आइपिएल: मुम्बइ इन्डियन्सलाई पहिलो खेलमै पराजय

२०७७ चैत २८ शनिबार ०९:१५:०० मा प्रकाशित

 चेन्नई । इन्डियन प्रिमियर लिग आइपिएलमा साविक विजेता मुम्बइ इन्डियन्सले पहिलो खेलमै हार बेहोरेको छ । रोयल च्यालेन्जर्स बैङलोरले मुम्बइ माथि २ विकेटको रोमान्चक जीत हात पारेको हो ।

चेन्नईमा टस हारेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । कप्तान तथा ओपनर रोहित शर्मा १९ रनमा पहिलो विकेटका रुपमा आउट भए । सूर्यकुमार यादव ३१ र क्रिस लिन ४९ रनमा  पलेलियन फर्किए । हार्दिक पान्डेया १३ र इसान किशन २८ रनमा आउट भएपछि मुम्बइका अरु ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । काइरोन पोलार्ड ७, क्रुणाल पान्डेया ७, माक्रो जानसेन शुन्य र  राहुल चाहर शुन्य रमा आउट भएका थिए । बैङलोरका हर्षल पटेलले शानदार वलिङ गर्दै ५ विकेट लिएपछि मुम्बइको पारी धरासायी भएको थियो । उनले ४ ओभरमा २७ रन खर्चिएका थिए । 

हर्षले मुम्बइ इन्डियन्स विरुद्ध आइपिएलमा पाँच विकेट लिने पहिलो बलर हुन् । यसअघि यो कीर्तिमान हाल मुम्बइ कप्तान रोहित रोहित शर्माको नाममा थियो । उनले सन २००९ मा डेक्कन चाजर्सबाट खेल्दै २ ओभरमा ६ रन दिएर चार विकेट लिएका थिए । काइल जेमिसन र वासिङटन सुन्दरले १–१ विकेट लिए । 

जवाफमा बैङलोरले अन्तिम वलमा आठ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । वासिङटन र विराट कोहलीले  ओपनिङ गरेका थिए । यी दुइ बीच ३६ रनको साझेदारी भयो । वासिङटन १० र विराट ३३ रनमा आउट भए । ग्लेन म्याक्सवेलले ३९ रन बनाए । बैङलोरको जीतमा एबि डि भिल्लियर्सले आक्रमक ब्याटिङ गर्दै २७ वलमा ४८ रनको योगदान गरे । उनी अन्तिम ओभरको चौथो वलमा दुइ रन लिने क्रममा रन आउट भएका थिए । बैङलोरलाई अन्तिम दुइ वलमा दुइ रन चाहिएको थियो । पाँचौ वलमा मोहम्मल सिराजले एक रन लिए । अन्तिम वलमा हर्षलले एक रन जोडेपछि बैङलोरले आइपिएलमा विजयी सुरुवात गरेको छ ।

मुम्बइले भने सन २०१३ यता आफ्नो पहिलो खेलमा अहिलेसम्म जीत हात पार्न सकेको छैन । 

 

ताजा खबर