एपिएफ पुग्यो मेयर महिला च्याम्पियनसीपको फाईनलमा

२०७७ चैत २४ मंगलबार १५:१२:०० मा प्रकाशित

काठमाडौं । एपीएफ क्लब एक खेल अगावै ललितपुर मेयर महिला टि ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एपीएफले लगातार तेस्रो जीत निकाल्ने क्रममा ललितपुर मेयर एघार माथि दश विकेटको शानदार जीत हात पार्यो ।

कीर्तिपुरस्थित टियु मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो, जुन सफल भएन् । एपीएफले धारिलो वलिङ गरेपछि उसले २० ओभरमा नौ विकेट गुमाएर मात्र ६६ रन बनाउन सक्यो । जारी प्रतियोगिताको यो अहिलेसम्मकै कम स्कोर हो ।

ललितपुरका आठ खेलाडी सिंगल रनमा पवेलियन फर्किए । भरपर्दा ब्याटर कन्चन श्रेष्ठ र सुमन खतिवडा सस्तैमा आउट भएपछि ललितपुर झिनो योगफलमा समेटिन पुग्यो । कन्चन १७ र सुमन एक रनमा आउट भए । उनीहरुले यसअघिका खेलमा अर्धशतक बनाएका थिए । सरस्वती कुमारीले १३ र संतोषी चौधरीले १३ रन बनाएका थिए । अनुराधा चौधरी आठ, बिन्दा कट्वाल १, अस्मिना कर्मार्चा २, आरती विडारी शून्य, विमला मगर एक रनमा मैदान बाहिरिए । कसिलो वलिङ गर्दै विनु बुढामगरले ४ विकेट लिइन् ।

चार ओभल वल फालेकी उनले मात्र एघार रन दिइन् । करुणा भण्डारीले एक विकेट लिएपनि किफायती वलिङ गरिन् । चार ओभरमा एक मेडन सहित उनले मात्र तीन रन खर्चिइन् । रेखा रावलले २, सिता राना मगर  र समुन बिस्टले १–१ विकेट लिए । जवाफमा एपीएफले विना नोक्सनीमा ९ दशमलब १ ओभरमा लक्ष्य पुरा गर्यो । आज एपीएफले ओपनिङमा नियमित जोडी सिता राना मगर र ज्योती पान्डेको स्थानमा इन्दु बर्मा र राजमती ऐरीलाइ पठाएको थियो । उनीहरुले आफुले पाएको मौकामा प्रमाणित गर्न सफल भए । राजमतीले ३३ र इन्दुले २८ रनको योगदान गरे । ललितपुरको तीन खेलमा यो दोस्रो हार हो । एपीएफले लिगको आफ्नो अन्तिम खेलमा बिहिबार लुम्बिनी प्रदेश संग खेल्नेछ । 

ताजा खबर