'सपना थियो एरोनटिकल इञ्जिनियर ,भएँ सिनेमेटोग्राफर'

२०७४ मङ्सिर ९ शनिबार ०९:१५:०० मा प्रकाशित

अहिले नै चैं के गर्दै हो ?

अहिले ‘कृ’ र ‘कान्छी’ फिल्ममा व्यस्त छु । अब चाँडै नै यी फिल्महरु प्रदर्शनको तयारीमा छन् । कान्छी फिल्मको लगभग सुटिङ सकिसकेको छ भने कृ को केही सुटहरु सकिन बाँकी छन् ।

के हो सिनेमेटोग्राफी ?

सिनेमेटोग्राफी आफंैमा व्याख्या गरिएको नाम हो । सिनेमाको ग्राफलाई मिलाएर खिचिने भएको हुनाले यसलाई सिनेमेटोग्राफी भनिएको हो । यसलाई बुझाउने सबैभन्दा साधारण शब्द नै यही हो जस्तो मलाई लाग्छ । यसको उतारचढावहरु यसको कमेडी, भावुकता, एक्सन, लाइट जस्तो ग्राफलाई मिलाएर खिच्नलाई सिनेम्याटोग्राफर भनिएको हो ।

यस क्षेत्रमा कसरी पसियो ?

म यो क्षेत्रमा आउने एउटा संयोग र भाग्य नै हो । यो भन्दा अघि म एरोनटिकल इञ्जिनियर बन्छु भनेर हिँडेको थिएँ । म ठूलो सपना बोकेर हिँडेको मान्छे  । एसएलसी दिएपछि रिजल्ट आउने समय कुर्नुपर्दा मलाई हाल अमेरिकामा रहनुभएको एकजना दाईले भाई तँलाई फुर्सद छ   यता आईज घुम्नु पनि पाउँछस् भन्नुभयो । २०५१ सालमा ‘अवला’ भन्ने चलचित्रमा एउटा बुम अपरेटरका रुपमा मलाई पठाउनु भएपछि मेरो यो क्षेत्रमा प्रवेश भयो । चलचित्रहरु हेरिने गरिन्थ्यो तर यसबारे मलाई खासै ज्ञान भने थिएन । रुची नै भन्ने चाहिँ थिएन । तीन महिनाको ग्यापमा म त्यता छिरेको हो र त्यहाँ छिरिसकेपछि एकदमै रुची बढ्यो । अरु क्षेत्र मलाई राम्रो लागेन । जुन क्षेत्रमा जाने सपना देखेको थिएँ एरोनटिकल इञ्जिनियरको त्यो भन्दा पनि ठूलो सपना यतै देखें ।

टेलिचलचित्रबाट पहिलो सिनेमेटोग्राफी 

मैले पहिलो सिनेमेटोग्राफी गरेको एउटा टेलिचलचित्रमा हो । त्यसको नाम ‘नारी’ थियो । त्यो कान्तिपुरबाट बनेको टेलिचलचित्र थियो । यो टेलिचलचित्रमा पहिले मैले सहायकको रुपमा काम गरिरेहेको थिएँ तर पछि यसको मुख्य सिनेमेटोग्राफरले समय दिन नसक्नु भएको हुनाले मैले त्यसैमा थप जिम्मेवारी पाएँ र त्यो नै मेरो पहिलो सिनेमेटोग्राफी गरेको काम थियो ।

यसमा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?

सिनेमेटोग्राफी भनेको एउटा फोटोग्राफीको निर्देशन पनि हो । त्यसकारणले यसमा कथावस्तुहरु कसरी चलचित्रमा उतार्ने भन्ने कुराहरुलाई नै ध्यान दिनुप¥यो । दर्शकको आँखालाई नबिझाउने गरी खिच्न सक्नुपर्यो । कथालाई ठीक छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । मुख्य चलचित्रको कथा कस्तो बनाइएको छ भन्ने कुरा हुन्छ । अब बलिउड, हलिउडको तरिकाले खिच्न मन लाग्न सक्छ तर जबसम्म कथा सही हुँदैन तबसम्म आफुले चाहेर पनि मन लागेजस्तो  तरिकाले खिच्न पाइन्न ।

यसमा काम गरेको करिअरको अनुभव कस्तो छ ?

