जेलमा थुनिएका पूर्व अख्तियार प्रमुख बस्नेतको स्वास्थ्य क्रिटिकल, मध्यरातमा अस्पताल लगियो

२०७७ चैत २३ सोमबार १५:१०:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्नेतको स्वास्थ्य अवस्था खस्किँदै गएको थाहा भएको छ । पारिवारीक स्रोतले बताए अनुसार बस्नेतको मुटुको समस्या बल्झिँदै गएकाले तत्कालै आकस्मिक उपचार गर्न जरुरी देखिएको छ ।

भ्रष्टाचारको अभियोगमा डिल्लीबजार चारखालको कारागारमा थुनामा रहेका बस्नेतले पाँच वर्ष अघि भारत, नयाँदिल्लीको म्याक्स अस्पतालमा मुटुको शल्यक्रिया गराएका थिए । 

बन्दी अवस्थामा रहेका उनको स्वास्थ्य अत्यन्तै नाजुक अवस्थामा पुगेको चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले सरल पत्रिकासँग बताए । 

डाक्टर कार्कीका अनुसार बस्नेतको मुटुको मुख्य रक्तनलीमा रक्त प्रवाहमा अवरोध देखिएको छ । जसको कारण रक्तचाप बढ्ने र मुटुमा समस्या महसुस हुने भैरहेको छ । यही समस्याका कारण बस्नेतले गंगालाल ह्रदयरोग केन्द्र र बीर अस्पतालमा पटक पटक परीक्षण गराई सकेका छन् ।

कारागारकै चिकित्सकले समेत स्वास्थ्य परीक्षण गर्दा पूर्व प्रमुख आयुक्त बस्नेतलाई मेजर अपरेशन गरेको अस्पतालमै लगेर उपचार गर्न सिफारिस गरिसकेका छन् । बीर र गंगालालले पनि अपरेसन गरेकै अस्पतालमा थप उपचार गर्न सल्लाह दिएको डाक्टर कार्कीले बताए ।
 
हिजो आईतबार राती १२ बजे अत्यधिक रक्तचाप बढेपछि बस्नेतलाई कमलपोखरीस्थित हिमाल अस्पताल पुर्याइएको थियो । आकस्मिक कक्षमा राखेर पटक पटक सुइ दिएपछि रक्तचाप सामान्य भएर राती २ बजे कारागार फिर्ता लगिएको चिकित्सक संघका अध्यक्ष कार्कीले बताए । डाक्टर कार्की र संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह कार्की राती बस्नेतलाई भेट्न हिमाल अस्पताल पुगेका थिए ।

डाक्टर कार्कीले बताए अनुसार, पूर्व प्रमुख आयुक्त बस्नेतलाई तत्कालै पहिले अपरेसन गरिएको म्याक्स अस्पताल लगेर गम्भीर स्वास्थ्य परीक्षण गर्न जरुरी देखिएको छ । बस्नेतको स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्दै गएको पनि कार्कीले बताए ।

पूर्व प्रमुख आयुक्त बस्नेतका कानूनी सल्लाहकारहरुले उनको तत्काल उपचार गर्न आवश्यक देखिएको जानकारी पाएपछि उपचारको लागि कानूनी सुविधा जुटाउन पहल गरिरहेको बुझिएको छ ।

बहुचर्चित काठमाडौं बालुवाटारको ललिता निवास हाँडीगाउँको जग्गा प्रकरणमा पूर्व कर्मचारीको जिम्मेवारीमा रहँदा हस्ताक्षर गरेको आधारमा बस्नेतलाई भ्रष्टाचारको मुद्दा लगाईएको कानूनी सल्लाहकारले बताएका छन् ।

ताजा खबर