प्रचण्डमाथि ज्वालाको आरोप- 'उहाँ खुरापाती हुनुहुन्छ, झुटो बोल्नुहुन्छ'

काठमाडौं । माओवादी इतिहास हो, एमाले भविष्य हो– ज्वालाकुमारी शाहको भनाई हो यो । अब प्रचण्डको विचारले देश पनि अगाडि बढ्दैन, कम्युनिष्ट आन्दोलन पनि अगाडि बढ्दैन भन्ने निष्कर्ष ज्वालाकुमारीले निकालिन्। त्यसपछि एमाले अर्थात् केपी शर्मा ओलीको पक्षमा लागिन्।
प्रदेश सभा निर्वाचनमा माओवादीको तर्फबाट बारा ३(क) बाट जितेकी हुन् ज्वालाले । ‘सरकार ढाल्नुपर्छ भन्ने पक्षमा म लागिनँ’– ज्वालाले भनिन्– ‘म विचारका कारण एमालेको पक्षमा लागेको हो, पदका लागि होइन । त्यही भएकाले प्रदेश सांसद् पद माया मारिदिएको छु ।’
ज्वालाकुमारी भन्छिन्– ‘ठीक विचार, ठिक सिद्धान्त र ठिक बाटो हिँड्दा जनता साथमा छन् । जनताको आवाज बुझेर म एमालेमा लागेकी हो ।’
ज्वालाकुमारीसँगको वार्ता विस्तारमा-
प्रदेश सांसद् पद त्यागेर पनि एमालेमा बस्ने निर्णय गर्नुभयो, किन ?
अहिले परिस्थितिले यही माग्यो । जनताले यही भने । जनता एमालेको पक्षमा छन् ।
हामीलाई यो ठाउँमा ल्याउने प्रचण्ड नै हो । हामी माओवादी केन्द्रमा थियौँ । उहाँले हामीलाई यहाँ ल्याएर एकता गर्नुभयो । एकता गरेपछि हामी कतै गएका छैनौँ । जहाँको त्यहीँ नै छौँ । अहिले देशले कसलाई चाहेको छ ? कसलाई खोजेको छ ? यो कुरा बुझ्नु पर्छ । लिडरसिपको हिसाबले, अल कमाण्ड गर्ने हिसाबले प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ, उहाँ पार्टी अध्यक्ष हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ । परिस्थितिले हामीलाई नेकपाबाट एमाले बनाइदियो । त्यो एमाले हिजोको एमाले होइन नयाँ एमाले हो ।
मेरो लागि पद ठूलो होइन, मेरो लागि देश र जनता ठूलो हो, पार्टी ठूलो हो । त्यही भएर मैले पदको माया मारिदिएँ ।
अब नेकपा रहेन, पार्टी त तीन टुक्रा भएको छ, यस्तो अवस्थामा कसरी अगाडि बढ्नुहुन्छ ?
पार्टी नै भन्दा त एमाले र माओवादी दुईवटा भए । एमाले भित्रका केही मानिस गुट बनाएर लागेका छन् । खुराफात गर्नेहरुको टिम एकातिर छ, जनमत अर्कोतिर छ । जसको जनाधार छ ऊ एकातिर छ । खुराफात गर्ने टिमको जनाधार छैन ।
खाली खुराफात गर्ने, मेरा मान्छे यति छन्, मलाई यो पद चाहिन्छ भनेर हिँडेका छन् । यसले सकारात्मक परिणाम ल्याउँदैन । इमान्दार र बुझेका कार्यकर्ता मूलधारमै फर्कनुहुन्छ । फर्कने क्रम जारी छ । पार्टी दुईवटा धार बनेर अघि बढ्दैन । एमालेको एउटै धार हुन्छ ।
जनयुद्ध, जनआन्दोलन गर्दै यहाँसम्म आउनुभएको माओवादी पार्टीको प्रतिवद्ध नेता अहिले आएर किन पार्टी नै छाड्नुभयो ?