आज यहाँसम्म आइपुग्दा मैले करिब २४ वर्षको यात्रा चलचित्र क्षेत्रमा तय गरिसकेछु ।  यहाँसम्म आइपुग्दा धेरै बाधा अड्चनहरु पनि आए । संकटकाल पनि लाग्ने भयो । सरकार आफैंले चलचित्र बनाउने र निजी क्षेत्रबाट चलचित्र नबन्ने कुराहरु पनि आए । पैसा कै कुरा गरुँ । मैले काम शुरु गर्दा १ सय ५० रुपैयाँ लिएर काम गरेको थिएँ भने आज ७ लाख रुपैयाँ लिएर काम गरेको क्षण पनि आयो । मैले सबै उतारचढावहरु देखेको छु । गाह्रो देखि सजिलोसम्म क्षणहरुका सबै यात्राहरु पार गरेको छु । अनेक किसिमका अनुभवहरु छन् । 

सिनेम्याटोग्राफीमा पहिले र अहिलेम के फरक छ ?

हाम्रो देशमा चलचित्रहरुमा सिनेम्याटोग्राफरले जे खिच्यो त्यो नै ठीक हुन्थ्यो । यहाँ मोनिटर हुँदैनथ्यो । अहिले प्रविधिले धेरै कुराहरु सजिलो बनाइदिएको छ । अहिले आफुले खोजेर र रोजेर काम गर्न पाइन्छ । पहिला बाहिरबाट रिल धुलाएर नेपालमा चलचित्र ल्याइन्थ्यो र देखाउने गरिन्थ्यो भने अहिले नेपालभर मात्र नभएर बिश्वमा नै नेपाली चलचित्र हेर्न सकिन्छ । अहिले आफ्नै देशमा सबै काम हुन्छ ।

सुटिङमा कलाकारहरुको स्वभाव र व्यवहार कस्तो रहन्छ ?

 कोही सोखले पनि यस क्षेत्रमा आउने कलाकारहरु छन् । उनीहरुसँग काम गर्न गाह्रो नै छ । उनीहरु पेशाले भन्दा पनि आफ्नो रमाइलो र सोखका लागि आएका हुन्छन् । उनीहरुलाई आफ्नो फिल्म चलेन भने पनि खासै केही फरक पर्दैन । उनीहरु कोही आफ्नै व्यापार गरेका हुन्छन् । कोही आफ्नै बाबुको व्यापारमा लागेका हुन्छन् । यस्ता कलाकारहरुसँग काम गर्न एकदमै गाह्रो हुन्छ । यसैलाई जीवनको करियर बनाउँछु र राम्रोसँग काम गर्नुपर्छ भन्ने बुझेर आउने कलाकारहरुसँग काम गर्न भने एकदमै सजिलो छ ।

यतिन्जेलको कामबाट तपाईंले जीवनमा के अनुभव सँगाल्नु भयो ?
  आफैँलाई हेर्दा म एउटा यथार्थवादी मान्छे हो जस्तो लाग्छ । हामी सबै एकदिन मर्नु नै पर्छ । तर यी कुराहरुलाई लिएर हामी तनावमा जाने र त्यो कुरालाई ठूलो समस्या बनाएर बस्नु भन्दा पनि आफ्नो काममा नै ध्यान दिनु उचित हो जस्तो लाग्छ । जो बितेर गएका छन् कि त आफु पनि सँगसँगै जानुप¥यो । कि होइन सकिँदैन, यही समाजमा बस्नुपर्छ, मेरो आफ्नो कर्तव्य जिम्मेवारी छ भन्ने ठान्ने हो भने आफुले त्यो कुराहरुलाई स्वीकार्नु    पर्छ । हामी सबैले यो यथार्थ स्वीकार्न सक्नुपर्छ जस्तो लाग्छ । परिवारमा भएका अप्रिय घटनालाई मैले यसैगरी विश्लेषण गरें । त्यसले मलाई त्यति धेरै असर गर्न पाएन । हो हाम्रो एउटा सपना थियो त्यो सपनासँगै देख्न सकेनौं तर उसको सपना मसँग छ जस्तो लाग्छ ।

आफैं पनि चलचित्र निर्माण गर्ने सोच पनि छ कि ?

आफ्नै ब्यानरमा अब चाँडै नै चलचित्र बन्छ होला । मलाई निर्देशकको अफरहरु धेरै नै आइराखेको हुन्छ । तर अहिले मैले ठ्याक्कै त्यो समय चाहि देखिसकेको छैन । म टिममा बसेर १० वटा चलचित्र राम्रो बन्छ भने मैले निर्देशन गर्दा एउटा मात्र राम्रो बन्न सक्छ । त्यसैले निर्देशनमा अझै पनि समय भइसेकको छैन जस्तो मलाई लाग्छ । तर निर्माताको रुपमा भने म चाँडै नै यस क्षेत्रमा आउँदैछु । 

प्रस्तुति : सुकृत नेपाल

  


 

ताजा खबर