ललितपुर मेयर महिला टि ट्वान्टी:  सुदूरपश्चिमको बिजयी सुरुवात

२०७७ चैत २१ शनिबार २०:४८:०० मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर महिला टि ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । शनिबारको खेलमा सुदूरपश्चिमले ललितरपुर मेयर एघारलाई सात विकेटले पराजित गरेको हो ।

टियु मैदानमा टस जितेर ब्याटिङ गरेको ललितरपुरले कञ्चन श्रेष्ठको अर्धशतकको सहयोगमा २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । जसमा ६३ रन कञ्चन एक्लैेले बनाईन् । ५६ वल खेलेकी उनले आठ चौका प्रहार गरिन् । जारी प्रतियोगितामा अर्धशतक बनाउने कञ्चन दोस्रो खेलाडी हुन् ।

सुमन खतिवडाले १६ र अस्मिना कर्माचार्यले १३ रन बनाए । बाँकी कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । शोभा आले १, अनुराधा चौधरी ४ रनमा पवेलियन फर्किए । बृन्दा कटुवाल र एलिसा लामिछानेले खाता खोल्न सकेनन् । कविता कुँवर, रितु कनोजीया र सम्झना खड्काले १–१ विकेट लिए ।

जवाफमा सुदूरपश्चिमले १९ ओभरमा ३ विकेटको नोक्सानीम लक्ष्य पुरा गर्यो । उसका लागि मन्जु बोगटीले ४१, डली भट्टले २२, रेवती धामीले १८, कविता जोशीले दश रनको योगदान गरे । १३ रन अतिरिक्त पाएको थियो । सुमन र आरती विडारीले १–१ विकेट लिए । 

 

ताजा खबर