हामीले पार्टी छाडेको होइन नि त, प्रचण्डले पो हामीलाई छाडेर जानुभयो । भ्रममा नपरौँ, हामीले छाडेकै छैन । प्रचण्डले हामीलाई जहाँ ल्याएर राखिदिनुभयो हामी त्यही ठाउँमा छौँ । हामी जहाँको त्यहीँ छौँ ।
एमाले र माओवादी विघटन गरेर केपी ओली र प्रचण्डले नेकपा बनाउनुभयो । नेकपा बनेपछि पहिलो अध्यक्ष केपी बन्नुभयो । हामी उनै पहिलो अध्यक्षले नेतृत्व गरेको पार्टीमा छौँ ।
उहाँहरु त नेकपा हुँदाहुँदै पार्टी छाडेर जानुभएको हो । परिस्थितिवश अहिले अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई छुट्याइदिएको हो ।
हाम्रो हिजो जनयुद्ध लडेको इतिहास छ । हाम्रो इतिहास कसैले मेट्न सक्दैन । जनयुद्धको इतिहास बोकेर एमालेलाई नयाँ ढंगले अघि बढाएर लिएर जान्छौँ । हामी एकताको प्रक्रियाबाट नै अघि बढेको छौँ ।
अब पूरानो एमाले होइन, नयाँ एमाले हो । यहाँ पूर्व एमाले पनि हुनुहुन्छ, पूर्व माओवादी पनि हुनुहुन्छ । अन्य विभिन्न पार्टीबाट पनि आउँदै हुनुहुन्छ । आउने क्रम जारी छ । केही मान्छेलाई भ्रम छ, हामी त्यो भ्रम चिरेर अघि बढ्नुपर्छ । खासमा अहिले प्रचण्डजीहरु नै एउटा गुटमा रुमल्लिएर बस्नुभएको छ । उहाँ पदको लागि अड्किनुभयो, व्यक्ति केन्द्रित हुनुभयो, त्यो कुरा हामीलाई मन परेन ।
उहाँसँगै तपाईहरु पनि अलग्गिएर जान सक्नु हुन्थ्यो, त्यसो हुँदा सांसद पद पनि जाने थिएन, सांसद पद जाने डरले माधव नेपालहरु एमालेमा फर्केर आउँदा तपाईँ पनि जान सक्नु हुन्नथ्यो र ?
सकिन्थ्यो, तर मैले अघिनै भनें, उहाँले पछिल्लो समय जुन व्यक्तिवादी चरित्र देखाउनुभयो, त्यो हामीलाई स्वीकार्य भएन । त्यहाँ अन्धकार नै अन्धकार छ । प्रचण्डजी र उहाँले हाँकेको पार्टीको भविष्य देखिएन ।
प्रचण्डले त आफ्नो भविष्य खत्तम गर्नु भयो भयो आम नेता कार्यकर्ता र तीन करोड जनताको भविष्य माथि समेत उहाँले बज्रपात गर्नुभएको छ । त्यसको अगाडि यो दुई वर्षको सांसद पद त के हो र ? त्यस कारण मैले तत्कालीन सांसद् पद होइन दीर्घकाललाई सोचेर उहाँको साथ छाडेको हो । यो आवेग र भावनामा बगेर गरेको निर्णय होइन । यो दीर्घकालीन सोच र रणनीति बनाएर गरिएको निर्णय हो ।
त्यसले गर्दा उहाँको भविष्य छैन, त्यहाँ बस्ने साथीहरुको पनि भविष्य छैन । प्रचण्ड अब एक्लिनुहुन्छ । हाम्रा साथीहरु यही पार्टीमा फर्कनुहुन्छ ।
एक भएको कम्युनिष्ट पार्टी फेरि चिराचिरा भयो, यसले पार्ने दीर्घकालीन प्रभावचाहीँ के देख्नुभएको छ ?
बाहिरबाट हेर्दा त कम्युनिष्ट पार्टी फुटेकै देखिन्छ । अन्तराष्ट्रिय लेभलमा हेर्दा पनि नेपालको कम्युनिष्ट ध्वस्त भयो भन्ने छ । भित्री रुपबाट केलाएर हेर्ने हो भने गलत प्रवृत्तिका मानिसहरु एकातिर भएका छन्, उनीहरु पाखा लाग्दैछन् ।
गल्तीलाई गल्ती र सहीलाई सही भनेर अगाडि बढ्नु पर्छ । फेरि पनि हामी फुटको संघारमा हुँदा एउटा चुनौती थियो । फुटेर अघि बढ्दा अर्को एउटा चुनौती थपिएको छ । यसलाई समाधान गर्न यो बेलामा सबैको सहयोग चाहिन्छ । सबै एकाकार भएर अघि बढनुपर्छ । पार्टीलाई मजबुत बनाउँदै हामी अघि बढ्नुपर्छ ।
त्यसो भयो भने कम्युनिष्ट फुटेर यस्तो भयो भन्ने रहँदैन । त्यस्तो गर्दा हामीले चाहेको लक्ष्यमा पुग्न सकिन्छ । चुनौतीको बीचमा सम्भावना खोज्दै हामी अघि बढ्न सक्नु पर्छ । (आईएनए न्युज एजेन्सी)