एएफसी कप: त्रिभुवन आर्मी क्लबले यसरी जित्यो श्रीलङका पुलिसलाई

२०७७ चैत २६ बिहीबार ११:२९:०० मा प्रकाशित

 काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप प्रारम्भिक चरणको छनोट खेलमा श्रीलङका पुलिस स्पोर्टस माथि पाँच एक गोलको प्रभावशाली जीत हात पारेको छ । जीतपछि आर्मी दोस्रो चरणका लागि छनोट भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मी एक शून्यले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । खेल सुरु भएको १५ सेकेन्डमानै नवयुग श्रेष्ठ गोल गर्न चुकेका थिए । सुरुवात देखि नै आक्रामक रुपमा प्रस्तुत भएको आर्मीले १२ औं मिनेटमा अर्को मौका गुमायो । यस पटक भरत खबासको प्रहार गोल लाइन नजिकैबाट श्रीलङका पुलिसका निकोलसले क्लियर गरे । थुप्रै अवसरको सिर्जना गरेको आर्मी विरुद्ध अग्रता भने श्रीलङका पुलिसले लियो । २८ औं मिनेटमा काउन्टर अट्याक्टमा इसाक अदेबुको लामो पासमा इभान्सले गोल गरेका थिए । तर आर्मीले खेलमा फर्कन धेरै समय भने लगाएन् । ४१ औं मिनेटमा संतोष तामाङले २५ यार्डबाट आकर्षक गोल गर्दै खेल बराबरी गरे । संतोषले रक्षापंक्तिले क्लियर गर्न नसकेको वलमा प्रहार गरेको हाफ भली गोलकिपर दिनेश महेन्द्रनले पत्तो समेत पाएनन् ।

त्यसको दुइ मिनेटमा नवयुग श्रेष्ठले कप्तान भरत खबासको हेड क्रसमा गोल गरेपछि आर्मी पहिलो हाफमा दुइ एकले अघि रह्यो । ५० औं मिनेटमा टंक बस्नेतले टिमका लागि तेस्रो गोल थपे । ७६ औं मिनेटमा इभान्सको प्रहार क्रस बारेमा लागेर फर्किदा श्रीलङका पुलिस गोल अन्तर कम गर्नबाट चुक्यो । ८३ औं मिनेटमा  सब्सिच्युट सुदिल राईले  गोल दूरी चार एकमा पुर्याए । उनी ६३ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका  थिए । तीन मिनेटको इन्जुरी समयको अन्त्यमा नवयुगले ब्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी पाँच एकको फाराकिलो जीत हात पार्न सफल भयो । 

अब आर्मीले भारतको आइ एस एल टोली बैङलुरुसँग खेल्नेछ । वलियो मानिएको बैङलुरु भारतीय राष्ट्रिय टिमका समेत कप्तान रहेका सुनिल क्षेत्रीको नेतृत्वमा   छ । 

खेल १४ अप्रिलमा हुनेछ ।

 खेलपछि के भने आर्मी प्रशिक्षक नवीन न्यौपाने भन्छन्-

'अपेक्षा गरिए अनुसारकै प्रदर्शन भयो । टिमका केही खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि त्यसको असर प्रदर्शनमा पर्छ की भन्ने डर थियो । तर खेलाडी सवै आफ्नो जिम्मेवारीमा केन्द्रित भए । हामीले लामो समय देखि तयारी गरेका थियौ सोही अनुसारको नतिजा पनि आयो । तर हामीले गोल संख्या अझै बढाउन सक्थ्यांै । पाएका अवसरको सदुपयोग गर्न सकेनौ । अघिल्लो चरणको खेलमा वलियो प्रतिद्धन्दी छ । त्यसका लागि हामीले अझै राम्रो तयारी गर्नु पर्छ । थ्रि नेशन्स कपमा गोल सकेको थिएन् । समर्थक निराश थिए । हामीले केही हद सम्मद  दर्शकलाई खुशी बनायौं ।'

ताजा खबर