लिएको थियो ।

करिम बेन्जिमाले लुकास भास्केजको क्रसमा गोल गर्दै बार्सा विरुद्ध डेड लक तोडे । उनको जारी सिजन क्लबका लागि  यो २५ औं हो । उच्च फर्ममा रहेका बेन्जिमाले पछिल्ला सात ला लिगा खेलमा नौ गोल गरिसकेका छन । २८ औं मिनेटमा टोनी क्रुजले गोल गरेपछि बार्सा पहिलो हाफमानै दुइ शून्यले पछि परेको थियो । ६० औं मिनेटमा ओस्कार मिनग्वेजले गोल गर्दै बार्सालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा गोल हुन नसक्दा विश्व फुटवलको चर्चित मध्येको एक एल क्लासिकोमा रियालले बाजी मार्यो ।

 ९० औं मिनेटमा क्यासिमेरो दोहोरो पहेंलो कार्ड खाँदै मैदान बारिएपछि रियाल दश खेलाडीमा समेटिएको थियो । जारी सिजनको पहिलो एल क्लासिकोमा रियाल तीन एक गोलले जितेको थियो । सन १९७८ पछि पहिलो पटक रियालले  लगातार तीन एल क्लासिकोमा बार्सीलोनालाइ हराएको हो । रियाल जीतपछि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ३० खेलबाट ६६ अंक छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको पनि ६६ अंक नै छ । 

तेस्रो स्थानमा रहेको बार्साको ३० खेलबाट ६५ अंक छ । एक समय उपाधी दौडमा एक्लै रहेको एट्लेटिको मड्रिडमाथि रियालले दवाव सिर्जना गरेको छ ।  

ताजा खबर