सुरु भयो मेयर कप: यस्तो रह्यो पहिलो दिनको खेल

२०७७ चैत २१ शनिबार १४:०५:०० मा प्रकाशित

काठमाडौं । ललितपुर मेयर महिला टि ट्वान्टी च्याम्पियनसिपको पहिलो संस्करण आजबाट काठमाडौंमा सुरु भएको छ । उद्घाटन खेलमा एपीएफ क्लबले प्रदेश एकलाई ८ विकेटले पराजित गर्यो । एपीएफका लागि सीता रानामगरले अर्धशतकीय पारी खेलिन् ।

कीर्तिपुरको टियु मैदानमा भएको खेलमा रुविना क्षत्रीको कप्तानीमा रहेको प्रदेश एकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसले २० ओभरमा ४ विकेट गुमाएर एक सय ६ रनको योगफल बनायो । खराब सुरुवात गरेको प्रदेश एकको टिमको स्कोर २६ रन हुँदा दुइ विकेट गुमेको थियो । ओपनर अप्सरी बेगम गोल्डेन डक आउट भइन् । उनी पहिलो ओभरको तेस्रो बलमा रेखा रावलको वलमा क्लिन बोल्ड भएकी थिइन् । कावल श्रेष्ठ ब्यक्तिगत ५ रनमा करुणा भण्डारीको बलमा क्याच आउट भइन् । रुविना क्षेत्री र रोमा थापाले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै पारी उकासेका थिए । रोमाले ४२ वलमा ३३ रन जोड्नि । उनले ४२ वल खेल्दा ५ चौका हिर्काइन् । राष्ट्रिय टिमकी कप्तान समेत रहेकी रुविनाले ४५ रनमा आउट भइन् ।

 ४८ वल खेल्दै ६ चौका प्रहार गरेकी रुविना अर्धशतकबाट चुकिन् । उनी सीता रानामगरको बलमा ठूलो सट खेल्ने क्रममा विकेटपिकर ज्योती पाण्डेको हातबाट स्टम्पिङ भइन् । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । रेखा, करुणा, सीता र बिनु बुढामगरले एक एक विकेट लिए ।

जवाफमा एपीएफले १८ ओभरमा मात्र २ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । सीता र ज्योतीले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै जीतको आधार तयार गरेका थिए । ज्योती ३२ रनमा मैदान बाहिरिन् । सीताले अविजीत ५२ रनको योगदान गरिन् । ५० वल खेलेकी सीताले सात चौका प्रहार गरिन् ।

यो मेयर कप महिला च्याम्पियनसिपको पहिलो अर्धशतक पनि हो । रुविना र संगीता राईले एक एक विकेट लिए । योसँगै एपीएफले दाङमा गत पुषमा भएको प्रधानमन्त्री कपको फाइनलमा बेहोरेको हारको बदला पनि  लियो । आजबाट सुरु भएको मेयर कपमा ६ टिमको सहभागिता छ । 
 

ताजा खबर