यी हुन् नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक

२०७७ चैत २३ सोमबार ०९:३३:०० मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटवल संघले कुबेतका अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय फुटवल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । ३९ वर्षिय अब्दुल्लाहलाई आईतबार एन्फाले पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो ।

अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए । एन्फा  र कुबेत फुटवल संघ बीचको सम्झौता अनुसार ए  प्रो लाइसेन्स प्राप्त अब्दुल्लाह नेपाल आएका हुन् । उनको पारिश्रमिक कुबेतले नै बेहोर्नेछ । एन्फाले यातायात र बसोबास खर्च प्रदान गर्ने प्रवक्त किरण राइले जानकारी दिए । हाल राष्ट्रिय टिमको प्रशिक्षक बालगोपाल महर्जन थिए । उनलाई एन्फाले प्रो लाइसेन्स कोचका लागि सिफरिस गरेको पनि प्रवक्ता राईले बताए । 

एएफसीले राष्ट्रिय टिम हेर्न प्रो लाइसेन्स अनिवार्य गरेको छ । एन्फा र अब्दुल्लाहसँग एक वर्षको सम्झौता भएको छ । उनले विश्वकप छनोट र साफ च्याम्पियनसिपका लागि नेपाली टिमको नेतृत्व सम्हाल्नेछन् । 

पत्रकार सम्मेलनमा के भने अब्दुललाहले ?

आफ्नो पहिलो पत्रकार सम्मेलनमा अब्दुल्लाहले अब नेपालले सुन्दर फुटवल खेल्ने बताए । रक्षात्मक भन्दा आक्रमण फुटवलको रणनीति लिएर अघि बढ्ने उनको योजना छ । ४–३–३ को फरमेसनमा खेल्ने बताएका उनले आफु नेपाल र नेपाली जनताका लागि आएको उल्लेख गरे । 

नेपालमा फुटवलको क्रेज कति छ भन्ने थ्रि नेशन्स कपको फाइनलमा आफुले देखेको भन्दै अझ बढी खुशी हुने मौका दिन चाहेको बताए । आफ्नो मूल्याङकन अहिले नै नगर्न उनले संचारमाध्यमसँग आग्रह गरे । आफूसँग जादु नभएको र तत्कालै केही परिवर्तन गर्न पनि सकिन्न सवै कुराको लागि समय चाहिन्छ उनले भने । विगत तीन वर्षम उमेर समुह र सिनियरमा गरी ५१ जना खेलाडीले खेलेको र सवैको डाटा आफूसँग भएको उनको  भनाइ थियो ।

साफ च्याम्पियनसिप जिताउने लक्ष्य राखेका उनले सवै क्लबहरुको भ्रमण गर्ने बताएका छन् । विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने सम्भावना सकिएको भएपनि सहज बनाउने भन्नेमा रहेको अब्दुल्लाहको भनाइ छ ।

ताजा खबर